Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा रहेका करिब साढे २६ हजार नेपालीको उद्धार

विदेशमा रहेका करिब साढे २६ हजार नेपालीको उद्धार


काठमाडौं, असार २९
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा विदेशमा समस्यामा परेका करिब साढे २६ हजार नेपालीको उद्धार गरिएको छ । विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार तीन सय ९६ जना नेपालीको उद्धार गरिएको संघले जानकारी दिएको छ ।

विभिन्न एयरलाइन्सका एक सय ४९ वटा उडानमार्फत उनीहरूको उद्धार गरिएको संघका प्रेस संयोजक चिरन शर्माले बताए । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट पाँच हजार पाँच सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै पाँच हजार दुई सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार ३० जना, मलेसियाबाट तीन हजार ५३, कतारबाट २ हजार आठ सय ८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट चार सय ८३, म्यान्मारबाट २६, जापानबाट चार सय ९२, थाइल्याण्डबाट तीन सय २६, दक्षिण कोरियाबाट चार सय ७६, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ, श्रीलंकाबाट पाँच, सिंगापुरबाट एक सय ४६, हङकङबाट ८९, बहराइनबाट पाँच सय ६७, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७ र चीनबाट एक सय पाँच जनालाई स्वदेश फर्काइएको हो । शनिबार मात्रै विभिन्न मुलुकबाट एक हजार तीन सय ८१ जना स्वदेश फर्किएका छन् । संघले उद्धार कार्यलाई निरन्तरता दिने समेत बताएको छ ।

डेढ सयभन्दा बढी शव ल्याइयो : सोही अवधिमा विभिन्न मुलुकमा ज्यान गुमाएका एक सय ५७ वटा शव नेपाल ल्याएको संघले जनाएको छ । नेपाल ल्याइएको शव आफन्तलाई बुझाइएको संघको भनाइ छ । त्यसैगरी विदेशमा विभिन्न कारण ज्यान गुमाएका चार सय छ जनामध्ये एक सय ४६ जनाको परिवारको सहमतिमा सम्बन्धित देशमा अन्त्येष्टि गरिएको छ । संघका अनुसार विदेशमा रहेको एक सय नौ वटा शव स्वदेश ल्याउन बाँकी रहेको छ ।

यस्तै पछिल्लो समय अर्थात् यो साता कोभिड १९ को संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीको निधन भएको छैन । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रूपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९२ प्रतिशत नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिबार साँझसम्म विश्वभर २९ हजार छ सय २४ जनामध्ये २७ हजार तीन सय ६२ जना नेपाली संक्रमणमुक्त भएको संघले जनाएको छ । समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबरलगायतका देशमा रहेका नेपालीहरूमा सो साता कोरोना संक्रमण दर सामान्य रूपमा वृद्धि भएको छ ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या एक सय ८१ पुगेको छ भने ४६ हजार तीन सय ४६ जनामा संक्रमण फैलिएको छ । तीमध्ये ३५ हजार आठ सय चार जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यसअघि गत सातासम्म १४ देशमा संख्या एक सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सूचनाहरूलाई कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x