काठमाडौं । संसद्को दोस्रो ठूलो दल एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र चौथो ठूलो दल रास्वपाका सभापति तथा हाल हिरासतमा रहेका रवि लामिछाने एकअर्काप्रति सबैभन्दा ठूला ठग र सबैभन्दा ठूला भ्रष्ट आरोप लगाउँदै आमने–सामने भएका छन् ।
ओलीले रविलाई दुईपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन सिफारिस गरेका थिए । ओलीका लागि अहिले यिनै रवि सबैभन्दा ठूला ठग ठहरिएका छन् भने तिनै रविका लागि यिनै ओली सबैभन्दा ठूला भ्रष्टमा परिणत भएका छन् ।
यी दुईजनाले एकअर्काप्रति जस्तो शब्दमा सार्वजनिकरूपले आरोप लगाइरहेका छन् । राज्यका लागि भने गम्भीर छन् ।
शुक्रबार सत्तारुढ दलले एउटा ठूलो सडक प्रदर्शन आयोजना गर्यो । त्यो सभाका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा रहेका रविमाथि सहकारी ठग भन्ने आरोप लगाएका हुन् ।
केही अघि रविले ओलीमाथि सबैभन्दा ठूला भ्रष्ट भन्ने आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै उनले भने ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन ।’
म्याद थप्न अदालत लगिँदा रविले पक्राउ परेको पर्सिपल्ट कात्तिक ४ मा अदालत परिसरबाटै प्रधानमन्त्री ओलीकोे नामै किटेर लगाएका आरोप झनै गम्भीर थिए ।
‘यो सरकारको विरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरा लागि होइन । केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारका विरुद्ध यही बेलामा देशभरबाट जो–जो जहाँ–जहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झूटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ । केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । भ्रष्टाचारीको संरक्षण गरेर, सारा सहकारी पीडितहरू पार्टीमा पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूटो मुद्दा लगाउने ? मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ ।’
पक्राउ परेका दिन कात्तिक २ को सञ्जाल सन्देश पनि ओलीप्रति गम्भीर आरोपका थिए । सरकार मरेको र आफूलाई जुठो परेको कुरा पनि यसमा लेखिएको हो ।
पक्राउ पर्दापर्दै रविले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियाको तारोमा पनि ओली नै भए । त्यसमा भनिएको छ– ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुलमखुला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ?
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनुपर्ने ?
यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिनँ र हिँड्दिन पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभो । बाचास्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो । तपाईहरूका दलका नेता÷कार्यकर्ता प्रमाणित शाकाहारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागि पर्नुभएको छ । अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।
ठीक छ, म तपाईंहरूको दिनगन्ती सुरु भएको खुसियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु । नयाँ पुस्तालाई एकाएक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्याएको यो देशले चाँडै देख्नेछ । सुरूवात तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । अहिलेलाई, सरकार म¥यो हामीलाई जुठो पर्यो ।’
रविबाट यस्ता प्रतिक्रिया आएको महिना दिन पुग्दानपुग्दै ओलीले पनि रविको विगतदेखि अहिलेसम्मका कर्तुतका बारेमा लामै जानकारी मन्तव्य दिएका छन् । कात्तिक अन्तिमतिरको एउटा सार्वजनिक बहस कार्यक्रममा ओलीले रविबारे भनेका सम्बन्धित अंश :–
