Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधु केमिकलद्वारा उत्पादित गुट्खा विवादमा

मधु केमिकलद्वारा उत्पादित गुट्खा विवादमा


शंकर लुइँटेल
विराटनगर, असार २६
गत चैत ११ गतेदेखि भएको लकडाउनको मारमा परेका उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै रोइलो गर्ने उद्योगी व्यवसायीले नै बन्दाबन्दीको मौकामा सञ्चालन गरेको उद्योगबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । कोभिड–१९ का कारण सरकारले नै लकडाउन घोषणा गरेको मौका छोपी विराटनगरको कन्चनवारीमा सञ्चालनमा रहेको मधु केमिकल उद्योगले लुकीछिपी गुट्खा उत्पादन गर्दै राम्रो आम्दानी गर्न सफल भएको पाइएको छ । उक्त उद्योगले लकडाउनका बेला आन्तरिक राजस्व कार्यालयबाट २० बोरादेखि ५० बोरासम्म गुट्खा उत्पादनको इजाजत लिएर ५ सय बोरादेखि १५ सय बोरासम्म गुट्खा उत्पादन गरी राम्रो आम्दानी गर्न सफल भएको दाबी स्रोतले गरेको छ ।

बन्दाबन्दीका समयमा सरकारले अत्यावश्यक उपभोग्य बाहेकका सबै उत्पादनहरु बन्द गर्न निर्देशन दिएता पनि मधु केमिकल उद्योगका गुट्खा निर्बाध रुपमा उत्पादन भएको रहस्य अहिले आएर खुलेको छ । झापा जिल्लाको भद्रपुर आन्तरिक राजस्व कार्यालयबाट दिपेन्द्र घिमिरे, रतन कुमार तायल, रोशन कुमार सोनी र दिपक कुमार पोखरेलको नाममा दर्ता कायम भएको मधु केमिकल उद्योगले फाइललाई विराटनगर स्थानान्तरण गरी पछिल्लो समय ‘पान महेक’ नामको गुट्खा उत्पादन गर्दै आएको थाहा भएको छ ।

उक्त गुट्खा उद्योगको दर्ताका रुपमा सञ्चालकमा विभिन्न व्यक्ति देखिएता पनि सबै उद्योगको जिम्मेवारी र सञ्चालकमा विराटनगरका भवनी बोहोरा भएको पाइएको छ । उद्योग सञ्चालन गर्ने उद्योगी बोहोराले लकडाउनका समयमा आन्तरिक राजस्व कार्यालयलाई समेत छल्दै उद्योगमा गुट्खा उत्पादन नगरी लुकीछिपी गुट्खा उत्पादन गर्दै बजारमा बिक्रीका लागि पठाएको दावी समाचारस्रोतले गरेको छ । पछिल्लो समय सरकारले असार १ बाट उद्योग व्यवसायमा सामाजिक दूरी कायम गर्दै सञ्चालनमा ल्याएपछि मधु केमिकल उद्योगको कमाउ प्रवृत्ति सार्वजनिक हुन पुगेको छ ।

लकडाउनका समयमा आन्तरिक राजस्व कार्यालयबाट उपलब्ध गराउने अन्तःशुल्क स्टिकरसमेत प्रयोग नगरी मधु केमिकल उद्योगले गुट्खाको उत्पादन गरेको हो । सरकारको नियमअनुसार गुट्खा उद्योगले गुट्खा विक्री गर्न बजार पठाउनुभन्दा अगाडि प्रतिप्याकेटमा अन्तःशुल्क स्टिकर अनिवार्य रुपमा टाँस्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी आन्तरिक राजस्व कार्यालयले दिएको छ । तर उक्त उद्योगले कानुनी प्रावधानको खिल्ली उडाउँदै स्टिकरसमेत टाँस नगरी ‘पन महेक’ गुट्खा लकडाउनका समयमा विक्रीवितरण गरेको बताइएको छ । गत असार १ बाट बन्दाबन्दी बजार र उद्योग सञ्चालनमा केही सहजता भएसँगै मधु केमिकल उद्योगको गुट्खा उत्पादन प्रकरण खुल्न पुगेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x