Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुग्ण उद्योगलाई पुनर्जीवन दिने तयारी

रुग्ण उद्योगलाई पुनर्जीवन दिने तयारी


काठमाडौं, साउन २९
चुनावी एजेन्डाजस्तो बनेको रुग्ण उद्योग सञ्चालनको विषय पुनः एकपटक प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उठाएको छ । सरकारले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन एउटा समिति समेत निर्माण गरेको छ । उक्त समितिमा सरकारले पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको उद्योग मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए । जसमा सचिव सुवेदीका साथै कृष्णप्रसाद आचार्य, वित्त विज्ञ सदस्य डा. गोपालप्रसाद भट्ट, बैंकिङ विज्ञ सदस्य जीवराज कोइराला, उद्योग तथा वाणिज्य विज्ञ सदस्य राममणि दुवाडी, कर विज्ञ सदस्य र औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।

समितिले औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार नेपाल सरकारको लगानीमा स्थापित यस मन्त्रालय सम्बद्ध उद्योगहरु र निजी क्षेत्रको हकमा संघीय सरकारको अधिकार क्षेत्रमा पर्ने उद्योगको भौतिक, वित्तीय, प्रविधिगत, व्यवस्थापकीय लगायतका पक्षको परिश्रम लेखा परिक्षा (डीडीए) विश्लेषण गरी रुग्ण उद्योगहरुको पहिचान गर्नुपर्नेछ भने सरकारको लगानी भएका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगहरुको रुग्णताको अवस्थाको छुट्टाछुट्टै अध्ययन गरी सोको कारण र यस प्रकृतिका उद्योगहरुको पुनरुत्थान, सुदृढीकरण, सञ्चालन एवं व्यवस्थापन गर्न अपनाउनुपर्ने मोडालिटी समेत उक्त समितिले तयार गर्नुपर्ने अधिकार प्रदान गरिएको छ ।

त्यसैगरी समितिले निजी क्षेत्रका पूर्ण रुग्ण, रुग्ण र रुग्ण उद्योगहरुमध्ये सम्भाव्य त्यस्ता उद्योगहरुलाई पुनरुत्थान, पुनर्निर्माण र व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित उद्योग र नेपाल सरकारले लिनुपर्ने पहलकदमीबारे सिफारिस गर्नेछ भने पूर्ण रुग्ण, रुग्ण तथा रुग्ण उन्मुख उद्योगले पाउनुपर्ने थप छुट, सुविधा वा सहुलियतसम्बन्धी नीतिगत, कानुनी एवम् व्यवस्थापकीय विषयमा गर्नुपर्ने सुधारको समेत सिफारिस गर्ने सहसचिव रेग्मीले बताए ।

सहसचिव रेग्मीका अनुसार सरकारले समितिलाई अध्ययनको क्रममा ती उद्योगहरुको भ्रमण गरी आवश्यक कागजात माग गर्ने समेत अधिकारी प्रदान गरेको छ । कार्य सम्पादन गर्ने सन्दर्भमा समितिले सम्बन्धित निकाय वा पदाधिकारीसँग आवश्यक विवरण जानकारी वा कागजात माग गर्न तथा उद्योगको स्थलगत भ्रमण गर्नसक्ने अधिकारी सरकारले प्रदान गरेको छ ।

हरेकजसो सरकारले रुग्ण उद्योगको पहिचान गरी सञ्चालन गर्ने बताउँदै आए पनि सो कार्यले हालसम्म पूर्णता लिन नसक्दा वर्तमान सरकारले रुग्ण उद्योग सञ्चालनको लागि गठन गरेको समितिले अध्ययन गरी उद्योग सञ्चालन हुन्छ भन्ने विषयमा सरोकारावालाका साथै आम नागरिक आश्वस्त हुनसक्ने अवस्था छैन जसको मुख्य कारण भनेको हरेक सरकारले सो विषय उठान गर्ने र कार्यान्वयन समस्याका कारणले गर्दा समस्या भएको सरोकारावालाहरु बताउँछन् ।

हेटौँडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायतका उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेका छन् भने रुग्ण उद्योगहरुमा विराट लेदर इन्डस्ट्रिज, विराट सू इन्डस्ट्रिज लिमिटेड, सुमी फर्मास्युटिकल्स प्रालि, फ्ल्युर हिमालयन लिमिटेड, नेपाल बोडर्स लिमिटेड, गैंडा वाइल्ड लाइफ क्याम्प प्रालि, द फूलबारी रिसोर्ट लिमिटेड र डलफिन्स मैनर होटल प्रालिहरु रहेका छन् । पछिल्लो समय भने सरकारले रुग्ण तथा बन्द उद्योगहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्ने बताउँदै आएको छ । यदि सरकारको सो योजना सही रुपमा अघि बढे कोभिड १९ का कारण बेरोजगार बन्नपुगेका नागरिकहरुलाई लाभान्वित हुनपुग्थे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x