‘साँच्चै भन्ने हो भने यत्रो सहकारीमा रविले के–के गरेको छ, मलाई विश्वास त के आशंका पनि थिएन । अहिले वासिङ मेसिनमा पनि तीनपटक धोएको जस्तो कुरा गर्छन् । छानबिन समिति बन्नुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एक व्यक्तिको नाममा बनाउनुहुन्न भनेँ । रवि आफैँले के भन्नुभो भने– ‘होइन केही छैन मलाई, बनाऔँ । पब्लिक्ली पनि, सर्वदलीय बैठकमा पनि छानबिन समिति बनाइयोस् भनेर उहाँ जंगिनुभयो । प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ नै भन्नुहुन्छ भने बनाऊँ न त भन्नुभयो । मैले भनेँ– म त सहमत छैन तर तपाईंहरू भन्नुहुन्छ भने समिति बनाऊँ, म मान्दिन्छु ।’
समितिले चार जनालाई तोकेर भन्यो । संसदीय समिति जहाँ उहाँको पार्टी पनि छ, माओवादी पनि छ । त्यसले तोकेर कारबाही गर्नू भनेर नाम तोकेर सिफारिस ग¥यो । सभामुखलाई बुझाएपछि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै त्यो प्रहरीमा पुग्यो । त्यो मेरो हातमा रहेन, त्यो ब्युरोक्रेसीको हातमा गयो । प्रहरीमा गयो, छानबिन अध्ययनको क्रममा गएपछि उहाँलाई गिरफ्तार गरेर छानबिन गर्नुपर्ने अवस्था सम्मानित अदालतले देख्यो । उहाँलाई इन्क्वाइरीका लागि त्यहाँ राखेको छ । निर्दोष हुनुहुन्छ– सफाइ पाउनुहुन्छ । मैले गरेर पाएको होइन है त्यो सफाइ । पर्नुभो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले पर्या हो ।
अहिले एकदम कराएर त्यो केपी ओलीजस्तो भ्रष्टाचारी कोही छैन, त्यसलाई प्रधानमन्त्री रहन दियो भने देश बर्बाद हुन्छ भनिरहेका छन् । ती बाबु नजन्मिँदै म राजनीतिमा लागेको हो । देश डेमोक्रेसीमा आइसक्यो । बर्बाद हुने होइन, डेमोक्रेसीमा आइसक्यो । हामीले पर्परी छाला उप्काएर र निलडाम सहेर यहाँसम्म ल्याएको । नेल लगाउँदा कस्तो हुन्छ, टुप्पोबाट राजनीतिको पिपिरा पलाएर थाहा हुँदैन । अहिलेको डेमेक्रेसी ल्याउन लडेको जेनेरेसन छ । यो डेमोक्रेसी तिलस्मी कथा सुनेर आएको होइन ।
कस्तो हुन्छ जिन्दगी ? ६० वर्ष सम्पूर्ण समय कष्टपूर्ण बिताउनु कति अप्ठ्यारो र असहज हुन्छ ? यति गरिसकेपछि पनि दिनैपिच्छे चिन्नु न जान्नु, देख्नु न जान्नुका मान्छेले मरिजाओस् भन्छन् । कोही सद्गत गरेर आउँछ, कोही काजकिरियामा बस्या छ । दाहसंस्कार गर्छ । ती सब देख्दा कस्तो लाग्छ ? म फेरि भन्छु– एक जनाले भनेछन् चित्रगुप्तालाई जवाफ दिन सक्छौ ? चित्रगुप्त छ भने उसलाई पनि, तपाईं सोध्नुहुन्छ तपाईंलाई पनि, अर्को कसैलाई पनि म जवाफ दिन सक्छु । मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । मैले पाएसम्म सकेसम्म ।
जोसुकै पनि दोषी छ भने अनुहार हेरिँदैन, कारबाही हुन्छ । धेरैवटा दृष्टान्त छन् यस्ता । नेकपा एमालेले आफ्नै मान्छे पनि कहिलेकाहीँ अन्यायमा परेको हुन सक्छ, तर हामीले न्यायका निम्ति जाँदा आफैँ सफाइ देऊ, आफैँ लड, पार्टी यसमा हुलहुज्जत गर्न जाँदैन भनेका छौँ । अनि, अहिले न्यायालयलाई दुष्प्रभावित गर्ने, हुलहुज्जत गर्ने, न्यायालयको कामलाई डिस्टर्ब गर्ने, आँगनमा बसेर नाराबाजी गर्ने र न्यायाधीशलाई थर्काएर, धम्क्याएर र गालीगलौज गरेर त्यसरी न्यायालय प्रभावित गर्न खोज्ने ? दबाब र कुप्रचारबाट, झूट प्रचारबाट आफ्नो मुद्दा र देशलाई पनि भ्रमको भूमरीमा हाल्न खोज्ने त्यस्ता प्रयास नगरे हुन्छ ।’
क्याटेगोरी : राजनिति, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया