Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउने जिम्मा ऊर्जालाई

डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउने जिम्मा ऊर्जालाई


काठमाडौं, साउन २३
लोडसेडिङको बेला २० घण्टाभन्दा बढी समय डेडिकेटेड तथा ट्रङ्क लाइनबाट बिजुली उपभोग गर्न पाउने केही निश्चित उपभोक्ताको महशुलसम्बन्धी विवाद ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नै टुंगो लगाउनुपर्ने भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७७ ले पनि उक्त महशुल उठाउन भनेको छ । तर, डेडिकेटेड तथा ट्रङ्क लाइनबाट बिजुली उपभोग गर्न पाउने उक्तभोक्ताले भने तिर्न मानिरहेका छैनन् ।

विवाद बढ्दै गएपछि सरकारले २०७६ पुस २१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा अर्थ, उद्योग मन्त्रालयका सचिव रहने गरी समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन केही दिन पहिले मन्त्रिपरिषद्मा पेश भएको थियो । मन्त्रिपरिषद्को यही साउन १९ गतेको बैठकले उक्त प्रतिवेदन स्वीकृत गरी आवश्यक कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

समितिले विद्युत्भार कटौती पूर्ण रुपमा हट्नुअघिको विद्युत् महशुल उद्योगीले तिर्नुपर्ने सुझाव दिएको थियो । ऊर्जा मन्त्रालयको प्रस्तावमा प्राधिकरणले २०७५ जेठदेखि पूर्ण रुपमा विद्युत्भार कटौती अन्त्य गरेको थियो । २०७२ सालदेखि २०७५ जेठसम्म उद्योगी तथा व्यवसायीले लिएको डेडिकेटेड तथा ट्रङ्क लाइनको महशुल उद्योगी तथा व्यवसायीले तिर्नुपर्ने निर्णय भएको छ ।

प्राधिकरणले पनि डेडिकेटेड र ट्रङ्क लाइनको महशुल विवादका सम्बन्धमा सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वको समितिमार्फत अध्ययन गरेको थियो । यस्तै, सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले उठाउन बाँकी रहेको महशुल उठाउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको थियो । उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा खतिवडालाई भेट गरी समस्या समाधानका लागि आग्रह गर्दै आएका थिए ।

महशुलका सम्बन्धमा चित्त नबुझेको खण्डमा प्राधिकरणको पुनरावलोक समितिमा नगई उद्योगी तथा व्यवसायीले देशका विभिन्न उच्च अदालतमा मुद्दा दायर गरेका थिए । कुल २६ वटा मुद्दामध्ये २० वटामा अदालतले पुनरवलोकन समितिमा जान र नियमानुसार महशुल तिर्नुपर्ने फैसला गरिदिएको थियो । उद्योगी व्यवसायीले भने आफूहरुले प्रयोग नै नगरेको महशुल तिर्न भन्दै प्राधिकरणले बिल पठाएकोमा आक्रोश व्यक्त गर्दै आएका थिए ।

पछिल्लो पटक प्राधिकरणले प्रस्ताव गरेअनुसार विद्युत् नियमन आयोगले गत असार १ गतेदेखि लागू हुने गरी डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी व्यवस्था खारेज गरिदिएको छ । साउन १ गतेदेखि नयाँ महशुल दरसमेत लागू भइसकेको छ । प्राधिकरणले विद्युत्भार कटौतीको अन्त्य भएसँगै विशेष व्यवस्थाको डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी व्यवस्था हटाउन खोजेको थियो तर, विद्युत् नियमन आयोग गठन नहुँदा प्राधिकरणको निर्णय कार्यान्वयनमा जानसकेको थिएन ।

प्राधिकरणका अनुसार २०७५ चैत मसान्तसम्ममा २३९ ग्राहकले डेडिकेटेड र ६९ ग्राहकले ट्रङ्क लाइनमार्फत बिजुलीको अतिरिक्त सुविधा लिएको राससले जनाएको छ । त्यसमा डेडिकेटेडभन्दा ट्रङ्क लाइनमा बढी समस्या छ । प्राधिकरणले नियमिततर्फको महशुल उठाए पनि डेडिकेटेड र ट्रङ्क लाइनको थप महशुल भने उठाउन समस्या रहँदै आएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x