Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतसँग व्यापार सहजीकरण गर्न भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मालाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले मंगलबार राजदूत शर्मासँग भेटी नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानी बढाउन सहयोग गर्न आग्रह गरेको हो । चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताए । भारतबाट हुने आयातमा खासै समस्या नरहे पनि निर्यातका क्रममा भान्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ छ । पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।

व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयात–निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको भन्दै उनले राजदूत शर्माको ध्यानकर्षण गराए । अध्यक्ष अग्रवालले भने, ‘भारतमा दीर्घकालीन व्यापारिक लाभ प्राप्त गर्नेगरी निर्यात सहजीकरण गरिनुपर्छ । रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्छ ।’ नेपाली सामान बोकेका कन्टेनरहरू लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका छन् ।

भेटमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टिन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x