काठमाडौं । निर्यातजन्य वस्तुको उत्पादनका लागि लगानी बढाउन नसक्दा मुलुकको व्यापार घाटा उच्च छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षभन्दा व्यापार घाटा शून्य दशमलव २६ प्रतिशत कम भए पनि आयातको ग्राफ भने बढ्दै गएको छ । यस आर्थिक वर्षको चार महिनामा चार खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
चार महिना (साउनदेखि कात्तिकसम्म)मा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव १७ प्रतिशत बढी हो । गत वर्ष पहिलो चार महिनामा पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको तुलनामा निर्यात पनि केही बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको निर्यात भएकोमा यस वर्ष चार दशमलव १६ प्रतिशत वृद्धि भई ५२ अर्ब ६७ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस वर्ष चार महिनामा पाँच खर्ब ६६ अर्ब पाँच करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक ब्यापार भएको छ ।
नेपालको व्यापार घाटा सबैभन्दा बढी भारतसँग भएको छ । चार महिनामा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड रुपैयाँको आयात हुँदा ३५ अर्बको निर्यात भएको छ । भारतसँग दुई खर्ब ८१ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भारतपछि बढी व्यापार घाटा चीनसँग छ । चीनसँग एक खर्ब दुई अर्ब ५० करोड रुपैयाँ व्यापार घाटा भएको छ । एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँको आयात हुँदा चीनमा ६८ करोड २३ लाख रुपैयाँको निर्यात भएको छ ।
भारत र चीनपछि युक्रेन, अर्जेन्टिना, अस्ट्रेलिया, इन्डोनेसियालगायतका मुलुकसँग व्यापार घाटा भएको छ । नेपालले एक सय ४४ वटा मुलुकसँग द्विपक्षीय व्यापार गरेको छ । जसमा एक सय ११ वटा मुलुकसँग व्यापार घाटा छ भने ३३ वटा मुलुकसँग फाइदा भएको छ ।
कृषि उत्पादनका साथै औद्योगिक उत्पादनमा वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोर्दै आएकोे छ । कृषिप्रधान देश भनिए पनि कृषि उपज नै अर्बाैंको आयात हुँदा व्यापारमा सुधार नदेखिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा सुमनकुमार रेग्मीले बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुँदा निर्यात व्यापारमा वृद्धि हुन नसकेको उनको भनाइ छ ।
व्यापार नाफामा रहेका केही मुलुकसँग पनि कहिलेसम्म नाफा रहन्छ भन्ने यकिन छैन । नाफा भएका मुलुकहरूमा निर्यातयोग्य सामग्रीहरू के–कस्ता र कति परिमाणमा गर्न सकिन्छ भन्ने यकिन तथ्याङ्क सरकारसँग नरहेको जानकारहरू बताउँछन् । चालू आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी नाफा अफगानिस्तानसँग भएको छ । अफगानिस्तानसँग ३१ करोड २६ लाख रुपैयाँको व्यापार नाफा छ । ३२ करोड ५० लाख रुपैयाँको निर्यात हुँदा एक करोड २३ लाख रुपैयाँको आयात भएको छ । दोस्रोमा डेनमार्कसँग १४ करोड ९९ लाख रुपैयाँ नाफा भएको छ । २४ करोड ३७ लाख रुपैयाँको निर्यात र नौ करोड ३८ लाख रुपैयाँको आयात भएको छ । अफगानिस्तान र डेनमार्कपछि रसिया, अस्ट्रिया, माल्दिभ्स, ल्यटिभालगायतका मुलुकसँगको व्यापारमा नाफा भएको छ ।
भान्सामा प्रयोग हुने कृषि उपजदेखि लिएर महँगा सवारी साधन, पेट्रोलियम पदार्थलगायतका अधिकांश सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाका कारण मुलुकको व्यापार सधैं घाटामा रहेको अर्थशास्त्रीहरू बताउँछन् । सरकारले कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई बढुवा नदिँदा र वास्तविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको अर्थविद् केशव आचार्यले बताए । सरकार र निजी क्षेत्र मिलेर कृषि, मत्स्य उत्पादन बढुवा गर्न र औद्योगीकरणका लागि पर्याप्त लगानी गर्न नसक्दा समस्या भएको आचार्यको भनाइ छ । लगानी जोखिम, ढुवानी लागत बढी आदिले गर्दा निर्यात गर्न नसकिएको अर्थशास्त्रीहरू बताउँछन् ।
विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा निर्यात ५२ अर्ब ६७ करोड सात लाख रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशलव १६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको निर्यात भएको छ । नेपालको निर्यात क्षेत्रले सीमित विविधीकरण, कम उत्पादकत्व र मूल्यवान वस्तुहरूको अभावजस्ता चुनौतीको सामना गरिरहेको छ । कपडा, गलैँचा र कृषि उत्पानलगायत प्रमुख निर्यातहरू प्रायः सानो मात्रामा उत्पादन गरिन्छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको अभाव छ । यसैबीच वैदेशिक व्यापार भने गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा पाँच खर्ब ६६ अर्ब पाँच करोड रुपैयाँको कुल वैदेशिक व्यापार रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक व्यापार पाँच खर्ब ६३ अर्ब छ करोड रुपैयाँको थियो ।
३० अर्बको पेट्रोलियम इन्धन आयात
विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थमध्ये पेट्रोल १४ अर्ब चार करोड ५३ लाख रुपैयाँ, डिजेल १२ अर्ब ९० करोड ५४ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास तीन अर्ब ५१ करोड ७३ लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम सवारी साधन चार अर्ब १२ करोड ६२ लाख रुपैयाँ, मोटरसाइकल तीन अर्ब १६ करोड रुपैयाँ, विद्युतीय सवारी साधन दुई अर्ब ९० करोड रुपैयाँ, फलामजन्य सामग्री दुई अर्ब ५१ करोड रुपैयाँको आयात गरिएको छ । मोबाइल, कच्चा सूर्यमूखी, हवाई इन्धनलगायतका सामग्री पनि अर्बौं बराबरको आयात गरिएको छ ।
साढे तीन अर्बको भटमास तेल निर्यात
चालु आर्थिक वर्षको चार महिनामा करिब साढे तीन अर्ब रुपैयाँको भटमासको तेल निर्यात गरिएको छ । समीक्षा अवधिमा भटमासको तेल तीन अर्ब ४० करोड रुपैयाँ, गलैँचा दुई अर्ब ३० करोड रुपैयाँ, चिया दुई अर्ब नौ करोड रुपैयाँ, अलैँची एक अर्ब ९० करोड रुपैयाँ, फलाम तथा फलामजन्य सामग्री एक अर्ब ७२ करोड रुपैयाँ, जुटजन्य सामग्री एक अर्ब ६८ करोड रुपैयाँ र जुस एक अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ ।
डा रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको छ । अरू अन्तर्राष्ट्रिय व्यापारका समस्यामा लगानी एवम् व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु नेपाली व्यापारको समस्या हुन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया