Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पाँचौं पटक म्याद थप गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पाँचौं पटक म्याद थप गर्ने तयारी


प्रवीण राउत
काठमाडौं, साउन ५
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद पाँचौँ पटक थप गर्ने तयारीमा आयोजना निर्माण कम्पनी पुगेको छ । कोभिड १९ को कारण उपकरण र प्राविधिक ल्याउन कठिनाइ भएको भन्दै म्याद थप गर्ने निष्कर्षमा पुगेको आयोजनाले जनाएको छ । योसँगै आयोजनाले म्याद थपको लागि एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेको छ ।

‘हामीले म्याद थपका लागि सम्बन्धित निकायलाई जानकारी गराएका छौँ’, आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने, ‘कोभिडकै कारण हामीले डिसेम्बरसम्म म्याद थप गर्नका लागि आग्रह गरेका हौँ । आवश्यक सामग्री तथा उपकरण र प्राविधिकहरु उपलब्ध नहुँदा आयोजना निर्माणमा समस्या भएको छ ।’

धावनमार्गको लागि आवश्यक बत्ती, एयर ट्राफिक, ह्यान्डिलिङ सिस्टम (कन्भियर भल्ट) आवश्यक सामग्री तथा इलोक्ट्रोनिक सामग्री र उपकरण जडानलगायतका उपकरण ल्याउन नसक्दा समस्या भएको उनले बताए । त्यस्तै सामग्रीहरु चीनको ल्हासामा आइपुगे पनि त्यहाँबाट ल्याउन नसकिएकोले समस्या थपिएको छ । उनले भने, ‘चीनले खाद्यान्न र स्वास्थ्य सामग्रीलगायतका अति आवश्यक सामग्री मात्र निर्यात गर्ने दिने हुँदा हामी समस्यामा परेका हौँ ।’

ल्हासाबाट सामग्री ल्याउन नसकेसँगै भारतको कलकत्ता बन्दरगाहबाट ल्याउने तयारी गरिएको उनले जानकारी दिए । त्यसो त सामग्रीसँगै दक्ष प्राविधिक समेत आउन नसक्दा कठिनाइ भएको छ । अधिकारीले आर्थिक दैनिकसँग भने, ‘अन्तर्राष्ट्रिय उडान बन्द भएको कारण विदेशबाट प्राविधिक आउने कुरा सम्भव नहुँदा समय थप लाग्नुको अर्को कारण हो ।’ टेलिफोन, बती, एयर ट्राफिकसँग सम्बन्धित उपकरण आए पनि जडान गर्ने प्राविधिक नहुँदा विमानस्थल निर्माणमा समस्या भएको हो ।

अयोजना निर्माणसम्पन्न गर्न पछिल्लो समय ३१ मार्च २०२० सम्मको लागि समय थप गरिएको थियो । चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विभानस्थलको भौतिका निर्माणतर्फको ठेक्का (आईसीपी वान)को जिम्मा लिएको छ भने आयोजनाका एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी ठेक्का (आईसीपी टू) थाइल्याण्डको एरो थाई कम्पनीले लिएको हो ।

यसैबीच उनले आयोजनामा निरन्तर भइरहेको तथा हालसम्म ९१ प्रतिशत भौतिक प्रगति तथा ६३ प्रतिशत आर्थिक प्रगति भएको बताए । ‘पेरिमिटर सडक निर्माण, भवन निर्माण तथा फिनिसिङ लगायतको काम सम्पन्न भइसकेको छ’, उनले भने, ‘धावनमार्ग वरपरका सडक तथा पार्किङ क्षेत्रका केही काम भने हाल भइरहेको छ ।’

आयोजनामा प्राविधिक र लेबर गरेर करिब तीन सय जनाले दैनिक काम गरिरहेका छन् । करिब ३० जना चिनियाँ प्राविधिक र बाँकी नेपाली प्राविधिक र लेबरले धावनमार्ग वरपरको सडक, भवनलगायतमा काम गरिरहेको आयोजनाले बताएको छ ।

त्यसैगरी विमानस्थल निर्माणको लागि गिटी, बालुवा, सिमेन्ट आदि सामग्रीको भने अभाव छैन । सन् २०१७ मा विमानस्थल निर्माण सम्पन्न गरी सरकारलाई बुझाउनुपर्ने भए पनि विभिन्न कारणले विमानस्थल निर्माण सम्पन्न हुनसकेको छैन । २०१४ मा विमानस्थल निर्माण सुरु गरिएको भए पनि भूकम्प, नाकाबन्दी तथा पछिल्लो समय कोभिडको कारण आयोजना निर्माणमा समस्या भएको थियो ।

त्यसैगरी पोखरा विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको बताएको छ भने विदेशबाट ल्याउनुपर्ने सामग्री नआउँदा समस्या भएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले सामग्री र प्राविधिकलगायतको कामदारहरुको अभावका कारण आयोजना अघि बढ्न नसकेको बताए । अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द हुँदा करिब दुई सय जना चिनियाँ प्राविधिक तथा कामदारहरु नेपाल आउन नसकेको तथा बाहिरबाट ल्याउनुपर्ने इलेक्ट्रोनिक सामग्री समेत ल्याउन नसक्दा निर्माणको कार्य अघि बढ्न नसकेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x