Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले विदेशमा थप २८ नेपालीको मृत्यु

कोरोनाले विदेशमा थप २८ नेपालीको मृत्यु


काठमाडौं, साउन १९
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा. सञ्जिव सापकोटाले बताए ।

अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरू बढी प्रभावित छन् । यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र एक सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

यसैगरि युरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरू एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ)मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारलगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरूमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, अमेरिकालगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरू भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार चार सय २४ जना नेपाल फर्किएका छन । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगलगायतसँगको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको उद्धारको लागि थप ५४ वटा उडान गर्न अनुमति दिएको छ ।

उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ । चौथो पटक अनुमति दिइएका मुलुक तथा सहरहरूमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, आबुदाबी र सारजाहा छन् । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x