Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवयोधा अस्पताललाई कोरोना परीक्षण गर्न रोक

वयोधा अस्पताललाई कोरोना परीक्षण गर्न रोक


बीरगञ्ज, भदौ ७
वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । बितेको डेढ सातादेखि अस्पतालले संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले स्वाब नमुना संकलन र परीक्षणमा रोक लगाएको जानकारी दिएका छन् । वयोधा अस्पतालले गरेको परीक्षणको नतिजा र संख्याबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्सालाई कुनै जानकारी नै नगराइएको केन्द्रका प्रतिनिधिहरूको भनाइ छ । केही पहिले वयोधा अस्पतालमा स्वाब नमुना दिएका ३५ जनामा संक्रमण फेला परे पनि त्यसको तथ्यांक अस्पतालले जिल्लाका कुनै पनि आधिकारिक निकायमा नदिएको बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा प्रहरी लगाएर उक्त परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालय पर्साले मगाएको थियो । अस्पतालले अनुमतिबिनै होटल दियालो लड्र्समा आइसोलेसन सञ्चालन गरेको नेपाल सरकारका पर्सास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । वयोधा अस्पतालको सो कार्यले संक्रमितको यकिन तथ्यांक र व्यवस्थापनमा कठिनाइ भइरहेको प्रजिअ तामाङको भनाइ छ ।

स्थानीय प्रशासनले रोक लगाएपछि अस्पताल प्रशासनले सूचना जारी गरी पीसीआर परीक्षण अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ । गत साउन २८ गतेदेखि वयोधा अस्पतालले स्वाब संकलन सुरू गरेको थियो । अस्पतालले स्वाबको पीसीआर परीक्षणबापत पाँच हजार पाँच सय रूपैयाँ लिने गरेको थियो । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा पीसीआर परीक्षणका लागि एक मात्र नारायणी अस्पतालको प्रयोगशाला छ । शुल्क तिरेर परीक्षण गराउँदा पनि नारायणीको प्रयोगशालाबाट रिपोर्ट आउन ढिला हुने गरेको छ । यसैबीचमा वयोधाले पीसीआर परीक्षण गर्ने जनाएपछि स्थानीय त्यहाँ जान थालेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x