Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित


धनगढी, असार २५
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरूको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले वार्षिक बजेट पारित गरेको हो । बुधबार २ बजेको प्रदेशसभा बैठक सभामुख अर्जुनबहादुर थापाले नाराबाजीका बीच पनि संसद्को कारबाही अघि बढाए । बैठकको प्रारम्भमै सत्तारुढ दलका सांसद महेशदत्त जोशी बजेटमाथि धारणा राखे । उनले प्रदेश सरकारले ल्याएको बजेट उत्कृष्ट रहेकाले बजेट बहुमतका साथ पारित हुनुपर्ने बताए ।

प्रतिपक्षको विरोधलाई व्यंग्य गर्दै प्रतिपक्षले पनि बजेटको विरोध नगरेको भन्दै तत्काल पारित हुनुपर्ने धारणा राखे । त्यसपछि बजेटमाथि आएका प्रश्नहरुको जवाफ दिँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले प्रदेश सरकारले सन्तुलित ढंगले जनअपेक्षाअनुसारको बजेट ल्याएको दाबी गरे । त्यसलगत्तै सभामुख अर्जुन बहादुर थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गराउन बनेको विधेयकमाथिको कारवाही प्रारम्भ गरे र अर्थसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट बहुमतले पारित भयो । प्रतिपक्ष दलका सांसदहरुको विरोध भने बैठक अवधिभर नै रहेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले प्रतिपक्षलाई मनाउन धेरै प्रयास गरे पनि सहमतिमा नआएपछि पेलेरै बजेट पारित गर्नुपरेको बताए । उनले प्रतिपक्ष सांसदहरुले बजेटलाई लिएर विरोध गर्नुको तुक भएको बताए । तर प्रतिपक्षी दलहरुले भने सरकार अराजक शैलीका साथ अगाडि बढेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आफूहरुको विरोधकै बीच विधि र सिद्धान्तलाई मिचेर बजेट पारित गरिएको बताए । आन्दोलनका कार्यक्रम जारी राख्ने उनको भनाइ छ । बुधवार एकै दिन तीनपटकको प्रदेशसभाको बैठकपछि आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । असार १ गते प्रस्तुत भएको बजेट करिब २४ दिनपछि बुधबार प्रतिपक्षकै अवरोधका बीच बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x