Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश जानुपर्ने बाध्यता छ व्यवस्थापन छैन

विदेश जानुपर्ने बाध्यता छ व्यवस्थापन छैन


प्रवीण राउत
काठमाडौं, असार २६
कोभिड १९ को महामारीका बीचमा पनि युवाहरुलाई विदेश जानुपर्ने बाध्यता रहेको छ । युवाहरुलाई मात्र होइन सरकारलाई समेत नागरिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यता रहेको छ । राष्ट्रसंघीय निकाय अन्काडको प्रतिवेदनअनुरुप नेपाली श्रम बजारमा प्रत्येक वर्ष साढे पाँच लाख युवा प्रवेश गर्ने तथा सन् २०२० मा छ लाखभन्दा बढी युवाहरु श्रम बजारमा प्रवेश गर्ने बताउँदै आएको छ ।

त्यसैगरी केन्द्रीय तथ्यांक विभागले पनि पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला गरी नौ लाख युवाहरु बेरोजगार रहेको बताउँदै आएको छ जसले के पुष्टि हुन्छ भने मुलुकमा बेरोजगार युवाहरु प्रशस्त छन् र तिनीहरुमध्ये ठूलो प्रतिशतको रोजगारीको विकल्प भनेको वैदेशिक रोजगारी हो । तर, सरकारले यसको व्यवस्थापनमा कुनै चासो दिएको छैन ।

वैदेशिक रोजगारीमा जान नपाएकै कारण विदेश जान पाऊँ भन्दै प्रदर्शन गर्नुपरेको बताउँछन् गोर्खाका २७ वर्षीय उत्तम न्यौपाने । ‘सरकारले पहल गरेमा हामी रोजगारीको लागि कोरिया जान पाउँछौँ’, उनले भने, ‘तर सरकारले अन्तर्राष्ट्रिय उडान बन्द भएको नाममा हामीलाई विदेशमा काम गर्न जानबाट वञ्चित ग-यो । हामी जोखिम मोलेरै भए पनि विदेश जान तयार छौँ । सरकारले थोरै मात्र विदेश पठाउनको लागि व्यवस्थापन गरेमा हामी विदेश गई विप्रेषण पठाउन सक्छौँ ।’

सरकारका विभिन्न निकायमा धाउँदा आश्वासन मात्र पाएको बताउँदै न्यौपानेले प्रधानमन्त्रीसमक्ष मात्र समस्या सुनाउन बाँकी रहेको र अन्य सबै निकायमा पुगिसकेको उल्लेख गरे । यति हुँदासमेत समस्या समाधान नभएको उनको भनाइ छ । यस्तै बाराका २५ वर्षीय विष्णु गौतमले पनि विदेशमा काम गर्न जानको लागि व्यवस्थापन गरिदिनको लागि श्रम, परराष्ट्रमन्त्रीसमक्ष आग्रह गरे पनि कुनै सुनवाइ नभएको बताए ।

‘भेटको क्रममा मन्त्रीहरुले वैदेशिक रोजगारीमा पठाउने आश्वसन दिए पनि अहिलेसम्म जान पाएका छैनौँ’, उनले भने, ‘हामीमाथि परिवारको जिम्मेवारी छ विदेशमा काम गरी त्यसलाई पूरा गर्न सकिन्छ कि भनेर जान खोजेको हो । सरकारले थोरैै मात्र पहल गर्ने हो र सम्बन्धित मुलुकसँग वार्ता गर्ने हो भने हामी विदेश जान सक्छौं जस्तो लाग्छ ।’

न्यौपाने र गौतम दुवै वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया जाने तयारीमा छन् । उनीहरु मात्र होइन, वैदेशिक रोजगारीमा जाने भन्दै माघ महिना करिब ५३ हजारले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले बताएको छ । ४९ हजार एक सय २८ जना पुरुष र तीन हजार तीन सय ९३ जना महिला गरी कुल ५२ हजार पाँच सय २१ जना नयाँ र पुराना श्रम स्वीकृति लिएका छन् ।

सरकारले चार्टर्ड उडानमार्फत युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गरेको छ । चार्टर्ड उडानको व्यवस्थापन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महँगो भाडादर निर्धारण गरेको हुँदा युवाहरुलाई समस्या परेको छ भने अर्कोतर्फ वैदेशिक रोजगारीमा जानकै लागि हवाई उडानको व्यवस्थापन नगर्दा युवाहरु थप समस्यामा परेका हुन् । श्रम मन्त्रालयले भने हवाइ उडानको विषयमा पर्यटन मन्त्रालयले निर्णय लिने बताउँदै आएको छ । यद्यपि पर्यटन मन्त्रालयले सो विषयमा हालसम्म कुनै आधिकारिक धारणा प्रस्तुत गरेको छैन ।

विदेश जानकै लागि ठूलो संख्यामा श्रम स्वीकृति लिएको अवस्थामा सरकारले व्यवस्थापन गर्न नसकेको विषयमा भने सरकारी अधिकारीहरु स्वीकार गर्न तयार छैनन् । सरकारले विदेश पठाउने विषयमा पहल गरिरहेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । ‘सरकारको अंग भनेको श्रम, परराष्ट्र मन्त्रालय मात्र होइन, सबै निकायहरु हो, चाहे त्यो स्वदेशमा होस् वा विदेशमा’, उनले भने, ‘सो विषयमा परराष्ट्र, पर्यटन मन्त्रालय र विदेशस्थित नियोगहरुले प्राथमिकता दिएको बताए । पछिल्लो समयमा कतिपय मुलुकहरुले भने कामदारहरु लैजान नचाहेको अधिकारीहरुको भनाइ छ ।

त्यसैगरी करिब पाँच महिनापछि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै श्रम स्वीकृति लिने युवाहरुको संख्या बढ्नथालेको छ । श्रम कार्यालय ताहाचलका अनुसार पछिल्लो समय पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै बिहीबार जम्मा एक हजार चार सय ६६ जना पुरुष र एक सय ८८ जना महिला गरी एक हजार छ सय ५४ जनाले श्रम स्वीकृति लिएका छन् । ३० भन्दा बढी मुलुकमा काम गर्न जानको लागि सो संख्यामा युवाहरुले श्रम स्वीकृति लिएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x