Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्री कार्यालयका ६ जनासहित प्रदेश दुईमा १ सय ३ जना कोरोना संक्रमित थपिए

मुख्यमन्त्री कार्यालयका ६ जनासहित प्रदेश दुईमा १ सय ३ जना कोरोना संक्रमित थपिए


बटुकनाथ झा
जनकपुरधाम, साउन २०
प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीसहित एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरू २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले जानकारी दिए । झाका अनुसार संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । उनीहरू २३ देखि ७२ वर्ष उमेर समूहका छन् । प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा अस्पतालका १७ जनामा संक्रमण पुष्टि भएको हो । चिकित्सकसहित अन्य कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पताल सिल गरिएको छ ।

चिकित्सक र कर्मचारीबाहेक अस्पतालमा उपचारका लागि आएका केही बिरामीहरूमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ । प्रादेशिक अस्पतालस्थित कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले पछिल्लो तीन दिनमा अस्पतालका दुई चिकित्सकसहित १७ जना कर्मचारी र केही बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिए । अस्पतालको आईसीयू, आकस्मिक तथा वार्डमा भर्ना केही बिरामीहरूमा संक्रमण पुष्टि भएको उनले बताए । यसैगरी अस्पतालमा कार्यरत नर्स, सफाइ कर्मचारीहरूमा समेत संक्रमण देखिएको डा. सिंहले बताएका छन् । त्यस्तै जनकपुरधामस्थित ग्लोबल आईएमई बैंकका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ । उनीहरूको थप विवरण पत्ता लगाउने काम भइरहेको छ ।

सोमबार प्रदेश २ मा मात्रै १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्ला गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ को कोरोना संक्रमितको संख्या हालसम्म पाँच हजार नौ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ देखि २४ का ९ महिला र १५ पुरुष गरी २४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी धनुषाको विदेह नगरपालिका, महेन्द्रनगर, बेंगाडाबर, सुन्दरपुर, सबैला नगरपालिका र मुखियापट्टी मुसहरनियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यता महोत्तरीको सीतापुर भंगहा, पिपरा गाउँपालिका, लोहारपट्टी नगरपालिकाको भ्रमरपुराका १÷१ र जलेश्वर नगरपालिकाका २७ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ । बाराको इतियाही, गढीमाइ नगरपालिका र ठाउँ नखुलेको १/१ जना गरी तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैगरी पर्साको वीरगंज महानगरपालिकाका ३२, जिल्ला प्रहरी कार्यालय पर्सा, श्रीपुर प्रहरी चौकी, तीहकी, सखुवा प्रसौनी गाउँपालिका, ठाउँ नखुलेको र सेनवरियाका १/१ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ । सिरहाको कर्जनहा र सर्लाहीको गोडैता नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x