Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिहान मात्रै अत्यावश्यक वस्तुका पसल खोल्न पाइने

बिहान मात्रै अत्यावश्यक वस्तुका पसल खोल्न पाइने


काठमाडौं, भदौ ८
काठमाडौँ उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्र खाद्यवस्तु, दुग्धजन्य पदार्थ र फलफूल तथा तरकारीको पसल खोल्न पाइने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले आइतबार उक्त निर्णय गरेका हुन् । औषधि, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्बाध खोल्न पाइने निर्णय भएको छ । ती पसलहरु सञ्चालन गर्दा अनिवार्यरुपमा सामाजिक भौतिक दूरी कायम राख्नुपर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नैैपर्ने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पोडेलद्वारा आइतबार जारी सूचनामा जनाइएको छ ।

यसअघि कुन पसल कतिबेलासम्म खोल्ने भन्ने विषयमा एकिन नहुँदा सम्बन्धित क्षेत्रका प्रहरीको मुख नै कानुन बन्नेगरेको थियो । जिल्ला प्रशासन कार्यालयहरुले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री बिक्रीवितरण गर्ने पसललाई खोल्ने समय नतोक्दा कतिपय ठाउँमा प्रहरीहरुले थुनिदिने, धम्की दिने गरेका थिए भने पसल सञ्चालकहरुले पनि लिखितरुपमा समय नतोक्दा प्रहरीले दुःख दिएको गुनासो गर्नेगरेका थिए ।

कतिपय ठाउँमा त प्रहरीले बिहान सात नबज्दै पसलहरु बन्द गराउँदै हिँड्दा विवादसमेत भएको थियो । सोमबारदेखि भने अब बिहान ९ः१५ बजेसम्म खाद्यान्नको पसल खुला हुनेछ । सरकारले यही भदौ ३ गते बुधबारदेखि १० गते राति १२ बजेसम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा लगाए पनि कोरोना संक्रमितको संख्या काठमाडौंमा दिनहुँ वृद्धि हुँदै गएको छ । काठमाडौँ उपत्यकामा आइतबार एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौँ उपत्यकामा मात्रै दुई सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकामा डेढ सयभन्दा बढी संक्रमित फेला पर्दै आएको छ ।

आइतबारसम्म ३५ जिल्लामा पूर्णतः निषेधाज्ञा लगाइएको छ भने १२ वटा जिल्लाले विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडा नम्बरहरु तोकेर निषेधाज्ञा लगाएको छ । बाँकी जिल्लाहरुमा भने निषेधाज्ञा लगाइएको छैन । ३० वटा जिल्लाले बाहिरी जिल्लाबाट प्रवेश गर्नेलाई कडाइ गरेर जिल्लाभित्र भने खुला गरेका छन् । जिल्लालाई पूर्णरुपमा वा आंशिकरुपमा लकडाउन गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई छ । सरकारले नयाँ शब्द निकालेर निषेधाज्ञा भने पनि ३५ जिल्ला पूर्णरुपमा लकडाउनमा छ । १२ जिल्लाका तोकिएका गाउँपालिका तथा नगरपालिकाको वडाहरुमा लकडाउन छ ।

निषेधाज्ञाको कारण अधिकांश जिल्लाहरुमा व्यवसाय ठप्प भने सरकारी कार्यालयहरु पनि खुलेका छैनन् । खुला भएको जिल्लाहरुमा पनि काम गर्ने वातावरण छैन । एक जिल्ला अर्को जिल्लासँग जोडिएको र निषेधाज्ञा लागू भएको जिल्लाबाट निषेधाज्ञा लागू नभएको जिल्लामा जानुपर्ने भएको कारण देश एक किसिमको लकडाउनमै छ । निषेधाज्ञाको कारण विकास निर्माणको काम ठप्प भएको छ ।

सरकारले लकडाउनको पछिल्लो समयमा निर्माण सामग्री बोकेका गाडीहरु गुड्न दिएको थियो भने कामदारलाई पनि काम गर्न दिएको थियो । अहिले भने सबै बन्द गरिदिएको कारण विकास निर्माणको काम पनि रोकिएको छ । बर्खायाम भएको कारण विकास निर्माणको काम रोकिँदा खासै समस्या नपर्ने एक निर्माण व्यवसायीले बताए । निषेधाज्ञा भदौभर हुने हो भने त्यसले विकास निर्माणका काममा असर पर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x