Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमर्चवारीमा सुशासनको प्रयास जनप्रतिनिधिबाट नभई कर्मचारीबाट

मर्चवारीमा सुशासनको प्रयास जनप्रतिनिधिबाट नभई कर्मचारीबाट


पोसकान्त पोखरेल
बुटवल, साउन ६
रुपन्देहीको मर्चवारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सुशासनको सुरुवात गरिएको छ । त्यसमा गाउँपालिकाका कर्मचारी र स्थानीयले साथ दिएको दाबी गरिएको छ । आफूखुसी सरकारी रकम खर्च गर्न नपाएपछि जनप्रतिनिधिहरु भने रुष्ट देखिएका छन् । यद्यपि सुशासनको सुरुवात जनप्रतिनिधिबाट हुनुपर्ने स्थानीयको धारणा छ ।

तीन वर्षमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएपछि आएका नयाँ अधिकृत रामप्रसाद ज्ञवालीले आफूले कानुनअनुसार कामको सुरुवात गरेको र त्यसमा कर्मचारी तथा स्थानीयले साथ दिएको र पछिल्लो समयमा जनप्रतिनिधि पनि आफ्नो प्रयासमा सामेल भएको दाबी गरेका छन् । जनप्रतिनिधिहरुको मनलाग्दो प्रवृतिले गर्दा अनियमिततामा फसिने डरले कोही पनि बस्न नमान्ने उक्त गाउँपालिकामा गृह मन्त्रालयबाट सरुवा भई आएका ज्ञवालीको पटक पटक मन्त्रालयमा सरुवा गराउन माग जनप्रतिनिधले गरे पनि सरुवा नहुँदा जनता खुशी र जनप्रतिनिधि तनावमा परेका हुन् ।

गत माघ १५ गते गाउँपालिकामा हाजिर भएका ज्ञवालीले कार्यालयमा भएको स्वागत कार्यक्रममा नै कमिसन तथा पैसाको प्रलोभन देखाएर काम गर्ने मानसिकता राखेको भए त्याग्न आग्रह गर्दै कहीँकतै अनियमितता भएको देखिएमा सिधै कारबाहीको लागि सिफारिस गर्ने बताएका थिए । ज्ञवाली सबै जनतासँग विकास निर्माणका कामहरुमा सहयोग गर्न तथा योजनाअनुरुपमा काम नभएको र कमसल काम भएको छ भने खबर गर्न आग्रह समेत गर्छन् ।

गाउँपालिकाका काम कारबाहीहरुलाई सिस्टममा गर्ने योजनाअनुरुप कार्य सम्पादन गरेका ज्ञवालीले पहिलोपल्ट जनताले बुझेअनुसार योजना आयोजना तथा कार्यक्रमको स्थलगत अनुगमन गरी कमी कमजोरी र कैफियत सुधार गर्न लगाएका थिए । पुनः अनुगमन तथा पुनर्मूल्यांकन गरेर मात्र कार्यसम्पन्न गरी काम गरे जति योजनाहरुको मात्र भुक्तानी दिने परिपाटी बसालेका ज्ञवाली अनुगमन मूल्यांकनलाई केबल औपचारिकतामा सीमित नराखी जनताको गुणस्तरीय विकासप्रतिको चाहनालाई महत्वका साथ लिएर कडारुपमा अनुगमन कार्यमा प्रस्तुत भएको स्थानीयहरु बताउँछन् ।

गैरकार्यहरुमा पैसा काटियो भनेर गाउँपालिकाका जिम्मेवार पदाधिकारीले धम्की दिँदा समेत जिल्ला प्रशासनमा सुरक्षा र जिल्ला समन्वय समितिमा समन्वयको लागि अनुरोध गर्दै कार्यसम्पादन गरेका ज्ञवालीको स्थानीय तहमा कार्यअनुभव पहिलो भए पनि प्रभावकारी ढंगबाट सञ्चालन गर्न सफलता प्राप्त गर्दै गएका प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिल्लामा पहिचाहन बनाउन सफल भएका छन् ।

ज्ञवालीले अधिकांश कर्मचारीहरु भर्खर लोकसेवा पास गरेर आएका र आफ्नो पनि नयाँ अनुभव भएको हुँदा मर्चवारीजस्तो पद्धतिविहीन गाउँपालिकामा पद्धतिको निर्माण गर्न अति नै जटिल भएको बताए । उनले पाँच महिनाको अवधिमा पद्धति बसाल्न सफल भएको बताउँदै जनप्रतिनिधिले पनि विधिबमोजिमको कार्यमा अग्रसरता देखाएको र कानुनको सर्वोच्चता हुन्छ भनेर थोरै भए पनि बुझ्नसक्ने अवस्थाको सृजना भएको बताए । उनले भने, ‘गाउँपालिकामा कर्मचारीको टिमवर्क अति राम्रो छ ।

अधिकांश कर्मचारीहरु मेरै विद्यार्थी हुन् । उनीहरुलाई लोकसेवाको तयारी कक्षामा म आफैँ पढाएको र लोकसेवाको तयारी गर्दा अधिकांश अप्राविधिकतर्फका कर्मचारीले मैले लेखेकै अधिकृत र सुब्बाको किताब पढेर आएको हुनाले मेरो उद्देश्य र कार्यमा सदैव महत्वपूर्ण साथ दिए । मर्चवारीको कर्मचारी टिम अत्यन्त सुशासनमुखी भएर कार्यसम्पादन गर्नु भविष्यमा गाउँपालिकाको विकास समृद्धि र सुशासनको लागि कोशेढुंगा बन्न सक्नेछ ।’ भारतसँग सीमाना जोडिएको मर्चवारी गाउँपालिकाको अध्यक्ष केशवनन्द बनिया हुन् भने उपाध्यक्ष सुनिता कलवार छिन् । साबिकको सिलवटिया, रायपुर, सेमरा र बगोली गाविस मिलेर मर्चवारी गाउँपालिका बनाइएको हो । यो क्षेत्र रुपन्देहीमा दुर्गममा पर्छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x