Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाबौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल

बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल


काठमाडौँ । निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

उनले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोचको विकास गराउन सक्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए । नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको उनको भनाइ थियो ।

“संविधानले परिकल्पना गरेको समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक छ”, अध्यक्ष दाहालले भने ।

शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताए ।

“नेपालको शिक्षा विकासमा विविध चुनौती छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौती नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीति बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ”, अध्यक्ष दाहालले भने ।

उनले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताए । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उनको भनाइ थियो ।

सङ्घीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा आफूहरुको लडाइँ जारी रहने प्रतिबद्धता व्यक्त गरे । उनले भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्ने बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x