Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४६ प्रतिशतले घट्यो उद्योगको लगानी प्रतिबद्धता

४६ प्रतिशतले घट्यो उद्योगको लगानी प्रतिबद्धता


प्रवीण राउत
काठमाडौं, साउन ४
नेपालको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा ४६ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ अर्थात् ०७७ असारमसान्तसम्म स्वदेशी तथा विदेशी लगानीकर्ताले उद्योग क्षेत्रमा गर्ने लगानी प्रतिबद्धतामा अघिल्लो आवको २०७५/०७६ को सोही अवधिको तुलनामा ४६ प्रतिशत अर्थात् एक खर्ब ३० अर्ब ७२ करोड ७० लाखले कमी आएको छ ।

०७७ असारमसान्तसम्म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा एक खर्ब ५२ अर्ब ६२ करोड ५२ लाख लगानी प्रतिबद्धता गरेका हुन् । यो अघिल्लो आवको सोही समयको दुई खर्ब ८३ अर्ब ३५ करोड २० लाख लगानी प्रतिबद्धताको तुलनामा निकै कम हो । विभागमा प्रवक्ता विनोद कुमार खड्काले घरेलु कार्यालयमा उद्योग दर्ता हुने तथा प्रतिबद्धता जनाउनसक्ने हुँदा लगानी प्रतिबद्धतामा कमी आएको बताए । ‘घरेलु कार्यालय तथा औद्योगिक व्यवसाय ऐनअनुरुप लगानी बोर्डमा समेत लगानी जाने हुँदा रकम कमी देखिएको हो’, उनले भने, ‘यति हुँदाहुँदै पनि प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मा भने वृद्धि भएको छ । विभागका अनुसार एफडीआई प्रतिबद्धता ७२ अर्ब २८ करोड लगानी प्रतिबद्धता आएको छ ।’

उनीहरुले गत आवको असार मसान्तसम्म दुई सय ७७ वटा उद्योग स्थापना गर्नका लागि सो प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापना भए १७ हजार तीन सय ८८ जनालाई रोजगारी पाउनेछन् । त्यसैगरी अघिल्लो आवमा चार सय ३९ वटा उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको थियो । सो क्रममा २३ हजार ४३ जनालाई रोजगारी दिने लगानीकर्ताले बताएका थिए ।

०७७ असारमसान्तसम्मा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा र सबैभन्दा कम कृषि क्षेत्रका उद्योगमा गरेका छन् । विभागका अनुसार उनीहरुले ऊर्जा उद्योगमा एक खर्ब २० करोड १७ लाख लगानी प्रतिबद्धता जनाउँदा कृषिजन्य तथा वन पैदावरमा एक अर्ब १२ करोड ६४ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले कृषिजन्यमा नौवटा तथा ऊर्जामा ४४ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् ।

यस्तै सोही समयमा लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा दुई अर्ब ८४ करोड एक लाख, उत्पादनमा १९ अर्ब ४६ करोड ८२ लाख, सेवामा आठ अर्ब ४६ करोड ८२ लाख र पर्यटनमा २० अर्ब ५२ करोड ७२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । जसअनुसार सूचना–प्रविधिमा १७ वटा, उत्पादनमा ६९ वटा, सेवामा ४७ वटा र पर्यटनमा ९१ वटा गरी कुल दुई सय ७७ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ ।

प्रतिबद्धताबमोजिम काम भए कृषिमा तीन सय ८१ जना, ऊर्जामा दुई हजार ६ सय २ जना, सूचना प्रविधिमा एक हजार सात सय ८१ जना, उत्पादनमा चार हजार नौ सय ५६ जना, सेवामा तीन हजार सात सय ४७ जना र पर्यटनमा चार चार सय ६३ जना गरी कुल १७ हजार तीन सय ८८ जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् । यस्तै अघिल्लो आवको सोही समयमा सबैभन्दा बढी ऊर्जामा र सबैभन्दा कम खनिज उद्योगमा लगानी प्रतिबद्धता गरेका थिए ।

उनीहरुले ऊर्जामा दुई खर्ब १० अर्ब ४८ लाख तथा खनिजजन्य उद्योगमा एक करोड ८० लाख लगानी प्रतिबद्धता जनाएका थिए । त्यसैगरी लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा चार अर्ब १० करोड, पूर्वाधारमा एक अर्ब दुई करोड ४० लाख , सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ५७ करोड ७२ लाख, उत्पादनमा ५१ अर्ब १३ करोड ६० लाख, सेवामा पाँँच अर्ब ४५ करोड ६५ लाख र पर्यटनमा ११ अर्ब ४ करोड चार लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले चार सय ३९ वटा उद्योेग स्थापना तथा २३ हजार ४३ जनालाई रोजगारी दिने भन्दै सो लगानी प्रतिबद्धता गरेका थिए ।

नेपालको उद्योग क्षेत्रमा नेपालीसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरुले लगानी प्रतिबद्धता गर्दै आएका छन् । नेपालका व्यावसायिक समूहहरु चौधरी ग्रुप, शंकर ग्रुप, जगदम्बा ग्रुप, सेन्चुरी ग्रुप, वैद्य अर्गनाइजेसन, सूर्य नेपाललगायतका समूहले नेपालको उद्योग क्षेत्रमा लगानी गर्नुका साथै एफडीआई समेत आउने गरेको छ । नेपाली व्यवसायीसहित छिमेकी मुलुक भारत र चीनबाट पनि लगानी भित्रिने गरेको छ । यसबाहेक अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुक रहेका छन् ।

विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएका छन् । स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकलालगायतका उद्योगीहरुमा लगानी गर्ने गरेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ बमोजिम विभागले विदेशी लगानीकर्ताहरुको हकमा उद्योगमा गरिने लगानीमध्ये पाँच करोडदेखि छ अर्बसम्म लगानी स्वीकृति गर्ने गर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x