Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेसनल मेडिकललाई कोभिड उपचार व्यवस्थापन केन्द्र बनाउन खोज्दा प्रजिअ र मेसुको सरुवा

नेसनल मेडिकललाई कोभिड उपचार व्यवस्थापन केन्द्र बनाउन खोज्दा प्रजिअ र मेसुको सरुवा


सन्तोष पौडेल
बीरगञ्ज, भदौ २
वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड उपचार व्यवस्थापन केन्द्र बनाउन खोज्दा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्की र नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्याय सरुवा भएको छ । यो सरुवा नियमित नभई मेडिकल माफियाहरूको दबाबमा भएको पाइएको छ ।

स्रोतअनुसार विरगञ्ज कोरोनाको हटस्पट बन्दै गएपछि नारायाणी अस्पतालका मेसु मदनकुमार उपाध्यायको अनुरोधमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको तीन सय शैय्यामा कोभिड उपचार व्यवस्थापन केन्द्र बनाएर अस्पतालको रूपमा सञ्चालन गर्नका लागि केन्द्रीय सङ्कट व्यवस्थापन केन्द्र तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुमति माग गरेको थियो । नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीले आफ्नो कलेजलाई कोभिड अस्पताल नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यापक दबाब दिएको बताइन्छ ।

कोरोनाको जटिल परिस्थितिमा पुगेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले वीरगञ्जमा रहेका सबै निजी अस्पतालहरूलाई कोभिड उपचार व्यवस्थापन गर्नको लागि आवश्यक तयारी थालेको थियो । उक्त तयारीबारे वीरगञ्जका मेडिकल माफियाको रूपमा चिनिने नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीले थाहा पाएर अस्पतालका सञ्चालकहरूसँग मिलेर सतापक्षका केही नेताहरूसँग मोलमोलाइ गरी पर्साका प्रमुख जिल्ला अधिकारी कार्की र मेसु उपाध्यायलाई सरुवा गराउन सफल भएका हुन् ।

वीरगञ्जमा केन्द्र सरकार, नारायणी अस्पताल र वीरगञ्ज महानगरपालिकाको पहलमा गण्डक अस्पताललाई अस्थायी नारायणी कोभिड अस्पताल बनाइएको छ । मेसु उपाध्यायकै पहलमा नेसनल हेल्थ केयरलाई समेत अस्थायी कोभिड अस्पताल बनाइएको छ । वीरगञ्ज कोरोनाको हटस्पोट बनेपछि उपाध्यायले विरगञ्जका सबै अस्पताललाई कोरोना अस्पताल बनाउने प्रस्ताव गर्दै आइरहेका थिए । उनको उक्त प्रस्तावलाई प्रजिअले समेत समर्थन गरेपछि मेडिकल माफियाहरूले दुवै जनाको सरुवा गराइदिएका छन् ।

नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा नेकपाका नेतासमेत रहेका बसरुदिन अन्सारीले सरकारले ०७६ चैत ११ मा लकडाउन लगाउनुभन्दा पहिला नै आफ्नो अस्पतालमा ५० बेडको आईसीयूसहितको आइसोलेसन वार्ड कोरोना बिरामीलाई उपचार गर्न दिने सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।

चैत १५ गते कलैया उपमहानगरपालिका वडा नं २२ का २५ वर्षीय विजय कुशवाहालाई उनको अस्पतालमा भर्ना गरिएको थियो । तर बिरामीमा ज्वरो र खोकीको लक्षण देखिएपछि कोरोना संक्रमण भएको भन्दै अस्पतालले उपचार गर्न मानेन । अस्पतालले उनको उपचार गर्न नमानेपछि चैत्र १६ गते बिरामीलाई राजधानी रिफर गरियो । कुशवाहालाई अस्पतालहरू चहार्दै काठमाडौँ पु¥याएपछि चैत्र १७ गते उनको मृत्यु भएको थियो । नेसनल मेडिकल कलेजले आफैँले घोषणा गरेको ५० बेडको आइसोलेसन त दिएन नै बिरामीलाई उपचार समेत गरेन । बिरामीलाई उपचार नगर्ने उसको रबैयामा कुनै परिर्वतन नआउँदा अन्य बिरामीले पनि ज्यान गुमाउनु परेको छ ।

यस्तै वीरगञ्ज महानगरको वडा नं ११ श्रीपुरका ५७ वर्षीय चलितर महतो, वीरगञ्ज ३ छपकैयाका ७४ वर्षीय जोखु साह सोनार र वीरगञ्ज २ छपकैयाका २० वर्षीया युवती विष्णु लामाको अस्पतालले भर्ना नलिँदा उपचारको अभावमा ज्यान गुमाएका छन् । यी तीनै जना बिरामीलाई उपचारको लागि नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो तर अस्पतालले उपचार गर्न नमानेपछि उनीहरूको मृत्यु भयो ।

कोभिड नेगेटिभ भएका र कोभिड पुष्टि नभएका बिरामीलाई शिक्षण अस्पतालले उपचार नगर्नु आपराधिक काम भएको स्थानीय प्रशासनको बुझाइ छ । स्थानीय प्रशासनले नेसनल मेकिडल कलेजलाई कोभिड अस्पतालको रूपमा सञ्चालनको लागि अनुमति माग गर्नुलाई वीरगञ्जमा सकारात्मक रूपमा लिइएको छ । सामान्य रोगका बिरामीलाई शिक्षण अस्पतालले उपचार नदिने हो भने त्यो अस्पताललाई कोभिड अस्पताल बनाउने स्थानीय प्रशासनको मागलाई केन्द्र सरकारले स्वीकार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीसँगको सम्बन्धलाई देखाएर मनपरी गर्दै आएको नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारसँग अनुमति मागेर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले केन्द्र सरकारलाई समेत परीक्षणको बिन्दुमा पु-याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x