Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘व्यवसायीमैत्री नीति नल्याउने हो भने अधिकांश व्यवसायी पलायन हुन सक्छन्’

‘व्यवसायीमैत्री नीति नल्याउने हो भने अधिकांश व्यवसायी पलायन हुन सक्छन्’


बैकुण्ठ दाहाल
जब कोरोना भाइरसले विश्वका शक्तिशाली देशहरूलाई हवाकावा पार्दै नेपालतर्फ छिर्दै थियो । उसै बखत नेपाल सरकारले पनि यसको रोकथामका लागि भन्दै लकडाउनको लागि आह्वान ग-यो यसअघि कहिलै पनि नसुनेको अंग्रेजी शब्द लकडाउनको नेपाली भावानुवाद नखोजी सारा नेपाली जनता पनि घरभित्रै थुनिएर बसे जसलाई नेपालीमा बन्दाबन्दी भनिँदो रहेछ । चीनको वुहानबाट सुरु भई अमेरिकी, बेलायती र भारतीय जनतालाई दुःख दिँदै जब कोरना भाइरस नेपाल छिर्दै थियो त्यसैबेलादेखि हामी जनता सरकारको आज्ञाकारी भएर घरभित्रै चौघेरामा सीमित भयौँ ।

रोग विल्कुलै नयाँ र ओषधि समेत कुनै नबनेकाले घरभित्रै बसेर रोग सर्नबाट बच्नुपर्ने र विश्वका शक्तिशाली देशले समेत यही उपाय अपनाउने गरेकाले मानवको क्षति हुनबाट बचेको र कतिपय देशले यसलाई अवलम्बन नगर्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेको तथ्य पनि हाम्रासामु छर्लङ्ग छ । यति हुँदाहुँदै हामी घरभित्रै बस्न विवश भयौँ जसका बाबजुद दैनिक ज्याला मजदुरी गरी खानेदेखि आ–आफ्नो व्यापार व्यावसाय गरी घर व्यवहार चलाउँदै आएका लाखौँ जनताको चुलो बल्न गाह्रो पर्दै गयो ।

सरकारले राहतको नाममा जनतालाई दुःखमाथि दुःख मात्र दियो । उसले आफ्नो कर्तव्यबोध समेत गराउन सकेन । राहतको नाममा राजनीति गरेर जनतामाथि उसले खेलबाड गरेको स्पष्टै देखिन्थ्यो । जानकारहरूले लेखेका, देखेका र भोगेका तथ्य नै हुन् यो कुनै काल्पनिक कथ्य कदापि होइन । जनता कोरोना भाइरसले आक्रान्त बनेर बन्दी जीवन बिताइरहेका बेला उता बालुवाटारमा विभिन्न प्रोपोगाण्डा मच्चाए । सत्ताको फोहोरी खेलमा चुर्लुम्म डुबेको सरकारको विरुद्धमा सडकमा समेत नाराजुलुस हुनथाल्यो ।

सरकार आफू गतिहीन भएर कुबाटोमा लाग्नु जनता रोग र भोकको सिकार बन्नुपर्ने कस्तो विडम्बना । यता आफ्नो व्यापार व्यवसाय ठप्प पारेर बसेका व्यवसायी व्यापारीहरू खल्ती खाली भएर भातभान्सा चलाउन नसक्ने अवस्थामै आउनु, उता सरकार मुकदर्शक बन्नु अब विकल्पमा आ–आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्नुबाहेक अरु केही उपाय देखिएन । सरकारको लाचारीपना र औषधि खरिद प्रक्रियामा चुकेर दुर्गन्धित बनेको सरकारले व्यापारीलाई भार थपिँदै गरेको सटरभाडा, घरभाडा, बैंकको ब्याजलगायत करको दायित्वका विषयमा जानकारी गराउँदा गराउँदै पनि ऊ मुकदर्शक बन्न पुगेको यथार्थ छर्लङ्ग छ ।

अझैसम्म टुङ्गो छैन कि यो कोरोना भाइरसले कहिलेसम्म दुःख दिने हो र व्यापार व्यवसायले कहिलेदेखि सहजता पाउने हो, यस सम्बन्धमा कुनै टुंगोमा पुगिहाल्ने अवस्था छैन । त्यसकारण पनि सरकारले व्यापारी, व्यवसायीलाई परेको मर्कालाई अध्ययन गरी विभिन्न राहतका अवसर ल्याउनु जरुरत भइसकेको छ । यदि सरकार कर असुल्न मात्र उद्यत हुने र व्यवसायीमैत्री नीति नल्याउने हो भने अधिकांश व्यापारी, व्यवसायी पलायन हुन सक्छन् । सरकारको ध्यान तत्कालै यता जानु जरुरी छ । सरकारले आफ्नो अभिभावकीय भूमिका अब पूरा गर्न ढिला गर्नु आफैँमा ठूलो भुुल हुनेछ । (दाहाल राष्ट्रिय व्यापार संंघका महासचिव हुन्)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x