Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिबन्धित माछा विराटनगर भन्सारको ग्रिनच्यानलबाटै जाँचपास

प्रतिबन्धित माछा विराटनगर भन्सारको ग्रिनच्यानलबाटै जाँचपास


विराटनगर, साउन ७
विराटनगर भन्सार र क्वारेन्टाइनका कर्मचारीको मिलेमतोमा नेपालमा आयातका लागि सिफारिस नगरिएको मंगुर जातको माछा मुख्य भन्सार नाका नै प्रयोग गरी ठूलो परिमाणमा आयात हुँदै आएको पाइएको छ । भन्सार नाका हुँदै गत शुक्रबार साउन २ गते भारतबाट आयात गरिएको पाँच हजार आठ सय २० केजी मंगुर जातको माछा जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरी नष्ट गरेपछि भन्सार कर्मचारी र क्वारेन्टाइन कार्यालयका कर्मचारीको कमाउ धन्दा छताछुल्ला भएको हो । उक्त माछा सुनसरी प्रहरीले नेपालमा ल्याउन प्रतिबन्धित भएको जनाउँदै बरामद गरी नष्ट गरिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतीय डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याएको मंगुर माछा बरामद गरी नष्ट गरेपछि कर्मचारी र व्यापारीको सेटिङमा विराटनगर भन्सारबाट जस्तो पनि सामान जाँचपास हुनेगरेको पाइएको हो । भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित माछा ल्याइएको पाइएपछि ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

एसडीआई एग्रो प्रालिका नाममा आयात गरिएको सो माछाको दुई लाख पाँच हजार रुपैयाँ भन्सार राजस्व बुझाइएको छ । भन्सारमा भरिएको प्रज्ञापनपत्रमा एसडीआईका प्रोप्राइटर विराटनगरका ऐसान मियाँ उल्लेख गरिएको सुनसरी प्रहरीले बताएको छ । माछा व्यापारी मियाँले भन्सार, राजस्व, विराटनगर महानगरपालिकालगायतका कार्यालयलाई सेवा शुल्क बुझाएका कागजपत्र पनि बरामद भएको प्रहरीको भनाइ छ । उक्त माछा आयात गर्नुअघि पशु क्वारेन्टाइन कार्यालय विराटनगरबाट अनुमति दिइएको छ ।

पशु क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक अरविन्दकुमार मण्डलले पशु स्वास्थ्य ऐनमा खाने माछा आयातमा रोक नलगाइएकाले सिफारिस गरिएको बताए पनि व्यापारीको पैसाको अगाडि नतमस्तक भएर प्रतिबन्धित माछा आयातमा सिफारिस गरेको स्रोतको दाबी छ । मंगुर माछा नेपाल आयातमा प्रतिबन्ध लगाइएको जानकारी आफूूहरूलाई नभएको भन्दै विराटनगर भन्सार कार्यालयका अधिृकत गोपी उप्रेतीले ताजा खाने माछा आयातका लागि क्वारेन्टाइन कार्यालयको सिफारिसलाई आधार मानेर प्रतिबन्धित माछा छोडिएको भन्ने हलुका जवाफ दिएपछि माछा व्यापारी र भन्सार कर्मचारीको सेटिङ उजागर भएको हो ।

प्रतिबन्धित माछा आयातको रहस्य खुलेसँगै भन्सार अधिकृत उप्रेती पनि विवादित बन्न पुगेका छन् । सो माछा विराटनगर भन्सारको ग्रीन च्यानलमार्फत आयात भएको भन्सारस्रोतले बताएको छ । ‘ग्रीन च्यानलमार्फत आएको मालवस्तुको जिम्मेवार आयातकर्ता नै हुने भएकाले डकुमेन्टका आधारमा भन्सार कार्यालयले जाँचपास गरेको भन्ने दाबी रहेको छ । प्रतिबन्धित माछा आयातको घटना सार्वजनिक भएसँगै मुख्य भन्सार नाकाको ग्रिन च्यानलबाटै कर्मचारीको मिलेमतोमा अवैध धन्दा भैरहेको पुष्टि भएको छ ।

माछा विशेषज्ञहरूका अनुसार मंगुर माछा मांसहारी जातको हो । यसले अन्य माछाहरूलाई खाने र जैविक विविधतामा विनास गर्ने भएकाले नेपालमा आयातका लागि सिफारिस नगरिएको दाबी गरेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख प्रमोद रिजालले मंगुर जातको माछा जिउँदो आयात गर्न सिफारिस नगरिएको जानकारी दिए । उनले क्याटफिस नेपालमा पाइने मुंग्री माछाजस्तै हो तर यो विकासे जातको भएकाले बढी विनास गर्छ । मंगुर जातको माछा अध्ययन अनुसन्धानका लागि मात्र ल्याउन सकिने र त्यसका लागि केन्द्रको सिफारिस अनिवार्य आवश्यक हुने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x