आशिष बहादुर सिंह
बझाङ, भदौ ८
राजा जयपृथ्वीबहादुर सिंहको १४४ जन्मजयन्तीको अवसरमा ह्युम्यानिटी एण्ड जयपृथ्वी फाउण्डेसनले जुम एपमार्फत छलफल कार्यक्रमको आयोजना गरेको छ । आइतबार भएको छलफलमा फाउण्डेसनका अध्यक्ष मीनबहादुर सिंह, प्राडा अम्मराज जोशी, डा. कटक मल्ल, प्राडा विना पौडेललगायतको उपस्थिति थियो । कोरोना महामारीको कारण औपचारिक कार्यक्रम आयोजना गर्न नसकिएको शिक्षक लालबहादुर बोहराले बताए ।
गत वर्ष फाउण्डेसनले औपचारिक कार्यक्रमहरू आयोजना गरी जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन अभियानसमेत सञ्चालन गरेको थियो । जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि सरकारले उनका योगदानको कदर गर्न नसकेको बझाङी समाज कैलालीका महासचिव दीर्घ जोशीले गुनासो गरे ।
‘नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्र उनले गरेको योगदानका कारण यहाँसम्म आइपुगेको हो,’ उनले भने, ‘जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग राख्दै आएका छौँ, सरकारले अहिलेसम्म सुनुवाइ गर्न सकेको छैन ।’ १९३४ साल भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वीले नेपालमा सामाजिक सुधारका थुप्रै काम गरेका थिए ।
मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली पनि जयपृथ्वी नै हुन् । उनले देशमा जहानियाँ राणा शासनको जगजगी भएका बेला पनि सबै मानव बराबर हुन् भन्ने कुराको वकालत गरेका थिए । १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए । उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ ।
उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोटसँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवरको बाटो पनि उनले नै निर्माण गर्न लगाएका हुन् । १९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले १९६४ मा नेपालको भारदारी अड्डा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तमले उनलाई मानार्थ ‘कर्णेल’ को उपाधिले सम्मान गरेका थिए ।
विसं १९७२ मा सुरु विश्वयुद्धमा भएको मानव विनाशबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए । त्यसबेला उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रेट, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्वीटजरल्यान्ड, इटली, बर्मालगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शन प्रचारप्रसार गरेका थिए ।
भम्रणकै क्रममा जयपृथ्वीले बर्मामा जे.पी. इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए । सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको विश्व आस्था मन्त्री सम्मेलनमा विभिन्न विषयमा सातवटा प्रवचन दिएका उनको चर्चा त्यसताका विश्वसामु चुलिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया