Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड

खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड

आपराधिक गिरोहलाई ग्राहकको व्यक्तिगत विवरण बिक्री गरेको आरोपमा तीन कर्मचारी पक्राउ


काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा ग्राहकहरूको व्यक्तिगत गोपनीयतामाथि गम्भीर खेलबाड हुनेगरेको पाइएको छ । प्रहरीले खल्ती वालेटको केवाईसी रुजु गर्ने तीन जना कर्मचारीलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेपछि खल्तीमा ग्राहकहरूको व्यक्तिगत गोपनीयतामाथि गम्भीर खेलबाड हुनेगरेको पुष्टि भएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार धादिङको ज्वालामुखी गाउँपालिका वडां नं ५ घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ घर भई हाल काठमाडौंको पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेतलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ गरे पनि उक्त कार्यालयले पक्राउ परेका ती कर्मचारीहरू कुन भुक्तानी प्रदायक सेवा कम्पनीको हो भनेर नाम खुलाएका थिएनन् । नाम नखुलाउनको लागि सम्बन्धित कम्पनीले गरेको आग्रहका आधारमा कम्पनीको नाम नखुलाइएको प्रहरी उच्च स्रोतको भनाइ छ ।

प्रहरी उच्चस्रोतका अनुसार पक्राउ परेका खल्तीका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी भेरिफाइ गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपीलगायतका विवरणहरू डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई बिक्री गरेका थिए । यसरी बिक्री गरेका खल्तीका ग्राहकहरूको विवरणबाट अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोबाइल नम्बर लिई ५५ वटाभन्दा बढी वालेटहरू गैरकानुनीरूपमा खोली ती वालेटलाई भेरिफाइ गरी आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । सोही आधारमा खल्तीले आफ्नै कर्मचारीहरूविरुद्ध पकाउ गरी कारबाही गर्नको लागि दिएको लिखित उजुरीका आधारमा ती कर्मचारीलाई पक्राउ गरेको प्रहरी उच्चस्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कानुनबमोजिम आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । सम्बन्धित कम्पनीले आफ्नै कार्यालयका कर्मचारीहरूले गरेको बदमासीको बारेमा लिखित उजुरी दिएपछि ती व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । कर्मचारी पक्राउको बारेमा जानकारी माग गर्न खल्तीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा कुनै पनि कर्मचारीहरूले त्यसको बारेमा बताउन चाहेनन् । खल्तीका गुनासो सुनुवाइ प्रमुख सविन केसीलाई कैयौँ पटक फोन सम्पर्क गरे पनि उनको फोन उठेन । खल्तीको ग्राहक सेवाकेन्द्रमा पटक–पटक जानकारी माग गर्दा ‘कस्टुमर केयर’मा कार्यरत कर्मचारी मञ्जु राईले यो विषयमा आफूलाई जानकारी नभएको भन्दै सम्बन्धित व्यक्तिगतलाई यो गुनासोको बारेमा जानकारी दिने बताइन् ।

भुक्तानी सेवा प्रदायक कम्पनीभित्रकै कर्मचारीले ग्राहकको विवरण चोरी आपराधिक गिरोहलाई बिक्री गरेको यो घटनाले भुक्तानी सेवा प्रदायकको सेवा र ग्राहकको गोपनीयतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ । त्यस्ता कम्पनीमा कार्यरत कर्मचारी आफ्ना ग्राहकको गोपनीयतामा जिम्मेवार नबन्दा लाखौँको संख्याका ग्राहकहरूको व्यक्तिगत विवरण बिक्री हुने खतरा बढेको छ । नेपालमा धेरै वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरू रहेका छन् । तीमध्येको प्रमुख खल्ती पनि हो । खल्तीको देशभर ९५ हजारभन्दा बढी खल्ती पसल रहेका छन् । खल्तीको अहिले सबै किसिमका गरी २९ वटा बैंक पार्टनर, १४ वटा ई–बैंकिङ पार्टनर, २८ वटा मोबाइल बैंकिङ पार्टनर, ३८ वटा कनेक्ट आईपीएस पार्टनर रहेको छ ।

खल्तीबाट ग्राहकको व्यक्तिगत विवरण चोरी गरेर आपराधिक गिरोहलाई बिक्री गरेको यो घटनाले खल्तीको लाखौँ ग्राहकहरूको सुरक्षामाथि पनि गम्भीर प्रश्नचिह्न खडा भएको छ । पछिल्लो समय खल्तीको नामबाट अनाधिकृत व्यक्तिहरूबाट केवाईसी अपडेट गर्नको लागि भन्दै ग्राहकहरूलाई फोन सम्पर्क गरी ओटीपी पासवर्ड माग गर्नै घटना बढ्दै जानुको पछाडिको मूल कारण पनि आपराधिक गिरोहलाई ग्राहकको व्यक्तिगत विवरण बिक्री हुनसक्ने आशंका गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x