Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी

माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी


काठमाडौं । सरकारले आफ्ना माग पूरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिले गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी संघर्ष समितिले सरकारलाई गैरजिम्मेवार नबन्न चेतावनी दिएको हो ।

कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरूलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए । केसीले लघुवित्तपीडितहरूको प्रतिवेदन सरकारले सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै भने, ‘सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यिनै पीडितको आन्दोलन चुनौती बन्ने निश्चित छ ।’

समितिका अध्यक्ष मनिराम ज्ञवालीले राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयनमा लैजान माग गरेका छन् । सरकारले त्यसो नगरेकाले थप मागहरूसहित समग्र वित्तीय शोषणको विरुद्धमा उत्रने र चैत ५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् । अध्यक्ष ज्ञवालीले माग पूरा नहुन्जेल लघुवित्त, बैंक, सहकारी र मिटरब्याजी पीडितहरूलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरे । ज्ञवालीले वित्तीय शोषणविरुद्धको संघर्षमा आफूहरू संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तीय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरूलाई कुल्चने कुचेष्टा गरे गाउँ–गाउँबाट वित्तीय संस्थाहरूलाई लखेट्ने चेतावानी दिए । नेसन फस्र्टका संयोजक डा. नन्दप्रसाद काप्रीले केपी ओली सरकार जनताको पक्षमा भन्दा, दलाल, भ्रष्टहरूको पक्षमा रहेको आरोप लागउँदै भने, ‘बैंक, लघुवित्त, सहकारी र मिटरब्याजी पीडितले आवाज उठाउँदा जेल कोच्दै छ, अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।’

राष्ट्रिय स्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तीय माफियाहरूसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए । समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनताभन्दा पनि वित्तीय माफिया, भ्रष्टाचारी र तस्करहरूको संरक्षक भएको आरोप लगाए । चौलागईले त्यसका विरुद्ध जस्तोसुकै लडाइँका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x