Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयोजना मागेर अधुरो नछोड्न आग्रह

योजना मागेर अधुरो नछोड्न आग्रह


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्राथमिकताको आधारमा चाहिँदो मात्र विकासको योजनाहरू माग गर्न नागरिकस्तरमा अनुरोध गरेका छन् । आइतबार गोविन्दपुर हुँदै हस्वा जाने छोटो तर महत्वपूर्ण रणनीतिक सडक शिलान्यास गर्दै उनले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गरेका हुन् ।

योजना धेरै माग गर्ने र काम नगर्ने प्रवृत्ति मौलाएको भन्दै उनले निर्धारित समयमा नै काम सक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । मन्त्री गुप्ताले भने, ‘धेरै भारी बोके बीचैमा छोड्नुपर्ने हुन्छ । त्यसैले विकासका आयोजना आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।’ महत्वपूर्ण र अतिआवश्यक योजना मात्र माग गर्ने र त्यसलाई सम्पन्न गरिसकेपछि मात्रै अर्को योजनाको काम अघि बढाउनुपर्ने मन्त्री गुप्ताको भनाइ छ । धेरै मागेर योजना अपूरो छोड्नुभन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा उनले जोड दिए । ‘विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू हामीले देखिरहेका छौँ । सोही कारण तीनै तहका सरकारप्रति नागरिकको नैराश्यता समेत बढेको छ’, उनले भने, ‘नागरिकमा रहेको निराशा हटाउन र बजेटको सही सदुपयोग गरेर जनतालाई लाभान्वित तुल्याउन पनि प्राथमिकताको आधारमा अतिआवश्यक कामहरू पहिला र सुरू गरिएका योजना समयमै सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन जरुरी छ ।’

मन्त्री गुप्ताले नागरिक आफ्नो कुल देवताको मूर्तिदेखि सामुदायिक भवनलगायत भौतिक संरचनाहरू पनि सरकारले नै बनाइदियोस् भन्ने आशामा बसेको भन्दै ती सबै कुरामा सरकारको मात्रै मुख ताक्न नहुने तर्क गरे । सबै काम सरकारले गर्छ हामीले केही गर्नु पर्दैन भन्ने मानसिकताबाट नेपाली समाज माथि उठ्नुपर्ने उनको भनाइ छ । संघीय सरकारको लगानीमा निर्माण हुने गोविन्दपुर हुँदै हस्वा जाने सो सडक एक हजार दुई सय ३६ मिटर लामो रहेको छ । सो सडक निर्माणपछि पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया आउन तिवाले पुल हुँदै बिन्दबासिनी पुग्न नपर्ने उनले बताए । ‘त्यसकारण रणनीतिकरूपमा पनि यो सडक स्थानीयवासीका लागि महत्वपूर्ण छ,’ उनले भने । ९३ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नुपर्नेछ ।

यस्तै, सोही कार्यक्रममा मन्त्री गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताए । आउँदो मन्त्रिपरिषद् बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको उनले जानकारी दिएका हुन् । पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको विकासका लागि आफू हरपल तयार रहेको बताउँदै मन्त्री गुप्ताले पोखरियामा विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको पनि जानकारी दिए । पोखरिया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधिलगायत विभिन्न दलका नेताहरूलाई एकजुट भई विकासको काम तीव्ररूपमा अगाडि बढाउन पनि उनले आग्रह गरे । कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान, उपप्रमुख रवि ठाकुरलगायत वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x