दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
काठमाडौं ।साइबर अपराध गरेको आरोपमा दोस्रो पटक पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि पटकपटक उही आरोपमा पक्राउ परेका कारण ‘पटके अपराध’मा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँलाई करिब दुई महिनाअगाडि पनि प्रहरीले सोही ठाउँबाट सोही अपराधको कसुरमा पक्राउ गरेको थियो।
“एकपटक पक्राउ परेर अनुसन्धान भएपछि सधैँभरि उही अपराध गर्छु भन्न त पाइएन। अपराध गरिसकेपछि त अब पटके अपराधमा पक्राउ गरेर कारबाही अगाडि बढ्ने भयो। हामी अब पटके अपराध कायम गरेर सजाय माग गर्छौँ,” केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले बीबीसीसँग भने।कसुर के होप्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको भन्दै आफूहरूले प्रसाईँलाई पक्राउ गरेको पनि प्रवक्ता बोगटीले बताए।आफूलाई सामाजिक अभियन्ता समेत बताउने प्रसाईँले क्याम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर बराबरको शेअर रहेको एउटा कार्यक्रममा बताएका थिए। त्यसपछि उनले उक्त विषय आफ्नै घरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको उनको फेसबुक पेजमा जनाइएको छ।
“मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ,” उनले फेसबुक पेजमा लेखेका छन्।
प्रहरीले भने बहालवाला प्रधानमन्त्रीविरुद्ध भ्रामक र अपुष्ट विषय बोलेको र सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध गरेको देखिएको जनाएको हो।
“साइबर अपराधमा अदालतबाट पक्राउ पुर्जी जारी गरेर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले भक्तपुरबाट पक्राउ गरी (आज) सीआइबी ल्यायौँ। सीआइबीबाट मेडिकल सहित थप अनुसन्धानका लागि हाम्रो मातहतको साइबर ब्यूरोमा पठाएका छौँ,” प्रवक्ता बोगटीले भने।
दुई महिनाअघि भने प्रहरीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा भन्दै प्रसाईँलाई पक्राउ गरेको थियो।
एउटै अपराधमा एक पटकभन्दा बढी पक्राउ परेपछि प्रहरीले पटके अनुसन्धान अन्तर्गत सजायको माग गर्नसक्ने प्रहरीले जनाएको छ।
पटके अपराधमा अनुसन्धान अगाडि बढाउनु कति गम्भीर?
केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल पटके अपराधमा अनुसन्धान अगाडि बढ्नु र त्यसैअनुसार सजाय माग हुनु भनेको गम्भीर कुरा भएको बताउँछन्।
“चोरी, साइबर अपराधलगायतका अपराधमा कुनै व्यक्तिलाई प्रहरीले एक पटकभन्दा बढी पटक पक्राउ गर्यो भने त्यसलाई पटके अपराध भनिन्छ,” मल्लले भने।
प्रहरी र अदालतले निर्णय गर्दा यसलाई गम्भीर रूपमा लिने मल्लले बताए।
“पटके अपराध कायम गर्दा दफा नै अर्को पनि आकर्षित हुन्छ र अदालतले हेर्दा पनि पहिलापहिला पनि यस्तै अपराधमा परिसकेको रहेछ भनेर दृष्टिकोण बन्छ,” मल्लले भने।
प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
“पटके अपराध कायम गर्दा डेढी सजायको माग गरिन्छ,” सीआइबी प्रवक्ता बोगटीले भने, “तर त्यसका लागि पहिला गरेको अपराध ठहर भएको हुनुपर्छ।”अब अनुसन्धानको प्रक्रिया के हुन्छ?दुर्गा प्रसाईँले अहिले समाजमा द्वेष फैलाउने गरी प्रधानमन्त्रीका विरुद्ध पोस्टहरू गरेको भन्दै अहिले त्यसैअन्तर्गत साइबर अपराधमा अनुसन्धान गरिने प्रहरी प्रवक्ता बोगटीले बताए।
“देशको कार्यकारी प्रधानमन्त्रीको विरुद्धमा त्यस्ता किसिमका गतिविधि गर्नु गराउनु, सामाजिक सञ्जालमा अप्लोड गराउनु भनेको प्रथम दृष्टिमै साइबर अपराध गरेको देखिएको हुँदा अहिले चाहिँ त्यसैमा अनुसन्धान अगाडि बढाउँछौँ,” बोगटीले भने।
“अब साइबर ब्यूरोबाट म्याद थप भएर प्रमाणहरू संकलन गर्छौँ र प्राप्त प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाउँछौँ।”
त्यसो भए अहिलेसम्म हेर्दा प्रसाईँविरुद्ध कुनकुन मुद्दा आकर्षित हुने देखिन्छ?
बोगटीले भने, “अहिले त विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर नै भयो। त्यसपछाडि अनुसन्धानको क्रममा अरू पनि प्रमाण जुटेर आए भने त्यसमा पनि अनुसन्धान अगाडि बढ्छ।”
विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ आकर्षित हुने भन्नाले विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।
उक्त दफामा भनिएको छ, “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।”
सीआइबीका पूर्वप्रमुख मल्लका अनुसार पटके कायम हुने भन्नाले सजायको व्यवस्थामा पनि फरक पर्छ।
“पहिलो चोटि अपराध गर्नेको एउटा हुन्छ सजायको व्यवस्था भने एउटै व्यक्तिले पटकपटक गर्छ भने यो व्यक्ति जहिले पनि यस्तो गर्ने रहेछ भन्ने अदालतले पनि कुनै फैसला गर्दा दृष्टिकोण बनाउँछ।”
को हुन् दुर्गा प्रसाईँएमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए।
नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बने।
एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनलाई एमालेले दलबाट निष्कासन गरेको थियो।
त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्।
केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केही समयअघि पूर्वप्रधानमन्त्री ओलीको ‘विदेशको एउटा कम्पनीमा लगानी रहेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालोमोसो पनि दलेका थिए। उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतको अगुवाईमा आफूमाथि कालोमोसो दलिएको दाबी गरेका थिए।
गत वर्ष उनको अगुवाइमा राजधानी काठमाण्डूमा प्रदर्शनको आयोजना गरिएपछि उनी थप चर्चामा छन्।
देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका प्रसाईँको अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनको परिवारका सदस्यहरू डेढ वर्षअघि झापा पुगेका थिए। (बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया