Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल आयल निगमको भलबारी डिपोमा उलेख्य सुधार

नेपाल आयल निगमको भलबारी डिपोमा उलेख्य सुधार


पोसकान्त पोखरेल
बुटवल, साउन ३२
पछिल्ला दुई वर्षमा नेपाल आयल निगम प्रदेश नं. ५ प्रादेशिक कार्यालय भलबारी रूपन्देहीमा उलेख्य सुधार आएको छ । दुई वर्षअघि केन्द्रीय कार्यालयबाट सरुवा भई आएका इन्जिनियर तथा कार्यालयका कार्यालय प्रमुख सुरज शाह आएसँगै देखिने र नदेखिने दुवैरूपमा उलेख्य सुधार आएको हो ।

विगतमा कार्यालयको हाताभित्र झाडी, जताततै फोहर, भित्ताहरूमा पान र गुट्का खाएर धुकेका धुकका टाटाहरू, गनाउने र फोहर शौचालय, जीर्ण संरचना, पार्किङको अभाव, चमेना गृहको अभावजस्ता समस्याहरू देखिने कार्यालय अहिले सफा, शान्त र व्यवस्थित देखिएको छ ।

कार्यालय प्रमुख सुरज शाहका अनुसार विगतको तुलनामा आयल निगमको भलबारी डिपोमा धेरै कुराहरूमा सुधार आएको छ । शाहले विगतमा देखिएको पार्किङ समस्यालाई समाधान गर्न एक सयभन्दा बढी ट्याङ्कर पार्किङ गर्न मिल्ने पार्किङ याड निर्माण सम्पन्न हुनलागेको जानकारी दिए । साथै तारले घेरिएको कम्पाउण्डलाई मूल गेटबाट बाहेक भित्र प्रवेश गर्न नमिल्ने गरी १२ फिट उचाइ भएको बाउण्ड्री वाल निर्माणको काम पनि सम्पन्न हुनलागेको बताए ।

उनले चारवटा मात्र लोडिङ–अनलोडिङ प्वाइन्टमा हुँदा मध्यरातसम्म लोड–अनलोड गरेर इन्धन पठाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै निर्धारित समयभित्रै लोड–अनलोड गरी सम्बन्धित डिलरमा इन्धन पु-याउने उद्देश्यले छवटा लोडिङ र अनलोडिङ प्वाइन्ट थप्ने कार्य भइरहेको बताए । अग्नि नियन्त्रणको लागि सुरक्षा सावधानी पनि मजबुत बनाइएको जानकारी गराउँदै शाहले फायर सेफ्टीको लागि सम्पूर्ण पाइपलाइनहरू परिवर्तन, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अर्थिङ प्रणालीलगायतका कुराहरूमा आवश्यकताअनुसार व्यवस्थित गरेको बताए ।

इन्धन भण्डारण क्षमतामा पनि वृद्धि गरेको जानकारी गराउँदै शाहले एक लाख ४० हजार लिटर मात्र पेट्रोल भण्डारण क्षमतालाई वृद्धि गरेर पाँच लाख २० हजार लिटरसम्म भण्डारण गर्न सक्नेगरी योजना अगाडि बढाएको बताए । शाहले भने, ‘डिजल भण्डारणको क्षमता ३० लाख लिटरभन्दा बढी भए पनि पेट्रोल भण्डारणको क्षमता अति न्यून छ । अहिलेको यो भण्डारण अवस्थाले कार्यालयको क्षेत्रभित्रको माग आधा पनि थेग्नसक्ने अवस्था छैन ।’

बजारमा मट्टीतेलको माग घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै मट्टीतेल भण्डारण ट्याङ्कलाई पेट्रोलमा रूपान्तरण गरेर मट्टीतेलको लागि एक लाख ४० हजार लिटर अट्ने नयाँ संरचना निर्माण गर्ने तयारीमा रहेको पनि उनले बताए । यसले कम्तीमा पनि तीन दिनका लागि पेट्रोल भण्डारण गर्नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ । कार्यालयलाई व्यवस्थित र सुशासनयुक्त बनाउन क्षमताले भेट्नेजति आवश्यक सम्पूर्ण कामहरू गरेको जानकारी गराउँदै शाहले दुई वर्षअघिको डिपो र अहिलेको डिपोमा धेरै कुराहरूमा सकारात्कम परिवर्तन भएको बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने पछिल्ला दुई वर्षमा आयल निगमप्रति डिलरहरू सन्तुष्ट रहेको बताए । उनले भने, ‘हामी विगतको लामो समयदेखि डिपोसँग परिचित छौँ । हिजोआज दुवै अवस्था देखेको र भोगेकोले अहिले धेरै सहजको अनुभूति पाएका छौँ ।’ ‘तेल भएर पनि तेल नपाउने, पाए पनि धेरै घाटा सहनुपर्ने, निगमका कर्मचारीले दुःख दिनेजस्ता धेरै समस्याहरू थिए’, उनले अगाडि थपे, ‘अहिले ती सबै समस्याहरूको समाधन भएर सहजताको महसुस गर्नु नै सुधार भएको संकेत हो ।’ डिपोको गलत नियतका कारण विगतका दिनहरूमा व्यवसायीहरू आन्दोलित भई केही कार्यालय प्रमुखहरू अनुसन्धानको घेरामा परेका उदाहरणहरू पनि प्रशस्तै छन् । तर अहिले त्यस्तो कुनै वातावरणको अनुभूति गर्न नपरेको उनको भनाइ छ  ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x