Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाइल इन्जेक्सन वीरगञ्जस्थित कोभिड विशेष अस्पतालमा आयात

भाइल इन्जेक्सन वीरगञ्जस्थित कोभिड विशेष अस्पतालमा आयात


सन्तोष पौडेल
बीरगञ्ज, भदौ ९
कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको रेमडेसिविर इन्जेक्सन वैधानिकरूपमा नेपालमा आयात सुरू भएको छ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात गर्न पाइने स्वीकृति दिएपछि भारतबाट ५ सय भाइल इक्जेक्सन नेपाल आएको हो । स्रोतका अनुसार भारतमा पनि उक्त इन्जेक्सनको माग अत्यधिक रहेकोले नेपालको मागबमोजिम एकैपटक नपाइएकोले बिस्तारै माग पूर्ति हुँदै जाने आयातकर्ताहरूको भनाइ छ ।

पहिलोपटक आएको ५ सय भाइल इन्जेक्सनमध्ये सातवटै प्रदेशका कोभिड अस्पतालमा पठाउने तयारी भइरहेको छ । सबैभन्दा बढी अति जोखिम क्षेत्र वीरगञ्ज, काठमाडौँ, विराटनगर, कर्णाली प्रदेशलगायतमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । कुल ५ सय भाइलमध्ये एक सय भाइल इन्जेक्सन वीरगञ्जस्थित कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पिटलमा पठाइएको छ । प्रदेश २ का अन्य अस्पताललाई दोस्रो चरणमा उपलब्ध गराउने बताइएको छ । सरकारी दरमा एउटा भाइल रेमडेसिविर इन्जेक्सनको मूल्य ७ हजार ६ सय रहेको छ । कोभिड अस्पतालले एउटा भाइल इन्जेक्सन सोही दाममा संक्रमितलाई लगाउनेछ ।

मेडिकल माफियाको सपनामा बज्रपात : कोरोना संक्रमितहरूको ज्यान जोगाउन प्रभावकारी मानिएको रेमडेसिविर इन्जेक्सन एक भाइलको मूल्य वीरगञ्जमा ४० हजार रुपैयाँ थियो । एकजना संक्रमितलाई सामान्यतया ५ भाइल लाग्ने गर्छ । वीरगञ्जबाट काठमाडौँ पुग्दा यसको दाम प्रतिभाइल २० हजार रुपैयाँ बढेर ६० हजारमा बिक्री भइरहेको थियो । वीरगञ्जकै एकजना संक्रमितलाई काठमाडौँमा उपचार गर्दा तीन लाख रुपैयाँको मात्र रेमडेसिविर इन्जेक्सन खरिद गर्नुपरेको संक्रमितका आफन्तजनले बताए ।

वीरगञ्जमा एकजना संक्रमितलाई २ लाख रुपैयाँबराबरको सो इन्जेक्सन खरिद गर्नुपथ्र्यो । आयातका लागि सरकारले अनुमति नदिएको बहानामा मेडिकल माफियाहरूले सो इन्जेक्सन प्रतिभाइल परल मूल्यभन्दा वीरगञ्जमा ५ गुना र काठमाडौँमा ८ गुना बढी असुल गरिरहेका थिए । औषधि व्यवस्था विभागले रेमडेसिविरको आयातलाई स्वीकृति दिएरपछि सो कुरा प्रकाशमा आएको हो । थोरै समय र कम लगानीमा अकुत सम्पत्ति कमाउने सपना देखेका माफियाहरूको सपना चकनाचुर भएको छ । तर नेपाल सरकारले सो इन्जेक्सनको मूल्य बढीमा ७ हजार ६ सयमा बिक्री गर्ने र तोकिएको भन्दा बढी मूल्य लिएको पाइएमा कारबाही गर्ने जनाएको छ ।

संघीय सरकारको उक्त निर्णयले कालोबजारीहरूको होस गुमेको छ । समाचार स्रोतको दाबीअनुसार वीरगञ्जका माफियाहरूको गोदाममा रेमडेसिविरको मूल्य घटेर २५ हजारमा आइपुगेको छ । माफियाहरू संक्रमित बढ्यो र अधिकारप्राप्त एजेन्सीले थप इन्जेक्सन ल्याउन सकेन भने फेरि चोरबाटोकै पालो आउने दाउ पर्खेर बसेका छन् ।

रेकडेसिविरको कालोबजारी गर्ने वीरगञ्जमा अहिले ८ जना मेडिकल माफिया सक्रिय रहेको समाचार स्रोतको दाबी छ । उनीहरूले भारतबाट चोरीको बाटोबाट सो औषधि नेपाल भित्र्याई वीरगञ्जलगायत नेपालका विभिन्न ठाउँमा पु-याउने गरेका थिए । बिरामीको बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै माफियाहरूले इन्जेक्सन अति महंगो मूल्यमा दिने गरेका थिए ।

रेम्डेसिभिर कालोबजारी गरेको आशंकामा नारायणी अस्पतालका चिकित्सक पक्राउ : कोरोनाविरुद्धको प्रभावकारी औषधि रेम्डेसिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् । रेम्डेसिभिर उपलब्ध गराइदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा.ताहिर अन्सारी पक्राउ परेका हुन् । कोभिडको औषधि खरिदका लागि चर्को शुल्क लिएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता मनाजित कुँवरले बताएका छन् । डा. अन्सारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रवक्ता कुँवरले जानकारी गराए ।

अनुसन्धान भइरहेका कारण थप जानकारी दिन नसकिने उनले बताए । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधि मिलाइदिने भन्दै शनिबारसम्ममा डा. अन्सारीले एक लाख ९८ हजार रुपैयाँ उसुल गरेको स्रोतले जनाएको छ ।

गत साउन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मुटुका दीर्घरोगी उक्त बिरामीको बाइपास सर्जरी समेत भइसेकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जीवन रक्षक रेम्डेसिभिर मिलाइदिने भन्दै डा. अन्सारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x