Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार नाकाहरुबाट अत्यावश्यक सामग्रीको आयात निरन्तर

भन्सार नाकाहरुबाट अत्यावश्यक सामग्रीको आयात निरन्तर


प्रवीण राउत
काठमाडौं, असार २८
सरकारले भन्सार नाकाहरुबाट अत्यावश्यक वस्तु आयातलाई निरन्तरता दिएको छ । लकडाउन आंशिक खुल्ला गरे पनि खाद्यान्न, दलहन, तरकारी, औषधिलगायतका अतिआवश्यक वस्तुहरुको अभाव हुन नदिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुहरुको आयातनिर्यात सहज रुपमा भइरहेको छ । पछिल्लो समय रसुवागढी नाका सञ्चालनमा आएको छ । झण्डै छ महिनापछि सोमबारदेखि रसुवागढी नाकाबाट सामान आयात गरिएको छ ।

मन्त्रालयका अनुसार विभिन्न नाका हुँदै चैत ११ देखि असार २१ गतेसम्मको अवधिमा छ अर्ब पाँच करोड एक लाख ५४ हजार रुपैयाँबराबरको तयारी औषधि तथा एक अर्ब ९३ करोड ३८ लाख ३८ हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ आयात गरिएको छ । त्यसैगरी खाद्यान्न चार लाख २५ हजार एक सय मेट्रिक टन, दलहन एक लाख सात हजार पाँच सय मेट्रिक टन, तरकारी एक लाख २२ हजार छ सय मेट्रिक टन, फलफूल ४६ हजार आठ सय मेट्रिक टन र दुग्धजन्य पदार्थ १२ हजार पाँच सय मेट्रिक टन आयात गरिएको छ ।

यसैबीच लकडाउन सुरु भएयता औषधिको आयात आइतबार सबैभन्दा धेरै भएको छ । सो दिनमात्र १७ करोड ८० लाख ६६ हजार रुपैयाँको तयारी औषधि आयात भएको हो । त्यस्तै १७ करोड ८० लाख ६६ हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ सोही दिन आयात भएको छ । यता असार महिनामा मात्र १ अर्ब ४७ करोड १६ लाख दश हजार रुपैयाँको औषधि तथा ४६ करोड ९५ लाख ५६ हजार रुपैयाँको औषधिको कच्चापदार्थ आयात गरिएको छ । त्यसैगरी एक लाख १२ हजार मेट्रिक टन खाद्यान्न, २९ हजार मेट्रिक टन दलहन, २३ हजार मेट्रिक टन तरकारी, सात हजार मेट्रिक टन फलफूल र एक सय ९४ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश दाहालले असार दोस्रो सातामा तयारी औषधिको आयात उच्च भएको बताए । ‘असार ११ गते तयारी औषधिको आयात उच्च रहेको थियो’, उनले भने, ‘पछिल्ला दिनमा समेत तयारी औषधि र औषधिजन्य कच्चापदार्थको आयातमा वृद्धि भएको छ । असार ११ गते १६ करोड १८ लाख ५० हजार मूल्यबराबरको तयारी औषधि आयात भएको छ ।’

दुग्धजन्य पदार्थको आयात भने वैशाख ५ गते एकै दिन दश हजार आठ सय मेट्रिक टन आयात भएकोले वैशाखमा अत्यधिक आयात भएको छ । त्यसपछिका दिनहरुमा भने दुग्धजन्य पदार्थको आयात कम नै भइरहेको छ । आयातको प्रकृति हेर्दा चैतको तुलनामा वैशाख र वैशाखको तुलनामा जेठमा आयात बढेको पाइन्छ । यस्तै असार महिनाको तीन हप्ताको आयातको प्रवृत्ति हेर्दा खाद्यान्न, फलफूल र दुग्धजन्य पदार्थ पहिलो हप्तामा बढी आयात भएको छ । त्यसैगरी तरकारी र औषधि तथा औषधिजन्य कच्चा पदार्थ तेस्रो हप्तामा बढी आयात भएको छ । तर, यता तरकारी, फलफूल र दुग्धजन्य पदार्थको आयात भने वैशाखको तुलनामा जेठमा घटेको छ ।

