Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?

नेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?


काठमाडौँ । फ्रेन्चाइज क्रिकेट भनेकै विश्वभरका राम्रा राम्रा खेलाडीहरू किनेर प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने मानिन्छ।शनिवारबाट सुरु हुने नेपाल प्रिमिअर लीग (एनपीएल) को एक मुख्य आकर्षण विदेशी खेलाडीहरू हुनेछन्।

भारतका चर्चित पूर्व ओपनर शिखर धवनले कीर्तिपुर मैदानमा कसरी ब्याट घुमाउँछन् होला? दर्शकहरू प्रतीक्षा गरिरहेको पाइन्छ।

एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीले ३९ विदेशी खेलाडीहरू अनुबन्धित गरिसकेका छन्।

राम्रा राम्रा विदेशी खेलाडी भित्र्याउन फ्रेन्चाइज टोलीले आफ्नो ल्याकत अनुसारको दौडधुप गरेका थिए।धवनदेखि न्युजिल्यान्डका जिम्मी निशम जस्ता चर्चित खेलाडी अनि बाबर हायात र रोहन मुस्तफा जस्ता नेपाली क्रिकेटसँग जोडिएका पुराना खेलाडी एनपीएलमा जोडिन पुगे।

रमाइलो कुरा के छ भने विदेशी खेलाडी किन्न टोलीलाई रकमको कुनै सीमा छैन। रकम खर्चिने छुट नेपाल क्रिकेट सङ्घले दिएको छ।

खेलाडीहरूको सङ्ख्याको हिसाबमा यति धेरै विदेशी एकसाथ क्रिकेट खेल्न आउन लागेको यो पहिलो हो। यसले प्रतियोगिताको रौनक ह्वात्तै बढेको देखिएको छ।

विदेशी खेलाडी कसले कति रकम लिएछन् ? को खेलाडी कति ‘फर्म’मा छन् ? कुन टोलीमा बलिया खेलाडीहरू अनुबन्धित भए ? दर्शकहरूले विश्लेषण गरिरहेका छन्।

को को हुनेछन् त एनपीएलमा हेर्न लायक विदेशी खेलाडीहरू?ठूलो नाम शिखर धवनभारतको राष्ट्रिय टोलीबाट खेलिसकेका कुनै पनि भारतीय खेलाडी नेपाल आएर फ्रेन्चाइज टोलीबाट खेल्न लागेको यो पहिलो पटक हो।

३८ वर्षीय बायाँ हाते ब्याटर धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेसँगै एनपीएल चर्चा झन् चुलिएको देखियो।

‘गब्बर’ उपनामले चर्चित धवन भारतीय राष्ट्रिय टोलीबाट होस् वा आईपीएलमा, गजबको छाप छोडिसकेका छन्।

३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी-२० आई खेलिसकेका उनी कीर्तिपुर मैदानमा देखिने चर्चित विदेशी अनुहारमा पहिलो नम्बरमा देखिएका छन् ।

आइपीएलमा सनराइज हैदराबादलाई च्याम्पियन बनाउँदाका टोलीका मुख्य खेलाडी धवनले नेपाली दर्शकमाझ राम्रो छाप छोड्ने अनुमान गर्न सकिन्छ।

लामो प्रयासपछि धवनलाई कर्णाली याक्सका भित्राउन पाएकोमा उत्साहित कर्णालीका निर्देशक गृहेन्द्र घिमिरे भन्छन्, “धवनको धमाकाले एनपीएलमात्र होइन, समग्रमा नेपाली क्रिकेटलाई फाइदा पुग्ने हामीलाई विश्वास छ”।

धवनले राष्ट्रिय टोलीबाट बिदा लिएको २ वर्षभन्दा बढी भइसकेको छ।

३८ वर्षीय धवनले एनपीएलमा ४ खेल खेल्ने बताइएको छ। तर निर्देशक गृहेन्द्र घिमिरेका अनुसार इच्छा अनुसार धवनले बढी खेल पनि खेल्न सक्नेछन्।

विदेशी खेलाडीको हकमा अनुबन्धित रकम खुलाउन आवश्यक छैन। तर धवनले एक खेलका लागि ३० हजार अमेरिकी डलर लिने बुझिएको छ।टेस्ट राष्ट्रबाट तीन जना
शिखर धवन एनपीएलको ठूलो नाम भए पनि वर्तमानमा राम्रो फर्ममा रहेका टेस्ट राष्ट्रका ठूलो नाम गरेका खेलाडी हुन् न्युजिल्यान्डका जिम्मी निशम।

उनी जनकपुर बोल्ट्सबाट खेल्नेछन्।

एनपीएलको नियमअनुसार पछिल्लो २ वर्ष भित्र राष्ट्रिय टिमबाट खेलिरहेका टेस्ट राष्ट्रबाट ४ जना खेलाडीले मात्र एनपीएल मा खेल्न पाउनेछन्।

निशाम ती मध्येका एक हुन्। बोल्ट्स फ्रेन्चाइज टोली आबद्ध भएका कारण उनी एनपीएलमा आबद्ध भएको हो।

बोल्ट्स क्रिकेटको एउटा फ्रेन्चाइज टोली हो। बोल्ट्सले अमेरिकामा क्यालिफोर्निया बोल्ट्स, युएईमा अजमन बोल्ट्स, दक्षिण अफ्रिकामा हरारे बोल्ट्स र श्रीलङ्कामा क्यान्डी बोल्ट्सको नामबाट खेल्ने गर्छन्।

निशाम बोल्ट्ससँग आबद्ध भएकोले नेपाल ल्याउन सहज भएको जनकपुर बोल्ट्सका हेड अफ अपरेशन निरोज खतिवडाले बीबीसीलाई बताए।

