Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुको नाफा घट्यो कुन बैंकको नाफा कति ?

बैंकहरुको नाफा घट्यो कुन बैंकको नाफा कति ?


काठमाडौं,३२ साउन ।

विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को कारण बैंकहरुको नाफामा ठूलो गिरावट आएको छ । सरकारले महामारी नियन्त्रण तथा रोकथामको लागि २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको र त्यो लकडाउन घोषित तथा अघोषितरुपमा अझै पनि कायमै छ । सोही कारण यसको नकारात्मक प्रभाव मुुलुकको सिंगो अर्थतन्त्र अर्थात् भनौँ वित्तीय प्रणालीमा पर्दा बैंकहरुको नाफामा ठूलो गिरावट आएको हो ।

साउन ३१ गतेसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये २६ वटाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त विवरणअनुसार गत आवको चौथो त्रैमासिकसम्ममा २६ वटा वाणिज्य बैंकहरुले जम्मा ५० अर्ब ८४ करोड ८० लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो मुनाफा अघिल्लो आवको सोही अवधिको तुुलनामा छ अर्ब ६५ करोड चार लाख ८८ हजार रुपैयाँले कम हो । अघिल्लो आवको सोही अवधिमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले मात्र ५७ अर्ब ४९ करोड ८५ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सोही कारण तेस्रो र चौथो त्रैमासिकमा बैंकहरुको निक्षेप तथा कर्जा विस्तार ठूलो गिरावट आयो भने सबै उद्योग तथा व्यापार व्यवसाय सबै नै ठप्प भयो । यसले गर्दा आमग्राहकको कर्जा तिर्नसक्ने क्षमतामा ह्रास आउँदा बैंकहरुको ब्याज आम्दानी घटेको र यसको प्रत्यक्ष असर बैंकहरुको खुद मुनाफामा परेको हो । गत आवको तेस्रो त्रैमासिकमा पनि बैंकहरुको नाफामा कोभिड १९ को असर देखिसकेको थियो । उक्त अवधिमा २७ वटा वाणिज्य बैंकहरुले जम्मा ४४ अर्ब १४ करोड १७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । बैंकहरुले आर्जन गरेको उक्त मुनाफा अघिल्लो आवको सोही अवधिको तुुलनामा आठ अर्ब ४५ करोड रुपैयाँले कम रहेको थियो । अघिल्लो आवको तेस्रो त्रैमासिकमा २७ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ५९ करोड ४३ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

हालसम्म २६ वटा बैंकहरुले गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाधबाहेक सबैजसो बैंकहरुको खुद मुनाफा घटेको छ । अघिल्लो आवको तुलनामा नाफा घटेको भए पनि गत आवको चौथो त्रैमासिकमा सबैभन्दा बढी खुद मुनाफा कमाउने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक पहिलो स्थानमा परेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आवको चौथो त्रैमासिकमा चार अर्ब ४५ करोड २५ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा पाँच अर्ब चार करोड ६५ लाख २० हजार रुपैयाँ रहेको थियो । सोपश्चात् बढी नाफा कमाउनको सूचीमा दोस्रो स्थानमा नबिल बैंक परेको छ । अघिल्लो आवको चौथो त्रैमासिकमा चार अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको नबिलले गत आवको चौथो त्रैमासिकमा तीन अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको एनआईसी एसिया बैंकले प्रतिकूल अवस्थामा पनि खुुद मुनाफा सामान्यरुपमा बढाएको छ । अघिल्लो आवको चौथो त्रैमासिकमा तीन अर्ब दुुई करोड ३२ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको एनआईसी एसियाको नाफा बढेर गत आवको चौथो त्रैमासिकमा तीन अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ पुुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित ग्लोबल आईएमई बैंकले पनि कोभिड १९ का बाबजुद पनि खुद मुनाफा बढाएको छ । अघिल्लो आवको चौथो त्रैमासिकमा दुुई अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको ग्लोबल आईएमईको नाफा बढेर गत आवको चौथो त्रैमासिकमा तीन अर्ब आठ करोड ८० लाख ४२ हजार रुपैयाँ पुुगेको छ । केही वर्षअघिसम्म पनि खुद मुनाफा आर्जनमा सधैँ तेस्रो स्थानमा पर्ने गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले भने गत आवको चौथो त्रैमासिकमा दुुई अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा तीन अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ रहेको थियो । यीबाहेक नेपाल बैंक, हिमालयन बैंक र एभरेष्ट बैंकले पनि गत आवको चौथो त्रैमासिकमा दुुई अर्ब ५० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएका छन् ।

अघिल्लो आवको सोही अवधिमा नेपाल बैंक र हिमालयन बैंकको नाफा दुुई अर्ब ५० करोड रुपैयाँको हाराहारीमा रहेको थियो भने एभरेष्ट बैंकको नाफा तीन अर्ब रहेको थियो । गत आवको चौथो त्रैमासिकमा प्राइम कमर्सियल बैंक, एनएमबी बैंक र र सिद्धार्थ बैंकले भने क्रमशः दुुई अर्ब २९ करोड, दुुई अर्ब २७ करोड र दुुई अर्ब नौ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको नाफा क्रमशः दुुई अर्ब १९ करोड, दुुई अर्ब २५ करोड र दुुई अर्ब २५ करोड नै रहेको थियो ।

यीबाहेक स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल एसबीआईसहितका १२ वटा बैंकहरुले भने गत आवको चौथो त्रैमासिकमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सोमध्ये स्ट्यान्डर्ड चार्टर्डले एक अर्ब ९८ करोड, सानिमाले एक अर्ब ७० करोड, नेपाल एसबीआईले एक अर्ब ५३ करोड, मेगाले एक अर्ब ५२ करोड, लक्ष्मीले एक अर्ब ४८ करोड र बैंक अफ काठमाडौंले एक अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको नाफा क्रमशः दुुई अर्ब ४३ करोड, दुुई अर्ब २५ करोड, दुुई अर्ब २९ करोड, एक अर्ब ६२ करोड, एक अर्ब ५९ करोड र एक अर्ब ८९ करोड रुपैयाँ रहेको थियो । यसैगरी सनराइज बैंक, प्रभुु बैंक, माछापुुच्छे« बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, एनसीसी बैक र सिटिजन्स बैंकको नाफा पनि गत आवको चौथो त्रैमासिकमा एक अर्ब रुपैयाँभन्दा बढी छ । अघिल्लो आवको सोही अवधिमा पनि यी बैंकहरुको नाफा एक अर्ब ५० करोड रुपैयाँ हाराहारीमा थियो ।

यीबाहेक सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकको नाफा भने एक अर्ब रुपैयाँभन्दा तल छ । सेञ्चुरीले गत आवको चौथो त्रैमासिकमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने सिभिलले ४५ करोड ७० लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुुई बैंकहरुको नाफा क्रमशः ६७ करोड ६४ लाख आठ हजार र ७० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x