जेठ महिनाको दोस्रो हप्तामा आयातित तरकारी र फलफूलको उपभोग नगर्ने भनी केही भन्सार नाकाहरुमा भएको अवरोधले गर्दा आयातमा कमी आएको मन्त्रालयले बताएको छ । त्यसैगरी उद्योग, कृषि तथा पशुपन्छी, कृषि सहकारीहरु र स्थानीय तहसँग समेत समन्वय गरी काठमाडौं उपत्यकानजिकका कृषकहरुबाट तरकारी बजारसम्म ल्याउन सहजीकरण गरेको कारण पनि आयात कम हुन गएको हो ।

पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण घट्यो : यस्तै पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण घटेको तथा खाना पकाउने एलपी ग्यासको आयात मागभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आइतबार चार हजार ९६ किलोलिटर आयात भएकोमा सात हजार छ सय ८० किलोलिटर बिक्री गरिएको तथा ५२ हजार चार सय ४० किलोलिटर मौज्दात रहेको छ ।

आइतबार पेट्रोल एक हजार छ सय ५२ किलोलिटर आयात गरिएकोमा एक हजार छ सय ७२ किलोलिटर बिक्री गरिएको छ भने छ हजार तीन सय ७१ किलो लिटर मौज्दात रहेको छ । यस्तै सोही दिन डिजेल दुई हजार तीन सय ६४ किलोलिटर आयात गरिएको छ भने पाँच हजार नौ सय ९२ किलोलिटर बिक्री गरिएको तथा ४० हजार १७ किलोलिटर मौज्दात रहेको छ । हवाइ इन्धन आयात गरिएको छैन भने ६५ किलोलिटर बिक्री गरिएको छ ।

त्यस्तै, हवाइ इन्धन चार हजार आठ सय ४३ किलो लिटर मौज्दात रहेको छ भने मट्टीतेल ८० किलोलिटर आयात गरिएकोे छ । मट्टीतेल एक सय ३० किलोलिटर बिक्री तथा एक हजार दुई सय नौ किलोलिटर मौैज्दात रहेको छ । यता एलपी ग्यास एक हजार चार सय ३२ मेट्रिक टन मौज्दात रहेको छ । सवारीसाधन सञ्चालन नहुँदा पेट्रोलियम खपत हुनसकेको छैन । यद्यपि पछिल्लो समय सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने भनेपछि व्यवसायीहरु सो निर्देशन मान्न तयार भएका छैनन् जसले गर्दा पेट्रोलियम पदार्थको खपत हुनसकेको देखिँदैन ।

१७ सय ९८ बाहिरिँदा १२ सय १५ ट्रक भित्रिए : असार २१ गते वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी)नाकाबाट चार सय ७९ वटा ट्रक भित्रिएको तथा पाँच सय नौवटा ट्रक बाहिरिएको छ भने बाँकी चार सय चारवटा ट्रक आउजाउ गर्न बाँकी छ । ती ट्रक नाकामै रोकिएका छन् । त्यसैगरी वीरगञ्जका आईसीडी नाकाबाट ९० वटा लरी भित्रिएको छ भने एक सय ३३ वटा लरी बाहिरिएको छ । नाकामा एक हजार छ सय ५१ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ भने भैरहवा नाकाबाट दुई सय ७० वटा ट्रक भित्रिएको तथा पाँच सय १२ वटा ट्रक बाहिरिएको र दुई सय ४४ वटा ट्रक आउजाउ गर्न बाँकी छ ।

यस्तै विराटनगर आईसीपी नाकाबाट एक सय ५७ वटा ट्रक भित्रिएको तथा चार सय ३४ वटा ट्रक बाहिरिएका छन् । त्यस्तै एक सय नौ वटा ट्रक आउजाउ गर्न बाँकी तथा विराटनगर आईसीडीबाट कुनै पनि ट्रक भित्रिएको तथा बाहिरिएको छैन । त्यसैगरी काँकडभिट्टाबाट दुई सय तीनवटा ट्रक भित्रिएको तथा एक सय ८३ वटा ट्रक बाहिरिएको छ भने ५२ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको र तातोपानी नाकाबाट १६ वटा ट्रक भित्रिएको र २७ वटा ट्रक बाहिरिएको छ भने ३६ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँले बढ्यो : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रीवितरण हुनेछ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । वृद्धि भएको मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x