Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’

‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् । कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका हुन् ।

तीनवटै तहमा दरबन्दीअनुसार ठूलो संख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकताअनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको उनको भनाइ छ । यद्यपि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका चार सय १५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको उनले जानकारी दिए । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालययले कर्मचारी माग गरेका कुनै पनि कार्यालयमा मन्त्रालयमा भएकै कर्मचारीको व्यवस्था गरी अधिक भिड हुने कार्यालयजस्तो जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा पठाउने गरेको छ,’ मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तर तीनवटै तहमा दरबन्दीअनुसार ठूलो संख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकताअनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न सकिएको छैन । त्यसका लागि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका (सहसचिव र उपसचिव) पदका चार सय १५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको छ ।’

मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सँगठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ । संघीय मन्त्रालय र कार्यालयमा सँगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा संघीय कार्यालयमा दुई सय १० वटा दरबन्दी कटौती गरिएको पनि उनले जानकारी दिए । यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको दाबी उनको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x