Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्त नगरपालिकाद्वारा पीसीआर मेसिन खरिद

भीमदत्त नगरपालिकाद्वारा पीसीआर मेसिन खरिद


धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ ४
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रमण जाँचका लागि पीसीआर मेसिन खरिद गरेको छ । भीमदत्तले कोरोना संक्रमणको परीक्षण दर बढाउन मेसिन खरिद गरेको हो । मंगलबार पीसीआर मेसिन भीमदत्त नगरपालिका कार्यालयमा पुगेको हो । नगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाअनुसार सुदिप इन्टरनेसनले ३८ लाखमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको छ । पीसीआर मेसिन आएपछि महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रियामा जाने तयारी थालिनेछ । भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालनका लागि अघि बढेको हो ।

भीमदत्तले मेसिन खरिद गरी अस्पतालाई उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । त्योबाहेक मेसिन जडान गरी सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकार र महाकाली अस्पताललाई दिइएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षण दायरा बढाउन नगरपालिकाले खरिद गरेको मेसिन कार्यालयमा पुगेको बताए । ‘कोरोना संक्रमण बढेपछि पीसीआर जाँचका लागि पीसीआर मेसिन किन्न नगरपालिका सबै पक्षसित सहकार्य र समन्वय गरी अघि बढ्यो, त्योअनुसार खरिद प्रक्रियामा गएका थियौँ,’ उनले भने, ‘अहिले मेसिन कार्यालयमा पुगेको छ, अब यसलाई सञ्चालनतिर जान्छौँ ।’ मेयर विष्टले नगरपालिका कार्यालयमा आएको मेसिनलाई छिटै महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रिया सुरु गरिने बताए ।

महाकाली अस्पतालमा प्रयोगशाला निर्माण गरी छिटोभन्दा छिटो मेसिन जडान गरिने मेयर विष्टले बताए । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दरमा पीसीआर परीक्षण अपेक्षित मात्रामा हुन नसकेपछि भीमदत्तका मेयर विष्टले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक मेसिन खरिद गर्ने निर्णय गरेका थिए । मेसिन किन्ने निर्णय गरिएपछि मेयर विष्टको चौफर्ती प्रशंसा गरिएको थियो । कोरोना संक्रमणका कारण सवारीसाधन सहजरूपमा सञ्चालन हुन नसकेर खरिदकर्ताले केही दिन ढिलो गरी मेसिन उपलब्ध गराएका हुन् ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले पीसीआर मेसिन आएकाले एक/दुई दिनमै अस्पताललाई हस्तान्तरण गरिने बताए । भीमदत्त नगरपालिकाको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिले गत जेठ अन्तिम साता मेसिन किन्ने निर्णय गरेको थियो । अस्पतालमा मेसिन जडान भएर सञ्चालनमा आएपछि पीसीआर जाँचका लागि कैलालीको धनगढी जानुपर्ने बाध्यता अन्त्य हुनेछ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले प्राविधिक जाँच गरी मेसिन अस्पताललाई हस्तान्तरण गरिने बताए । पश्चिमी सीमा नाकाका कारण भीमदत्त नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै नगरप्रमुख विष्टले सुरुदेखि संघ र प्रदेश सरकारलाई दबाब दिँदै आएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x