न्युजिल्यान्डका ३४ वर्षीय अनुभवी ब्याटिङ अलराउन्डर निशमले टेस्टदेखि टी२० सम्म सबै खाले शैलीको क्रिकेटमा खेलेका छन्।

साथै उनले भारतको चर्चित फ्रेञ्जाइज क्रिकेट आइपीएलदेखि बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेड जस्ता फ्रेन्चाइज लीगहरू खेलेका छन्।

टेस्ट राष्ट्रबाट ४ जना भित्र्याउन पाउनेमा अहिलेसम्म तीन जना खेलाडीलाई मात्र फ्रेन्चाइज टोलीले किनेका छन्। निशमपछि सुदूर पश्चिम रोयल्सले स्कट कुगेलेइनलाई र पोखरा एभेन्जर्सले रेमोन रेइफरलाई अनुबन्धित गरेका छन्। एक सीट अझै खाली छ।अरू को कोहुन त फ्रेञ्जाइज टोलीले अक्सनबाट पाएका खेलाडीबाहेक टोलीको संरचना सन्तुलन गर्ने खालका खेलाडी खोजेका हुन्।

त्यसमा थुप्रै नामहरू चर्चित छन् र कतिपयले नेपाली भूमिमा प्रभावकारी छाप पनि छोडिसकेका छन्।

त्यसमा पनि केही नामको भने विशेष चर्चा छ।

मार्टिन गुप्टिल र ब्रान्डन म्याकमुलेमको नाम त्यो सूचीको खेलाडीमा अगाडि देखिन्छ।

न्यूजिल्यान्डका ३८ वर्षीय प्रारम्भिक ब्याटर गुप्टिलसँग राष्ट्रिय टोलीबाट ३५० भन्दा धेरै खेलेको अनुभव छ।

सन् २०१५ को एक दिवसीय विश्वकपमा अविजित २३७ रन बनाउँदा उनी चर्चाको शिखरमा पुगेका थिए। यो कीर्तिमान अझै तोडिएको छैन।

उनको अनुभव विराटनगर किङ्ग्सका लागि लाभदायी हुने पक्का छ।

ब्याटिङ अलराउन्डर स्कटल्यान्डका ब्रान्डन म्याकमुलेम पनि सुदूर पश्चिमका लागि उतिकै उपयोगी खेलाडी हुनेछन्।

गत वर्ष मात्र टी २० आईमा डेब्यू गरेका उनी भर्खर २५ वर्षका भए र ओपनिङमा आएर विस्फोटक ब्याटिङ गर्ने उनको शैलीले एनपीएलमा धेरैको ध्यान तान्ने अनुमान गरिएको छ।हायत र मुस्तफा
हङकङका बावर हायत र युएईका रोहन मुस्तफाको नाम नेपाली समर्थकका लागि घरेलु लाग्न सक्छ।

किनकि नेपालमा फ्रेन्चाइज लीगको सुरुआत हुँदाका यी चर्चित विदेशी खेलाडीका सूचीमा थिए।

बाबरले एभरेस्ट प्रिमिअर लीग जिताएका छन् भने मुस्तफा धनगढी प्रिमिअर लीगको फाइनलको म्यान अफ द म्याच।

नेपाली माटोमा खेल्न उनीहरूलाई मन पर्छ भने नेपाली समर्थकहरूलाई उनीहरूलाई हेर्न मन पर्छ।

एसोसियट खेलाडीहरूमा ओमानका अकिव इलियास र जेसन मक्सुद पनि चलेका नामहरू हुन्।

प्रक्रिया
नेपाल क्रिकेट सङ्घले विदेशी खेलाडी ल्याउन सहज बनाउन आठ फ्रेन्चाइज टोलीलाई २५६ विदेशी खेलाडीहरूको सूची उपलब्ध गराएको थियो।

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एनपीएलको पहिलो संस्करणको लागि वर्तमानमा टेस्ट राष्ट्रबाट ४ जना खेलाडी ( राष्ट्रिय टोलीबाट खेलेर २ वर्ष भित्रका ननाघेका) लाई मात्र एनपीएल खेल्न स्वीकृति दिएको थियो।

त्यस्तो खेलाडी फर्स्ट कम फर्स्ट सर्भिस का आधारमा आठ फ्रेन्चाइज टोलीले भित्राउन पाउँथ्यो।

अनि विदेशी खेलाडी भित्राउन रकममा कुनै अङ्कुश लगाइएको छैन। क्षमता अनुसार फ्रेन्चाइज टोलीले खेलाडी किन्न छुट थियो।

त्यस्तै टोलीले ४ विदेशी खेलाडी अनिवार्य खेलाउनु पर्ने र ६ खेलाडी सम्म अनुबन्ध गर्न पाउने एनपीएलको नियम बनाइएको थियो।

यस्तोमा कम्तीमा ३२ विदेशी खेलाडीले एनपीएल खेल्नै पर्थ्यो। यो नियम अनुसार क्लबहरूले कुल ३९ खेलाडी अनुबन्धित गरिसकेका छन्।

हाल सम्म अनुबन्धित भएकोमा १६ देशका खेलाडी छन्। जसमा इङल्यान्डबाट सबैभन्दा बढी ८ खेलाडी छन् भने अमेरिकाबाट ४, वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३ खेलाडी, अफगानिस्तान, नेदरल्यान्डस र नामिवियाबाट २/२ जना खेलाडी रहेका छन्।

त्यस्तै भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङबाट एक एक जना छन्।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

ताजा अपडेट

0
Would love your thoughts, please comment.x
()
x