नेपालमा कोरोना सङ्क्रमतिको संख्या साढे ३३ हजार नाघ्यो
काठमाडौं, भदौ १०
मंगलबारसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । मंगलबार थप आठ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या साढे ३३ हजार माथि पुगेको हो । नेपालमा अझै केही समय कोरोना संक्रमितको संख्या बढ्ने विज्ञहरुले दाबी गर्दै आएका छन् ।
पछिल्लो २४ घण्टामा जम्मा ११ हजार तीन सय २७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । मंगलबार तीन सय १३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार एक सय १९ पुगेको छ ।
मुलुकभर हाल १४ हजार दुई सय ५० जना आइसोलेसनमा रहेका र त्यसमध्ये होम आइसोलेसनमा पाँच हजार छ सय ६९ एवं संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै मुलुकभरका क्वारेन्टाइनमा हाल १० हजार चार सय ५३ जना रहेका छन् । मंगलबार काठमाडौं उपत्यकामा दुई सय ३२ जनामा कोरोना देखिएको छ ।
यसैबीच, कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरूले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तीव्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ र शङ्कास्पद क्षेत्र’ का व्यक्तिको स्वाब परीक्षण तीव्र पारिएको राससले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।
मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आबद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिव्रता दिने निर्णयमुताविक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रूपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशङ्काका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।
उक्त अभियानमार्फत समुदायस्तरमा सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार दुई सय उपचारपछि निको भएर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रूपमा सङ्क्रमण फैलिएको जानकारी दिए । मंगलबार मात्रै उपत्यकामा दुृई सय ३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका एक सय ९९ छन् ।
उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्यधिक रूपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको थियो ।
‘पछिल्लो समय उपत्यकामा तीव्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ’, मध्यपुर थिमि नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, ‘फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।’ फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरूको परिवारका साथै शङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।
अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार पाँच सय रहेका छन् । उनीहरूको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ । सोहीअनुसार तथ्याङ्क सङ्कलन र विश्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उनले बताए ।
श्रेष्ठका अनुसार मध्यपुर थिमिले वुधबारबाट उक्त अभियान थाल्दै छ । ‘दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै पाँच सय जनाको स्वाब सङ्कलन हुँदै छ’, श्रेष्ठले भने । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताए । ‘सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो त्यसपछि उनीहरूलाई राख्ने स्थान (आइसोलेसन)को व्यवस्थापन हो, त्यसमा लागेका छौँ’, डङ्गोलले भने ।
आइसोलेसनसमेत बढाउँदै : उपत्यकामा अहिले आइसोलेसन न्यून छ । त्यसैले सरकारले लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्ने गरी मापदण्ड तयार पारेको छ । त्यसमा समुदायस्तरबाट दुर्व्यवहारका घटनासमेत देखिएकाले स्थानीय प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले दुर्व्यवहार गर्नेविरुद्ध कारबाही गर्न निर्देशनसमेत दिएको छ । त्यसैले आवश्यकता देखेर आइसोलेसनको व्यवस्थापनमा गृह मन्त्रालयसहित उपत्यकाको नगरपालिका लागेको छ ।
काठमाडौँ महानगरले आइसोलेसन बनाउनका लागि ५/६ स्थान छनोट गरिसकेको छ । स्थानीयबाट विरोध आउनसक्ने भएकाले नाम सार्वजनिक गरिएको छैन । अहिलेलाई सबै अस्पताल नै छनोट गरिएको डङ्गोलले बताए । परीक्षणमा सङ्क्रमित फेला परे उनीहरूलाई राख्न झण्डै छ हजारको आइसोलेसन थप्ने योजना गृह मन्त्रालयको समेत छ । उपत्यकाका नगरपालिकासमेत आइसोलेसन व्यवस्थापनको तयारीमा जुटेका छन् । भक्तपुरले एक हजार बेडको आइसोलेसन तयार पारिसकेको छ । अहिलेको निषेधाज्ञालाई एक हप्ता थप्न सुझाव दिएको फोरमले १५ गतेसम्म आफ्नो सबै सेवा रोकेर यही बीचमा परीक्षण सक्ने योजनाका साथ काम थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया