Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामदारको पीसीआर गर्न उद्योगी-व्यवसायीलाई निर्देशन

कामदारको पीसीआर गर्न उद्योगी-व्यवसायीलाई निर्देशन


काठमाडौं, साउन २९
सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटललगायतका व्यवसाय र उद्योगमा कार्यरत व्यक्तिहरुको आफ्नै खर्चबाट तत्काल कोभिड–१९ को पीसीआर गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार बेलुकी जारी विज्ञप्तिमा सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था रहेको भन्दै उनीहरुको पीसीआर गर्न सम्बन्धित व्यवसायीलाई भनिएको हो । साथै विज्ञप्तिमा कोभिड–१९ नेगेटिभ भएका व्यक्तिहरुले मात्रै कामकाज गर्ने व्यवस्था गर्नु गराउनुहुन अनुरोध गरेको छ ।

मानिसको भीडभाड हुने ठाउँहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै मृत्युको संख्या पनि बढ्नथालेको हो । मंगलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिमा ११ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा २४ घण्टाको अवधिमा आठ जनाको मृत्यु भएको जानकारी दिएको थियो । त्यसपछि पनि थप व्यक्तिको मृत्यु भएको जानकारी आएको छ । पछिल्लो आठ दिनमा ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । ३६ जनामध्ये १७ जनाको त काठमाडौं उपत्यकाका अस्पतालहरुमा मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । बुधबार साँझसम्म महोत्तरी, बाराको विश्रामपुर र मोरङमा थप एक व्यक्तिको मृत्यु भएको छ । सोमबार मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षका पुरुषमा पनि बुधबार साँझ कोरोना पुष्टि भएको जनाइएको छ । त्यस्तै, बाराका विश्रामपुरका ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि बुधबार नै कोरोना पुष्टि भएको छ । उनी मंगलबार दिउँसो वीरगञ्जको नगवास्थित सडकमा मृत भेटिएका थिए ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्राविधिकको पनि बुधबार कोशी अस्पताल कोभिड १९ उपचकार केन्द्रमा मृत्यु भएको छ । ५७ वर्षका ती पुरुषलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । उनको निधनप्रति प्राधिकरणका कर्मचारीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जलि दिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा यी तीन जना मृतकबारे मन्त्रालयले जानकारी दिएको थिएन ।

यस्तै, पछिल्लो २४ घण्टामा थप चार सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर परीक्षण गर्दा चार सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । योसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र एक सय नौ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको बताए ।

पछिल्लो समय कोरोना भाइरसमुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार सात सय २८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार छ सय १३ जना सक्रिय सङ्क्रमित छन् । आजसम्म चार लाख ७२ हजारभन्दा बढीको पीसीआर विधिबाट परीक्षण गरिएको छ । बुधबारसम्म ९१ जनाले कोरोनाबाट जीवन गुमाएका छन् ।

कोरोनाको कारण कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरू पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरू पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरू सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरू सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x