Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर राजमार्ग र पुल तहसनहस, खाद्यान्न अभावको संकेत

देशभर राजमार्ग र पुल तहसनहस, खाद्यान्न अभावको संकेत


काठमाडौं, साउन ६
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका प्रमुख तथा सहायक राजमार्ग र ग्रामिण सडक र पुलहरु भत्किदा यातायात ठप्प भएको छ । सडक र पुलमा परेको क्षतिको कारण विभिन्न भागमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने देखिएको छ । भारी वर्षाको कारण मुख्य राजमार्गका पुलमा समेत क्षति पुगेको कारण यातायात सहज हुन केही दिन लाग्ने भएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वीराजमार्गको चितवन र धादिङ जोड्ने मोवाखोला पुलको पहुँच सडक बाढीले बगाएको कारण उक्त क्षेत्रबाट काठमाडौं आउने/जाने यातायात ठप्प छ । पुलमा गाडी जाने सडक नै बगाएको कारण तत्काल गाडी चल्ने सम्भावना छैन । पृथ्वीराजमार्गका ठाउँठाउँमा पहिरो गएको कारण पन्छाएर पुल नजिक निर्माण कार्य गर्न कठिन देखिएको छ ।

मोवाखोलाको पुल र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक डिभिजन भरतपुर र साइड अफिस गजुरीबाट प्राविधिक र मेसिन उपकरण पठाउने काम भएको भरतपुर सडकका प्रमुख कृष्णराज अधिकारीले बताएका छन् । प्रमुख अधिकारीका अनुसार मुग्लिङ नारायणघाट सडकको चेनेज ३१ दशमलव पाँच सयमा पहिरोको कारण सडक दुईतर्फी नै बन्द छ । अन्य ठाउँमा पनि दुईतर्फी सडक बन्द छ ।

पृथ्वीराजमार्गका दर्जनौ स्थानमा माथिबाट आएको पहिरोले सडक पुरेको र पानी पर्ने क्रम जारी रहेको कारण पन्छाउन समस्या आएको सडक डिभिजन भरतपुरको भनाइ छ । राजमार्गका माथिल्लो क्षेत्रमा बनेको दर्जनौ ग्रामिण सडकले पनि पृथ्वीराजमार्गमा पहिरोको खतरा निम्त्याएको हो । पृथ्वीराजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लामा खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थको अभाव हुने छ । पानी पर्ने क्रम अझै जारी रहने र यस वर्ष साउन, भदौ मात्र नभई असोज तथा कात्तिकसम्मै पानी पर्ने भएकाले राजमार्गको यात्रा अझै कठिन हुने अनुमान गरिएको छ ।

नेपालको आकाशमाथि न्यून चापीय रेखा बसेको र उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई सोमबार अवगत गराएको थियो । विभागले मन्त्री पुनलाई गराएको जानकारी अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको छ । यो मात्रा अझै बढेर २ सय मिलि लिटर पुग्ने छ । विभागका अनुसार न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको छ ।

पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने छ । वर्षातको चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो । तर, यो पटक सुरुदेखि नै अत्याधिक पानी परिरहेको र कात्तिकसम्म पर्ने देखिको जानकारी विभागले मन्त्री पुनलाई गराएको थियो ।

मुख्य राजमार्ग मात्र नभई विभिन्न जिल्ला सदरमुकाम जाने सडक तथा सदरमुकामबाट ग्रामीण भेगमा जाने सडकहरु पनि पूर्ण रुपमा अवरुद्ध हुँदा पहाडी तथा हिमाली जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव हुने देखिएको हो । बेनी–मुस्ताङ सडक केही दिनदेखि अवरुद्ध भएको कारण मुस्ताङमा पनि समस्या देखिएको छ । बुटवल–तासेन सडक पनि अवरुद्ध भएको कारण पाल्पा, गुल्मी र स्याङजामा पनि दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ । सुर्खेत–जुम्ला सडकका विभिन्न ठाउँमा पहिरोको कारण अवरोध भएकाले खुलाउने कार्य जारी रहेको सडक डिभिजन जुम्लाका प्रमुख लीला भण्डारीले बताएका छन् ।

पहाड मात्र नभई तराई क्षेत्रमा पनि भारती वर्ष र बाढीको कारण सडक र वस्तीहरु डुबान र कटानमा परेको छ । यसले पनि यातायात अवरुद्ध भएको छ । वर्षाको कारण प्रदेश नम्बर २ का आठवटै जिल्लाका धेरै ठाउँ डुबानमा परेको छ । सर्लाही, रौतहटलगायतका जिल्लामा पूर्व–पश्चिम महेन्द्र राजमार्ग पनि बाढीको कारण अवरुद्ध छ । हुलाकी तथा सहायक राजमार्ग पनि कटानले गर्दा अवरुद्ध भएको छ । सातवटै प्रदेशका विभिन्न राजमार्ग तथा सहायक राजमार्ग र पुलहरुमा पहिरो र बाढीले क्षति पु-याएको विभिन्न जिल्लाबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस्तै, तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर सोमबार दुई महिला बेपत्ता भएका छन् । दार्चुलाको डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसमा क्षति पु-याएको छ । आइतबार राति आएको अविरल वर्षासँगैको डुङुरीमा रहेको पावरहाउसभित्र बाढी पसेपछि क्षति पु-याएको हो । पावरहाउसभित्र झण्डै तीन फिट पानी जमेको छ । पावरहाउसभित्रका उपकरणमा क्षति पुगेको छ । अविरल वर्षाले पहिरो जाँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबारबाट निरन्तर परेको वर्षाले सोमबार दिउँसो सो सडकखण्डअन्तर्गत लमजुङको राइनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरामा परेर बेपत्ता किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा १७ वर्षीया निरुता परियार रहेको बताइएको छ । यसैगरी थाक्रे गाउँपालिका–६ की ६० वर्षीया लक्ष्मी पुनमगरलाई महेशखोलाले बगाउँदा बेपत्ता भएकी छिन् । निरन्तर परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि काभ्रेपलान्चोकका दुई गाउँपालिकामा यातायात ठप्प भएको छ ।

दूर्गम डाँडापारि क्षेत्रको महाभारत र खानीखोला गाउँपालिका जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि जिल्ला सदरमुकाम आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो । जिल्ला सदरमुकामबाट महाभारत गाउँपालिका जोड्ने ‘बनेपा–कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि सवारी साधन चल्न नसकेको हो । यसैबीच अविरलरूपमा परेको वर्षाका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेपछि अरनिको राजमार्ग भएर गुड्ने सवारी साधन सञ्चालनमा समस्या भएको छ । त्यस्तै अविरल वर्षाका कारण बीपी राजमार्ग सडकखण्डअन्तर्गत नमोबुद्ध नगरपालिका–५ ल्हासकोटास्थित क्रसर उद्योगले थुपारेको डस्ट बगाएर भएको सडक अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढी पहिरामा परी चितवन जिल्लामा एक जना बेपत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौँ घर डुबानमा परेका छन् । खैरहनी नगरपालिका–११ का अन्दाजी ३० वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेपछि नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा सोमबार दिनभर पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । मङ्गलबार बिहानबाट मात्र मौसम अनुकूल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् । दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरूपमा डुबान भएको छ । दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x