Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन एक हजार बढी सङ्क्रमित, देशका अधिकांश भाग भदौ १५ गतेसम्म बन्द

एकैदिन एक हजार बढी सङ्क्रमित, देशका अधिकांश भाग भदौ १५ गतेसम्म बन्द


काठमाडौँ, भदौ ३
कोरोना संक्रमण बढेपछि देशका अधिकांश भाग भदौ १५ गतेसम्मका लागि बन्द गरिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडा बनाउन लागेको हो ।

भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ । सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुरुप स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकार प्रयोग गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरी अधिकार सुम्पिने निर्णय भएपछि अब अधिकांश जिल्लाहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिबाट कोभिड–१९ को सङ्क्रमण जोखिमको विश्लेषण गरी सङ्क्रमण जोखिमको अवस्थाका आधारमा संक्रमण ऐनबमोजिम जिल्लाभर वा जिल्लाको कुनै भागमा यस्तो अधिकार प्रयोग हुनेछ । मन्त्रिपरिषषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ नियन्त्रण तथा उपचारको प्रभावकारिताका लागि स्थानीय प्रशासनलाई अधिकारसम्पन्न बनाइएको बताए ।

केही जिल्ला तथा स्थानीय तहले एक साता, केहीले दुई साता, केहीले १० दिन गरी बन्द गरेका हुन् । सरकारले भदौ १६ गतेपछि मात्र सार्वजनिक यातायात खोल्ने भएको कारण स्थानीय तहहरुले पनि त्यसलाई नै आधार मानेर बन्द गरेका हुन् । काठमाडौं उपत्यकामा पनि बुधबार रातिदेखि एक साताको लागि मानिसहरुको जमघट, हिँड्डुल र कार्यालय तथा व्यवसाय सञ्चालनलाई नियन्त्रण गरिने भएको छ । अन्य जिल्लाहरुले यसअघि नै निषेधाज्ञा लगाएका छन् । केहीले मंगलबारदेखि त केहीले बुधबारदेखि लगाउँदै छन् ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबैभन्दा बढी मंगलबार फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबार एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । विभिन्न ४० प्रयोगशालामा १३ हजार चार सय ६१ जनाको गरिएको पीसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो ।

यसअघि एकै दिन सात सय ४१ जनामा सङ्क्रमण देखिएको थियो । मंगलबार देखिएका सङ्क्रमितसँगै कुल २८ हजार दुई सय ५७ जनामा सङ्क्रमित रहेका छन् । नेपालमा पहिलोपटक गत माघ ९ गते चीनको वुहान सहरबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो । उनका अनुसार सक्रिय सङ्क्रमित १० हजार पाँच सय ६३ जना रहेका छन् ।

यसैगरी मंगलबार ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार पाँच सय ८० जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ६२.२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार आठ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टाइनमा १३ हजार नौ सय ३६ जना रहेका छन् । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिए । काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक/एक जना पुरुष तथा तनहुँका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म एक सय १४ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x