Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकैलालीको श्रीलंकामा १५ बिघा जमीन कटान

कैलालीको श्रीलंकामा १५ बिघा जमीन कटान


टिकापुर,भदौ ५
कैलालीको टिकापुर–८ श्रीलंकामा कर्णाली नदीले १५ बिघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रूपमा रहेको श्रीलंकामा कटान तीव्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दबाब दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलंकातर्फ फर्किएर यसवर्ष मात्रै १५ बिघा जमीन कटान गरिसकेको बताए । ‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ’, बोहराले भने, ‘दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रूपमा रहेको श्रीलंका सक्ने त्रास सिर्जना भएको छ ।’ उनले वैशाखदेखि नै कटान सुरु गरेको नदीले यसवर्ष मात्रै १५ बिघा जमीन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए । ‘श्रीलंकामा नदीमा पानीको बहाब बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ’, बोहरा भन्छन्, ‘वर्षेनीको कटानले नदीको बीचमा करिब पाँच सय बिघा टापु बनेको छ । अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको पाँच सय बिघा जमीन प्रयोगविहीन भएको छ ।’ बोहराको पहिले श्रीलंकामा साढे ८ बिघा जमीन थियो । वर्षेनीको कर्णालीको कटानले अहिले ३ बिघा मात्र बचेको छ ।

‘एकातिर जमीन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पुर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्’, स्थानीय धनकला बुढाले भनिन्, ‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवासुविधा केही पाइएको छैनौँ ।’ अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउदलगायत नागरिकको जमीन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम सुरु नगरे श्रीलंका गाउँ नै खतरामा पर्ने बताए ।

कर्णाली नदीको पूर्वतिर बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपतिर कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ । श्रीलंका कैलालीको भू–भाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ । त्यो क्षेत्रमा करिब दुई हजार तीन सय मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए ।

‘आयोजनाले काम गरिरहेको छ’, आयोजना प्रमुख न्यौपानेले भने, ‘वर्षेनी काम हुन्छ, स्थायी तटबन्ध निर्माण गछौँ ।’ टीकापुर–५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्धवरिपरिको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो ।

नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ । शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौँ परिवार डुबानमा पर्नुका साथै हजारौँ बिघा जमीन कटान र डुबानमा पर्नेभएकाले आयोजनालाई अस्थायीरूपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए । ‘सिँचाइले तटबन्ध गरिरहेको छ । निर्माण कम्पनीले एकै वर्ष सक्नुपर्ने थियो’, जैसी भन्छन्, ‘हरेक वर्ष आधा–आधा काम गर्छन्, जसले थप बस्तीमा त्रास सिर्जना हुन्छ । आयोजनाले समयमै सक्न निर्देशन दिनुपर्छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x