Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्पले ध्वस्त वैतेश्वर मन्दिरको पुनर्निर्माण

भूकम्पले ध्वस्त वैतेश्वर मन्दिरको पुनर्निर्माण


सुबास बस्नेत
दोलखा, भदौ ३
दोलखाको वैतेश्वर गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल वैतेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त भएको वैतेश्वर मन्दिर पुनर्निर्माण गरिएको हो । वैतेश्वर गाउँपालिकाको वडा नम्बर ६ मा रहेको यस मन्दिरको पुनर्निर्माण गर्न नेपाल सरकार पुरातत्व विभागले गत आर्थिक वर्षमा एक करोड पाँच लाख रुपैयाँ छुट्ट्याएको थियो ।

पुरानै डिजाइनअनुसार प्यागोडा शैलीमा प्रदेज निर्माण सेवा बानेश्वरले एक करोड पाँच लाखमा ठेक्का सम्झौता गरेर मन्दिर निर्माण गरेको वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।

वैतेश्वरको सिङ्गो इतिहास बोकेको प्राचीन मन्दिरको शिरमा सोमबार तामाको गजुर राख्दै ४ वर्षदेखि बन्द मन्दिर खुला गरेको उनले बताए । नवनिर्मित वैतेश्वर मन्दिरको छाना तामाले निर्माण गरिएको छ भने मन्दिरको वालमा इँटाको प्रयोग गरिएको छ । त्यस्तै मन्दिरअगाडि ४ वटा शिवधारा निर्माण गरिएको छ ।

१६औं सताब्दीमा एकादेवल नामबाट पूजाआजा गर्न सुरु गरिएको वैतेश्वर महादेवस्थानमा १७७४ सालमा झिङ्गटीको छाना हाली प्यागोडा शैलीमा मन्दिर बनाइएको थियो । उक्त मन्दिर भएको आसपासको जमीन र जंगललाई १९११ सालमा जंगबहादुर राणाले मन्दिरको गुठी बनाएर गुठियारलाई दैनिक पूजा गर्न सनदपत्र प्रदान गरेको स्थानीयले बताए ।

वैतेश्वर मन्दिर १९९० सालको महाभूकम्पबाट पनि ध्वस्त भएपछि जुद्ध शमशेर राणाले केही सिपाही पठाएर पनुर्निर्माण गरेको यहाँका ९७ वर्षीय पुजारी पहलमान सन्यासीको जानकारी दिए । उक्त मन्दिर पुनः २०७२ सालको भूकम्पमा भने पूर्णरूपमा क्षति भएको थियो । मन्दिर क्षति भएपछि पुरातत्व विभागबाट एक करोड पाँच लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।

प्राचीन मन्दिर पुनर्निर्माण भएसँगै वैदिक विधिबाट पूजापाठ गरेर सोमबारदेखि गजुर र मन्दिरको प्राणप्रतिष्ठा गरी भक्तजनहरूका लागि खुला गरिएको जानकारी पुजारी पहलमान सन्यासीले दिए । मन्दिरको अगाडि भागबाट निस्केका चार शिवधाराबाट बैती बेँसीमा सिँचाइ सुविधा हुने भएकोले कृषक र भक्तजनलाई मन्दिर वरदानसिद्ध छ । यस मन्दिरमा महाशिवरात्रि, जनैपूर्णिमा, तीजलगायत चाडपर्वमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x