Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतको बहराइच र सीतापुरबाट सलहको झुण्ड फेरि नेपाल पस्यो

भारतको बहराइच र सीतापुरबाट सलहको झुण्ड फेरि नेपाल पस्यो


प्रवीण राउत
काठमाडौं, असार २९
भारतबाट सलह फेरि नेपाल प्रवेश गरेको छ । भारतको बहराइच र सीतापुरमा रहेको सलहको झुण्ड आइतबार पुनः नेपाल प्रवेश गरेको सलह सूचना केन्द्रका प्रमुख तथा प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ संरक्षण अधिकृत रामकृष्ण सुवेदीले आर्थिक दैनिकलाई जानकारी दिएका हुन् । यसअघि असार दोस्रो साता सलह नेपाल प्रवेश गरेको थियो । ‘बहराइच र सीतापुरमा दुई/तीन दिनअघि रहेको सलह नेपाल प्रवेश गरेको हो’, उनले भने, ‘त्यहाँको सरकारले सलह नियन्त्रण कोशिस गरिरहेको छ ।’

नक्सामा नदेखिएको सलह नेपाल आएको उनको भनाइ छ । नेपाल प्रवेश गरेको सलह दाङ, प्युठान पुगेका छन् । ‘दुईवटा सानो झुन्ड प्रवेश गरेको छ’, अधिकृत सुवेदीले भने, ‘ती झुण्ड नै दाङ, प्युठान क्षेत्रमा पुगेका हुन् । तिनीहरुको संख्या करिब एक/दुई लाखको संख्यामा रहेको छ ।’

सलह प्रवेशसँगै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । सलह पुगेको स्थानमा बाली नोक्सानी गर्ने हुँदा त्यहाँका सबै स्थानीय तहलाई सचेत रहन आग्रह गरेको उनले बताए । उनले भने, ‘ठूलो झुण्ड अर्थात् ठूलो संख्यामा सलह प्रवेश नगरेको भए पनि बालीमा क्षति पु-याउनसक्ने हुँदा सम्पूर्ण स्थानीयलाई सलह आएको जानकारी गराएका हौँ ।’

भारतमा भएको सलह प्रवेश गर्ने/नगर्ने विषय भनेको हावाको वेगमा भर पर्ने उनले बताए । पछिल्लो समय भारतबाट उत्तर पूर्व हावा चलेसँगै सलह प्रवेश गरेका हुन् । अधिकृत सुवेदीका अनुसार उत्तर–पूर्व भएर हावा अबको दुईदेखि तीनसम्म चल्नसक्ने अनुमान गरिएको छ । त्यसैले सलह प्रवेशको सम्भावना उच्च रहेको छ । हावा नचलेमा भने सलह नआउन सक्छ ।

त्यसैगरी पूर्व उत्तर हावाको वेग रहेमा राजस्थानमा रहेको सलह समेत प्रवेश गर्ने सम्भावना उच्च छ । हावाको वेग अहिलेको भएमा राजस्थानमा रहेको सलह अबको दुईदेखि तीन दिनमा नेपाल आउने उनले बताए । सलह प्रवेशको मुख्य कारक भनेको हावाको वेग नै हो । भारत, पाकिस्तानमा लामो समयदेखि रहँदै आएको सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको हो । यसअघि प्रवेश गरेका सलह समेत जीवित रहेको पाइएको छ ।

हालसम्म प्रवेश गरेको सलहको झुण्ड सानो हुँदा ठूलो क्षति हुन पाएको छैन । यसअघि आएका सलह निरन्तर वर्षा र चिसोका कारण मरेका थिए । ती सलह भैरहवा, कपिलवस्तु, सर्लाही, बारा तथा पश्चिमका केही जिल्लाबाट प्रवेश गरेका थिए भने बाग्लुड, कालीकोटजस्ता पहाडी भेगमा उक्लेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x