Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेची भन्सारबाट नेपालको चिया चीन निकासी

मेची भन्सारबाट नेपालको चिया चीन निकासी


विराटनगर । नेपालले युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आइरहेको बेला पछिल्लो समय चीनमा समेत हुन लागेको छ । पूर्वी नेपालको इलामबाट मेची भन्सार नाका प्रयोग गरी पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको मेची भन्सार कार्यालयले जानकारी दिएको छ ।

चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् । यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगतरूपमा किनेर लैजाने गर्दै आइरहेका थिए । अहिले भने पूर्वी नेपालको गोर्खा टी इस्टेटले औपचारिकरूपमा मेची भन्सार नाका प्रयोग गरी चिया निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका भन्सार प्रमुुख राजेन्द्र चुुडालका अनुसार यसै हप्ता मेची भन्सार नाकाबाट कोलकाता हुँदै करिब ७० लाख रुपैयाँ मूल्यको छ हजार तीन सय ६२ किलो चिया चीन निर्यात भएको थियो । उक्त नेपाली चिया चीनको स्प्रिङ टी लिमिटेडले किनेको डकुुमेन्टमा उल्लेख गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय चीनले नेपाली चियाप्रति चासो देखाउँदै आएको छ । एक चिया व्यवसायीका अनुुसार गुणस्तरीय नेपाली चियाका लागि चीन राम्रो बजार भएको हुुँदा योे पहिलो पटक पठाएको चियाले चीन निर्यातका लागि बाटो खुलाएको छ । प्रयोगशालामा परीक्षणलगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाएको जनाइएको छ । अहिले भएको यो नेपाली चिया निर्यात भविष्यमा नेपाली चियाका लागि गेट वे हुन सक्ने छ । नेपाली व्यवसायीले चीनमा पर्याप्त चिया पठाउन सकियो भने हाल भारतमाथि पर्नुपर्ने निर्भर हटेर जानेछ ।

तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का भएका बखत नेपाली चिया किन्न चीनले तत्परता देखाएको थियो । त्यसबेला परराष्ट्रमन्त्री खड्काले नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको जानकारी चीनलाई दिएका थिए । सो अनुरोधलाई चीनले स्वीकार गरेपछि चिया निकासी सुुरु भएको चिया व्यवसायीको दाबी छ । अहिले नेपालबाट ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ । यो अवस्थामा अब चीनले चिया किन्न थालेपछि भारत मात्रैको भर पर्नुपर्ने बाध्यता हट्ने दाबी गरिएको छ ।

नेपालले गुणस्तरयुक्त चिया उत्पादन ग¥यो भने छिमेकी देश चीन किन्न तयार देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको माग व्यापक रहेको छ । खासगरी भारतपछि जर्मनी, जापानजस्ता देशमा नेपाली चियाको उच्च माग छ । केही समयअघि चियाको गुणस्तर मूल्याङ्कनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उत्पादनले गोल्ड मेडल समेत प्राप्त गरेपछि चिया उद्यमी थप हौसिएका थिए । अब नेपाली उद्यमीलाई चिनियाँ व्यापारीसँग जोड्न सरकारले सहयोग गर्नुपर्ने चिया उद्यमीको भनाइ छ । नेपालमा करिब १७ हजार हेक्टर जमिनमा चियाखेती हुने हुुँदा त्यसबाट वार्षिक २३ हजार सात सय ४५ टन चिया उत्पादन हुने दाबी पनि व्यवसायीको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x