Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने प्रदेश सरकारको तयारी

कोरोना नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने प्रदेश सरकारको तयारी


बटुकनाथ झा
जनकपुरधाम, भदौ ३
प्रदेश नम्बर दुई सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरूविरुद्ध अदालत जाने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले समाजिक विकास मन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थाहरूसँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पतालहरूलाई संघीय सरकारले तोकेको दररेट उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालहरूले कोभिड उपचारमा सहयोग नगरे कारबाही तथा दर्ता खारेजको लागि संघीय सरकारमा लेखी पठाउने तथा कानुनबमोजिम कारबाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कार्यहरूबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको ४ स्थानमा २÷२ जिल्ला समेटिने गरी बैठक गर्ने निर्णय समेत गरेको छ । साथै प्रदेश सरकार र पीसीएमसीले विगतमा गरेका निर्णयहरू अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशन समेत दिएको छ ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुःखदायी तथा असहज परिस्थितमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएको हुनाले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको उल्लेख गरे । साथै यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफ्नो स्तरबाट सहयोग गर्न अपिलसमेत गरे ।

यसअघि नै निर्णय भएको वीरगञ्ज, जनकपुर र राजविराजमा थप पीसीआर मेसिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालन कार्य अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा समेत नयाँ पीसीआर ल्याब सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्न समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x