Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन

सामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन


काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ता बढेसँगै योगदान रकममा पनि वृद्धि भएको छ । कोषमा सोमबारसम्म योगदान रकमस्वरूप ६८ अर्ब ६८ करोड रुपैयाँ सङ्कलन भएको छ ।

करिब २५ दिनमा एक अर्ब ५३ करोड रुपैयाँ थपिएपछि योगदान रकममा वृद्धि भएको कोषले जनाएको छ । कोषका अनुसार कात्तिक दोस्रो सातासम्म खातामा योगदान रकमबापत ६७ अर्ब १५ करोड सङ्कलन भएको थियो । गत असार मसान्तसम्म कोषमा ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

कोषमा योगदान गर्ने योगदानकर्ता वृद्धि भएसँगै कुल योगदान रकममा समेत वृद्धि भएको हो । कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई आबद्ध गराउँदै आएको छ । सोमबारसम्म कोषमा १७ लाख ९७ हजार छ सय ४० जना योगदानकर्ताहरू आबद्ध भएका छन् । कोषका कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार आन्तरिक श्रमबजारमा रहेका १९ हजार सात सय ६९ रोजागरदाताले पाँच लाख ४३ हजार तीन सय ८८ जना श्रमिकलाई आवद्ध गराएको हो । त्यस्तै वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिक पनि यसमा आबद्ध छन् ।

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेकोमा हालसम्म उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । पछिल्ला समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आवद्ध गरेको हो ।

यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुनआउने क्रम चलिरहेको बताइएको छ ।

कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी दायरा किटान गरी त्यसलाई कार्यान्वयन गर्दै आएको छ ।

सोमबारसम्म कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब ४८ करोड १७ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १५ करोड २१ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १८ करोड ५५ लाख रुपैयाँ र अवकाश रकम नौ अर्ब ८० करोड ६४ लाख रुपैयाँ दाबी गरेका छन् ।

कोषले सोमबारसम्म ११ अर्ब ६२ करोड ५३ लाख रुपैयाँँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै कोषमा आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना, आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम सङ्कलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वाट स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।

त्यस्तै कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x