Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारत निकासी हुँदै गरेको हरियो मटर र गाडी प्रहरीको नियन्त्रणमा

भारत निकासी हुँदै गरेको हरियो मटर र गाडी प्रहरीको नियन्त्रणमा


विराटनगर, साउन २८
विराटनगरका व्यापारीहरू तेस्रो मुलुकबाट हरियो मटर नेपाल ल्याएर अवैधरूपमा भारतमा निकासी गर्न थालेका छन् । यहाँका व्यवसायीहरूले पाकिस्तान र अष्ट्रेलियाबाट हरियो मोटर नेपाल ल्याएर अवैधरूपमा भारतमा निकासी गर्नेगरेको पाइएको हो । केही दिनअघि मोरङ जिल्लाको धनपालथान गाउँपालिका–२ मा रहेको नेपालतर्फको सीमावर्ती क्षेत्र पौठाबाट अवैधरूपमा भारततर्फ लाँदै गरेको हरियो मटरसहित लोड गरिएको ट्रक मोरङ प्रहरीले नियन्त्रणमा लिएपछि उक्त कारोबारको रहस्य सार्वजनिक भएको हो ।

मोरङ जिल्लाको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गर्न लागिएको पाँच लाख रुपैयाँबराबरको छ हजार दुई सय ५० किलोग्राम हरियो मटर मोरङ प्रहरीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले नेपालतर्फ रहेको मायागञ्ज प्रहरी चौकीका प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको टोलीले हरियो मटर पक्राउ गरेको जानकारी दिए ।

हरियो मटरका कारोबारीले घटनास्थलमा प्रहरी टोली पुगेको देख्नेबित्तिकै हरियो मटर लोड गरिएको को १ ख ४८८७ नम्बरको मिनी ट्रक छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राईले जानकारी दिए । विराटनगरका हरियो मटरका ट्रेडिङ कारोबारी व्यापारीले धनपालथान गाउँपालिका वडा नं. २ बस्ने दिलिप साहको नाममा बिल काटी भारततर्फ निकासीका लागि नेपाल भारतको बोर्डरमा पु-याएको हुनसक्ने प्रहरीले बताएको छ । अहिले हरियो मटरमा नाम भएका व्यक्ति साहसमेत फरार भएपछि हरियो मटर तस्करीको सञ्जाल भारतीय बोर्डरमा रहेको मोरङ जिल्लाका विभिन्न स्थानसहित विराटनगरमा सक्रिय रहेको दाबी समाचारस्रोतले गरेको छ ।

भारत र पाकिस्तानबीचमा उत्पन्न तनावले गर्दा भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले प्रतिबन्ध लगाएका कारण पछिल्लो समय नेपालका ट्रेडिङ कारोबारीहरूले नेपालमा आयात गरी स्टोर गरिएको हरियो मटर अवैध बाटो हुँदै भारततर्फ निकासी गर्न थालेका छन् । भारततर्फ निकासीपछि नेपाली बजारमा हरियो मटरको मुल्यवृद्धि हुनपुगेको छ ।

लामो समयदेखिको बन्दाबन्दी र विराटनगर महानगरपालिकाको लकडाउनका कारण निर्बादरूपमा आयात भएको हरियो मटर पछिल्लो केही दिनयता अवैध बाटो हुँदै भारततर्फ निकासी हुनथालेपछि मटरको मूल्य प्रतिकेजी ७३ रुपैयाँबाट बढेर एक सय रुपैयाँभन्दा माथि पुगेको छ । हरियो मटर भारतले नेपाली निकासीलाई प्रतिबन्ध लगाएको जानकारी पनि ब्यापारीस्रोतले दिएको छ । जसले गर्दा नेपाल भन्सारले हरियो मटर निकासीलाई रोकेको छ ।

गत चैत्र ११ गतेदेखि नेपालमा भएको पाँच महिनालामो बन्दाबन्दी र पछिल्लो समय महानगरपालिकाको लकडाउनले गर्दा लामो समयदेखि भारतलगायत तेस्रो मुलुकबाट समयअनुकूलको कारोबार गर्दै आएका ट्रेडिङ फर्महरू पछिल्लो समय सुपारी, इलाची, काजुकिसमीस र गोलमरिचको कारोबारमा संलग्न हुँदै आएको बताइएको छ । तर पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावका कारण पाकिस्तानबाट भारतमा आयात हुँदै आएको हरियो मटरमा समेत भारत सरकारले प्रतिबन्ध लगाएका कारण नेपाली ट्रेडिङ फर्मका सञ्चालकहरू हरियो मटर आयातमा आकर्षित बन्न थालेको व्यवसायीले बताएका छन् ।

केही दिनयता भारतमा मटरको कारोबारमा सक्रिय एक व्यवसायी विराटनगरको तीनपैनीमा रहेको इस्टन सीटी अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर हरियो मटरको कारोबार गर्ने काममा सक्रिय भएका छन् । ती हरियो मटरका भारतीय कारोबारीलाई फ्ल्याट खोजेर राख्ने काम पनि नेपाली कारोबारीले नै गरेको स्रोतको दाबी छ ।

विराटनगरमा आफूलाई प्रतिष्ठित दर्जाको व्यवसायी भन्न रुचाउने विराटनगरका ट्रेडिङ कारोबारका व्यापारी नै पछिल्लो समय हरियो मटर तस्करीमा संलग्न छन् । विराटनगरबाट ट्रेडिङको कारोबारमा संलग्नहरू दिनेशकुमार राठी, शंकरलाल अग्रवाल र खेमचन्द जैन पछिल्लो समय हरियो मटर आयातमा सक्रिय रहेको स्रोतको दाबी छ । भारतमा दैनिक हरियो मटरको माग अत्यधिक भएका कारण अहिले नेपाली व्यवसायीहरू तेस्रो मुलुकबाट मटर आयात गरी बोरा पल्टी गरेर पुनः नेपालबाट भारततर्फ नै पठाउने काममा सम्लग्न छन् ।

नेपालमा प्रतिकेजी ७० रूपैयाँमा बिक्री हुँदै आएको मटर भारतमा भारु ९० प्रतिकेजी बिक्री हुँदै गरेको कारण बढी मुनाफाका लागि व्यवसायीले हरियो मटर अवैध नाका भएर भारत निकासी सुरु गरेको व्यवसायीस्रोतले जानकारी दिएको छ । शत प्रतिशत मुनाफा खान पाइने भएको हुँदा अहिले व्यवसायीहरू तेस्रो मुलुकबाट मटर आयात गरी भारततर्फ कारोबारमा सक्रिय हुनथालेको बताइन्छ । नेपाली व्यवसायीले पाकिस्तान र अष्ट्रेलियाबाट हरियो मटर आयात गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x