आन्तरिक लेखापरीक्षणमा देखियो संघ र प्रदेशको साढे २१ अर्ब बेरुजु
काठमाडौँ । गत आर्थिक वर्ष २०८०÷८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०÷८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ ।जसमा नियमित गर्नुपर्ने बेरुजु एक अर्ब १३ करोड ५० लाख रुपैयाँ, असुल गर्नुपर्ने बेरुजु एक अर्ब ९२ करोड ९६ लाख रुपैयाँ र पेस्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको गत आर्थिक वर्षको संघीय सञ्चित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवं नेपाल सरकारका बजेटरी तथा गैरबजेटरी निकायको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषको कारोबारलगायतका विषय समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार पारी महालेखापरीक्षकको कार्यालयलाई बुझाइसकेको छ ।
‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण यही कात्तिक १४ गते महालेखापरीक्षकलाई बुझाइसकेको छौँ । यसरीमा सरकारको गत आर्थिक वर्षको कारोबारको यथार्थ वित्तीय अवस्थाको चित्रण छ’, उनले भने ।विवरणअनुसार गत आर्थिक वर्षमा संघीय सञ्चित कोष कुल दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख रुपैयाँले ऋणात्मक छ । ‘आर्थिक वर्ष २०८०÷८१ को सुरुमा संघीय सञ्चित कोष कुल एक खर्ब ८१ अर्ब २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेकोमा यस वर्ष कुल प्राप्ति १३ खर्ब ३५ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ रहेको र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ तथा विनिमय दर वा अन्य समायोजन १४ अर्ब ४४ करोड २८ लाख रुपैयाँ भएबाट यस आर्थिक वर्षको सुरुको मौज्दातसमेतको समायोजनबाट आर्थिक वर्षको अन्त्यमा संघीय सञ्चित कोष कुल दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ’, महालेखा नियन्त्रक कार्यालयले तयार पारेको विवरणमा भनिएको छ ।
गत आर्थिक वर्षमा सरकारको बजेटरी निकायको नगद तथा बैंक मौज्दात ८४ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गैरबजेटरी निकायको सोही अवधिको नगद तथा बैंक मौज्दात भने ७१ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको छ । यसरी गत आर्थिक वर्षमा सरकारको नगद तथा बैंक मौज्दात १२ अर्ब ९५ करोड ७५ लाख रुपैयाँले ऋणात्मक देखिन्छ ।गत आर्थिक वर्षका लागि सरकारले १२ खर्ब ४७ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा नौ खर्ब ५६ अर्ब २६ करोड ५६ लाख रुपैयाँ मात्रै संकलन भएको छ । त्यस्तै, सरकारले गत आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट खर्च गर्ने लक्ष्य राखेकोमा १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको मात्रै खर्च भएको देखिएको छ ।‘कुल खर्च रकममध्ये संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ तीन खर्ब पाँच अर्ब ६३ करोड १५ लाख रुपैयाँ खर्च भएको छ भने संघीय सञ्चित कोषबाट विनियोजन हुने व्ययतर्फ सोझै भुक्तानीबाहेक १० खर्ब ४० अर्ब ५८ करोड ६ लाख रुपैयाँ खर्च भएको छ’, केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणमा भनिएको छ ।
सरकारले गत आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई संघीय सञ्चित कोषबाट चार खर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट हस्तान्तरण गर्ने लक्ष्य राखेकोमा तीन खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख रुपैयाँबराबर मात्रै हस्तान्तरण भएको छ । जसमा प्रदेश सरकारलाई ७६ अर्ब एक करोड ९९ लाख र स्थानीय तहलाई दुई खर्ब ६३ अर्ब ३९ करोड ६२ लाखबराबर हस्तान्तरण देखिन्छ ।गत आर्थिक वर्षमा सरकारको विभाज्य कोषमा संकलन भएको कुल रकम चार अर्ब १९ अर्ब ६४ करोड ३१ लाखमध्येबाट तीन खर्ब ८० अर्ब ८१ करोड ८८ बाँडफाँट भएको र ३८ अर्ब ८२ करोड ४३ लाख बाँडफाँट हुन बाँकी रहेको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा सरकारको कुल १८ अर्ब १२ करोड १२ लाख रुपैयाँ पेस्की बाँकी रहेको पनि उक्त विवरणमा उल्लेख छ । जसमा म्याद ननाघेको पेस्की सात अर्ब ६६ करोड ६३ लाख र म्याद नाघेको पेस्की १० अर्ब ४५ करोड ४९ लाख रहेको छ ।
सरकारले गत आर्थिक वर्षमा कुल तीन खर्ब ६० अर्ब आठ करोड ७५ लाखबराबर ऋण उठाएको देखिन्छ । जसमध्ये वैदेशिक ऋण एक खर्ब २५ अर्ब ६६ करोड ६१ लाख र आन्तरिक ऋण दुई खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रहेको छ । त्यस्तै, गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तिर्नका लागि दुई खर्ब २३ अर्ब २७ करोड ९५ लाख खर्च गरेको छ ।केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सरकारबाट ४१ अर्ब ७५ करोड ७८ लाख आन्तरिक ऋण लगानी भएको छ । त्यस्तै, सार्वजनिक संस्थानमा छ अर्ब ९९ करोड ४३ लाखबराबरको सेयर लगानी भएको तथा वैदेशिक सेयर लगानी २१ करोड ६० लाखबराबर रहेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण तथा अनुदानबाट शोधभर्ना लिनुपर्ने करिब २४ अर्बबराबर शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । शोधभर्ना हुन बाँकी वैदेशिक ऋण रकम १७ अर्ब नौ करोड २१ लाख छ । त्यस्तै वैदेशिक अनुदानतर्फ छ अर्ब ७४ करोड पाँच लाखसमेत गरी शोधभर्ना हुन कुल बाँकी रकम २३ अर्ब ८३ करोड २६ लाख छ ।सरकारका बजेटरी निकायसँग ९७ अर्ब ८४ लाख रुपैयाँ र गैरबजेटरी निकायसँग १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ रकमको जिन्सी तथा सम्पत्ति रहेको अभिलेख रहेको उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया