Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्त र लालझाडीमा कोरोना रोक्न सवा दुई करोड खर्च

भीमदत्त र लालझाडीमा कोरोना रोक्न सवा दुई करोड खर्च


धन बहादुर जप्रेल
कञ्चनपुर, साउन २८
कञ्चनपुरको लालझाडी गाउँपालिका र भीमदत्त नगरपालिकाले कोरोना प्रतिकार्यका लागि सवा दुई करोड खर्च गरेको छ । लालझाडी गाउँपालिकाले कोरोना रोकथामका लागि ५९ लाख १७ हजार आठ सय ९९ रूपैँया खर्च गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको कोरोना खर्चको विवरणअनुसार गत आर्थिक वर्ष २०७६/०७७ चार महिनाको अवधिमा ५९ लाख १७ हजार आठ सय ९९ रूपैयाँ मात्रै खर्च गरेको हो । क्वारेन्टाइन व्यवस्थापन सञ्चालनमा दुई लाख ७८ हजार एक सय ८५ रुपैयाँ, राहत वितरणमा १३ लाख ६६ हजार आठ सय ६६ रुपैयाँ, स्वास्थ्य समग्रीमा आठ लाख ७९ हजार सात सय ८४ रुपैयाँ, क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्चमा २० लाख ६९ हजार ८४ रुपैयाँ खर्च गरेको छ ।

यस्तै जोखिम भत्तामा पाँच लाख २३ हजार चार सय ८० रुपैयाँ, यातयात खर्च तीन लाख ५० हजार रुपैयाँ, एम्बुलेन्स सञ्चालनमा तीन लाख ५० हजार रुपैयाँ, आइसोलेसन तयारी तथा व्यवस्थापनमा चार लाख १५ हजार पाँच सय रूपैयाँ खर्च भएको छ । गाउँपालिकामा प्रदेश, संघ सरकारलगायत अन्य सहयोगी संस्थाबाट ६७ लाख ७५ हजार नौ सय ३१ रूपैया आम्दानी भएको थियो ।

यस्तै भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि डेढ करोड बढी खर्च गरेको छ । कोरोना संक्रमण फैलिएपछि गत वर्ष फागुनदेखि असार मसान्तसम्म एक करोड ६९ लाख ४७ हजार खर्च गरेको जनाएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण नगरपालिकाले गत फागुन तेस्रो सातादेखि नै कोरोना संक्रमण रोकथामका लागि कार्यक्रम गरेको थियो । भीमदत्तमा राहत खरिदमा तथा वितरणमा सबैभन्दा बढी खर्च गरिएको छ । राहत वितरणमा ६० लाख रुपैयाँ खर्च गरिएको छ ।

भीमदत्तका सबै १९ वडाका सात हजार बढी परिवारलाई राहत वितरण गरिएको थियो । स्वास्थ्य सामग्री खरिदमा ४७ लाख २९ हजार रुपैयाँ, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा ३८ लाख १७ हजार रुपैयाँ र सचेतनामूलक कार्यक्रममा १३ लाख खर्च गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यातायात र स्यानिटाइजेरिङमा पनि खर्च गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले पश्चिमी सीमा नाका कारण कोरोनाको उच्च जोखिममा भएकाले फागुनदेखि संक्रमण रोकथामका कार्यक्रम सञ्चालन गरिएको बताए । ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रण हुनेगरी मितव्ययीरूपमा खर्च गरिएको छ’ प्रवक्ता चन्दले भने ।

अहिलेसम्म कोरोना खर्च बाहिर आएका स्थानीय तहमा भीमदत्तमा सबैभन्दा बढी खर्च भएको छ । अहिलेसम्म बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाको कोरोना खर्च बाहिर आएको छ । खर्च बाहिर आएका स्थानीय तहमध्ये भीमदत्तको जोखिम र भूगोलका आधारमा बढी खर्च गरिएको हो । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी पीसीआर मेसिन खरिद गरी जडान गर्न लागेको जानकारी दिए । ‘यसबाट कोरोना संक्रमण परीक्षणको दायर बढ्छ’ उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x