Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा थप ८७ सहित तीन सय ६० जनामा कोरोना, शैक्षिक संस्था र विमानस्थल नखुल्ने संकेत

काठमाडौंमा थप ८७ सहित तीन सय ६० जनामा कोरोना, शैक्षिक संस्था र विमानस्थल नखुल्ने संकेत


काठमाडौं, साउन २३
काठमाडौं उपत्यकामा बिहीबार थप ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधबारदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा उक्त संक्रमित फेला परेका हुन् । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै जनमानसमा त्रास बढेको छ । सरकारले बुधबारदेखि नै सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेर मानिसको आवतजावतमा कडाइ गर्न सुर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुनसक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । कोरोनाको औषधि पत्ता नलागिसकेकोले सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा ८७ जनासहित देशभर थप ३ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २१ हजार सात सय ५० जना पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या भने छ हजार दुई सय ९६ छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा दुई सय ३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार तीन सय ८९ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा थप पाँच जनाको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५/४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो । उनीहरु सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ ।

देशभर कोरोनाको जोखिम बढिरहेका बेला मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतजस्तो देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन् । कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने मन्त्री खतिवडाको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेका छन् ।

मन्त्री डा. खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताए । अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उनको भनाइ छ । सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाइ उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो । सङ्क्रमणको मात्रा बढ्दै जाँदा अब ती क्षेत्रबारे सरकारले के निर्णय गर्ला भन्ने आम जिज्ञासा बढेको बेला मन्त्री खतिवडाले अहिलेको अवस्थामा ती क्षेत्र खुला गर्ने अवस्था नआएको र पुनर्विचार हुनसक्ने बताए ।

मन्त्री खतिवडाले ‘सीसीएमसीको बैठकमा आवश्यक समीक्षासहित मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । मन्त्री खतिवडाले विदेशबाट आउन चाहने नेपाली नागरिकको हकमा समेत आवश्यक निर्णय हुने जानकारी दिए । ‘उद्धार गर्नैपर्नेलाई ल्याउनु नै पर्छ, तर केही समय त्यहाँ बस्दा सुरक्षित हुनेलाई अवस्था केही सहज भएपछि ल्याउने पक्षमा छौँ’, मन्त्री खतिवडाले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x