Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुँजीगत खर्च बढाउन आग्रह

पुँजीगत खर्च बढाउन आग्रह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आग्रह गरेका छन् । मन्त्रालयको प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पुँजीगत खर्च कम हुनु गम्भीर समस्या भएको बताए ।

‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौँ’, समीक्षा बैठकमा उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा हामी विकास गराऔँ ।’ मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीहरूलाई निर्देशन दिए । ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौँ’, उनले भने । यस्तै, उनले हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसेकम भार पर्नेगरी काम गरिएको बताए । ‘पपुलिस्ट हुन निर्णय गरेका हैनौँ,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेका छौँ । राज्यलाई कम भार पर्नेगरी स्रोत निश्चित भएका निर्णय मात्र गरेका छौँ ।’

बैठकमा मन्त्री पौडेलले अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरूको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् । ‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौँ,’ उनले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौँ । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’ यस्तै न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गर्नुपर्नेमा जोड दिए । हाल दरबन्दी थप्न सक्ने देशको स्थिति नरहेको उल्लेख गर्दै उनले भएकाहरूबाट गुणस्तरीय सेवा दिन सकिने बताए ।

यसैगरी उनले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई आग्रह गरे । ‘अर्थ, कानुन भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन’, उनले भने, ‘सरकारी कामको यो रवैया हुनु भएन ।’ मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म तीन वटा मात्र फोन आएको कुराले केही सुधार भइरहेको संकेत गरेको पनि बताए । यस्तै, उनले विदेश भ्रमण जाने समयलाई पाँच दिनमा सीमित गर्न कर्मचारीहरूलाई आग्रह गरे । ‘विदेश भ्रमण गए पछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ उनले भने । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरूको समीक्षा गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x