Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश पठाउने नाममा फेरि ८० करोड ठगी

विदेश पठाउने नाममा फेरि ८० करोड ठगी


काठमाडौँ, भदौ ३
केपी शर्मा ओली नेतृत्वको सरकार पनि वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा असफल भएको छ । पछिल्लो समय विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन समेत नसकेको ओली नेतृत्वको सरकारले वैदेशिक रोजगारको ठगीलाई समेत नियन्त्रण गर्न सकेको छैन । मुलुकमा रोजगारी नहुँदा विदेशमा काम गर्न जान तयार युवाहरुबाट मेनपावर र व्यक्तिहरुले एक आर्थिक वर्षमा ८० करोड रुपैयाँ ठगी गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्मको अवधिमा युवाहरुलाई कामका लागि विदेश पठाउने भन्दै मेनपावर (संस्थागत) र व्यक्ति (व्यक्तिगत)ले ८० करोड २४ लाख ९८ हजार रुपैयाँ ठगी गरेका छन् ।

गत आवको असार मसान्तको अवधिमा मेनपावरले युवाहरुलाई विदेशमा राम्रो कामका प्रलोभन देखाँउदै ३४ करोड ६७ लाख ६९ हजार रुपैयाँ ठगी गरेका छन् भने सोही अवधिमा विभिन्न व्यक्तिले पनि विदेश पठाउने भन्दै युवाहरुमार्फत ४५ करोड ५७ लाख २९ हजार रुपैयाँ ठगी गरेका छन् । युवाहरुले विभागसमक्ष २४ करोड ९८ लाख ६३ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका छन् भने अदालतसमक्ष भने २० करोड ५८ लाख ६५ हजार रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर गरेका छन् । युवाहरुले विभागसमक्ष मेनपावर र व्यक्तिविरुद्ध एक हजार दुई सय ५५ वटा उजुरी दिएका छन् । उनीहरुले मेनपवारविरुद्ध नौ सय १४ वटा र व्यक्तिविरुद्ध तीन सय ४१ वटा उजुरी दिएका हुन् । यस्तै अदालतसमक्ष भने दुई सय एक मुद्दा दायर गरेका छन् ।

यसैबीच, विभागले मेनपावर र विभिन्न व्यक्तिलाई बिगो भराएको छ । व्यक्तिगततर्फ विभागले दुवै पक्षलाई मिलापत्र गराउँछ भने मिलापत्र नभएको खण्डमा भने वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने गरेको छ । विभागले गत आवको असार मसान्तसम्ममा मेनपावरलाई चार करोड ९२ लाख ७० हजार रुपैयाँ बिगो भराएको छ भने ६८ लाख ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ । त्यसैगरी मेनपावरसँग सम्बन्धित पाँच सय ४४ वटा जाहेरी फरफारक गर्नुका साथै तीन सय ४० वटा पुरानो उजुरी तामेलीमा राखेको छ ।

यस्तै असार मसान्तमा मात्र विदेश पठाउने भन्दै युवाहरुमार्फत ४२ लाख ६५ हजार रुपैयाँ मेनपावरले ठगी गरेको भन्दै दशवटा उजुरी विभागसमक्ष दर्ता गराएका छन् । उक्त अवधिमा विभागले कुनै उजुरी फरफारक गरेको छैन । त्यसैगरी विदेश पठाउने नाममा नै असारमसान्तमा मात्रै व्यक्तिले ७६ लाख ३० हजार रुपैयाँ ठगी गरेको भन्दै विभागसमक्ष उजुरी दिएका छन् भने अदालतसमक्ष एक करोड ३६ लाख ६६ हजार रुपैयाँ ठगी भएको भन्दै १५ वटा मुद्दा दायर गरेका छन् ।

यसरी विभागको तथ्यांकलाई हेर्दा विदेश पठाउने नाममा प्रत्येक दिन लाखौं रुपैयाँ मेनपवार र व्यक्तिले ठगी गरेको देखिन्छ । विभागका अधिकारीहरु नाम नबताउने शर्तमा मेनपावर र व्यक्तिहरु वैदेशिक रोजगारीको नाममा ठगी गर्नका लागि व्यवसाय अपनाएको हुन् कि जस्तो लाग्ने बताँउछन् । अर्कोतर्फ युवाहरु पनि विदेश जाने भनेपछि मेनपावर, रोजगारदाता कम्पनी, आफ्नो दक्षताको विचार नै नगर्नेलगायतको प्रवृत्तिले गर्दा समेत ठगीमा कमी हुन नसकेको हो ।

सरकारले श्रम सम्झौता र त्यसको कार्यान्वयनमा समेत ध्यान नदिँदा समस्या हुने गरेको यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको भनाइ छ । कोभिड १९ का कारण भने हाल युवाहरु कामका लागि विदेश जानसक्ने अवस्था रहेको छैन भने वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका युवाहरु स्वदेश फर्किने क्रम जारी छ । सरकारले विदेशमा रहेका युवाहरुलाई ल्याउने कामलाई तीव्रता नदिँदा भने युवाहरु समस्यामा परेका छन् । जसले गर्दा विदेशमा रहेका नियोगहरुले छिटोभन्दा छिटो युवाहरुलाई फर्काउनुपर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका छन् । यसरी आग्रह गर्नेमा संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली नियोग, ओमान, साउदी अरबस्थित नेपाली नियोगहरु रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x