Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति आउँछ’

‘पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति आउँछ’


काठमाडौं, असार २९
नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको छ । कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेकोले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने राष्ट्र बैकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरूको सुझाव लिने काम भैसकेको समेत जानकारी दिए ।

उनले भने, ‘मौद्रिक नीतिमा आर्थिक पुनरुत्थानमै जोड छ । अधिकतम लचिलो नीति ल्याउनेगरी हामी छलफलमा छौं ।’ मौद्रिक नीतिले कोभिडबाट प्रभावित क्षेत्रलाई चाँडो सञ्चालन गर्न मदत पु-याउने, वित्तीय साधनलाई प्राथमिकीकरण गर्ने, डिजिटलाइजेसनमा जोड दिइने, संस्थागत सुशासनमा जोड दिइने उनले बताए । अहिलेको आर्थिक संकटबाट बचाउनको लागि मौद्रिक नीतिले आधार दिने उनको भनाइ छ । बैंकहरूको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा तरलता अधिक रहेको साथै बजेटमै व्यवस्था गरिएको पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानका लागि पनि मौद्रिक नीतिकेन्द्रित हुने उनले स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेको र सबै क्षेत्रलाई राहत मिल्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए । मुलुकको अर्थतन्त्र उकास्न र निजी क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यावहारिक आउनेमा आफू आशावादी रहेको गोल्छाको भनाइ छ । उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरू विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरू आउने सुनाउँदै उनीहरूलाई व्यवस्थापन गर्न चूनौती रहेको बताए । उक्त चुनौतीलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउनुपर्ने उनको भनाइ थियो । उनले मौद्रिक नीतिमा मुख्यतः पुनर्कर्जा, ब्याजदर र पुनर्संरचनालाई जोड दिए । उनले भने, ‘पुनकर्जाको पहिलाको स्वरूप फेर्नुपर्छ ।’

गोल्छाले आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनका लागि विशेष ध्यान दिइनुपर्ने सुझाव दिए । ब्याजलाई पुँजीकृत गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘त्यही धितोमा २० प्रतिशत एक्स्ट्रा क्रेडिट दिनुपर्छ ।’ उनले यो वर्ष पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाइभ हुनेगरी नीति आउनुपर्नेमा जोड दिए । उनले यसअघि पुनर्कर्जा ठूला व्यवसायीलाई मात्रै दिइने गरिएको सुनाउँदै यो वर्ष ‘स्टिमुलेसन प्याकेज’ आउनुपर्ने र यसबाट साना, मझौला र ठूला सबैले लाभ लिनुपर्ने बताए । गोल्छाले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो रहेको सुनाए । उनले बैंक बलियो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘बैंक बलियो हुनुपर्छ । तर, यो वर्ष कम्प्रमाइज गरौं । बैंकिङ चार्जहरू कम गरौँ । व्यवसाय बलियो भयो भने बैंक पनि बलियो हुन्छ ।’ अहिलेको संकटबाट मुलुकलाई पार लगाउनको लागि मौद्रिक नीति महत्वपूर्ण हुने बताउँदै आगामी ६ महिनासम्म इकोनोमी ड्राइभ हुने र एक वर्षपछि इकोनोमिक ग्रोथ हुने उनले विश्वास दिलाए ।

नेपाल बैंकर्स एसोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि जनताका अपेक्षा पूरा नभएको स्पष्ट पारे । अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको उनले बताए । उनले भने,‘ म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिन् । यसले कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’ बैंकको ब्याजदर कम गर्नलाई आफूहरू प्रयासरत रहेको पनि उनको भनाइ छ । उनले भने, ‘१५/१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याऔँ । हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोसिस गर्दैछौं ।’ उनले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिए । ‘अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दा पनि दीर्घकालीन अवस्था हेरेर आउनुपछ’, उनले भने ।

उनले उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरूले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भए पनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरू हुने तर्क गरे । कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गीकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने उनले विश्वास दिलाए । उनले भने, ‘कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनु नै पर्नेहुन्छ । यसरी बैंकहरूले कर्जाको ब्याजदर घटाउँदा हाम्रो अर्थतन्त्रलाई नै नकारात्मक असर गर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए । उनले १ सय ५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागु हुनुपर्ने पनि बताए । उनले भने,‘यो बजेटमा घोषणा भएको छ । तर, कार्यान्वयन भएको छैन् । अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला । मौद्रिक नीति असारमै आउनुपर्दथ्यो ।’ उनले अहिले राष्ट्र नै विषम परिस्थितिबाट गुज्रिरहेकोले समग्र क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हाम्रो देशमा काम गर्ने शक्ति एशियामै बढि भएको देश हो । सबै एक भएर अघि बढ्नुपर्छ । सरकारले ल्याउने मौद्रिक नीति तल्लो तहका जनताले महसुस गर्न सक्नुपर्छ’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x