Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञाले कालोबजारी बढ्यो : नियामक निकाय मौन

निषेधाज्ञाले कालोबजारी बढ्यो : नियामक निकाय मौन


विराटनगर, भदौ ११
विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले जारी गरेको दुई हप्ताको लकडाउनपछि फेरि जिल्ला प्रशासन कार्यालय मोरङले पनि निषेधाज्ञा जारी गरेका कारण विराटनगरलगायत ग्रामीण सहरहरुमा महंगीले चरम रुप लिएको छ । यो निषेधाज्ञा कतिपय व्यवसायीका लागि उपभोक्ता ठग्ने र रातारात पैसा कमाउने मौकाका रूपमा परिणत भएको छ । व्यवसायीहरुले निषेधाज्ञाको मौका छोपेर दैनिक उपभोग्य वस्तुहरु दोब्बर–तेब्बर मूल्यमा बिक्री गरिरहेको उपभोक्ताहरूले गुनासो गरेको छन् ।

मागअनुसार सामानहरू आयात नभएको भन्दै व्यवसायीहरूले उपभोक्ताबाट चर्को मूल्य असुल गर्नेगरेका छन् । दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुटलगायत सामानहरू बढी मूल्यमा खुलेआम बिक्री भइरहेको छ । निषेधाज्ञाका कारण सीमित पसल खुल्ने गरेकाले आफूहरु महंगोमा सामान खरिद गर्न बाध्य भएको उपभोक्ताहरुको गुनासो छ । खुलेआम विराटनगर महानगरपालिकालगायत मोरङका ग्रामीण बजारहरूमा दैनिक उपभोग्य सामग्रीहरू महंगो मूल्यमा बिक्री भइरहेका छन् । त्यसतर्फ स्थानीय सरकार र स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन ।

बजार अनुगमन नहुँदा अहिले विराटनगरलगायत मोरङका ग्रामीण बजारहरुमा महंगी चुलिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको बहाना बनाएर व्यवसायीहरूले मनोमानी रूपमा सर्वसाधारणबाट चर्को मूल्य असुल गर्दा समेत प्रशासन बेखरजस्तो बनेर बसेको उपभोक्ताको भनाइ छ । उपभोक्ताहरु सामान किन्न जाँदा निषेधाज्ञाको बहाना बनाएर प्रहरीले बजार बन्द गराउने गरेका कारण उपभोग्य वस्तुहरु पाउन समेत गाह्रो हुने र पाइहाले अत्यधिक मूल्यमा किन्नुपर्ने उनीहरुको भनाइ छ । एक उपभोक्ताले भने, ‘खाद्य सामान किन्न पनि हतार हुन्छ, प्रहरीको टोली आएपछि भागाभागको अवस्था हुन्छ, सामानको मूल्य नै नसोधी महंगो होस् वा सस्तोमै भए पनि खरिद गरेर फर्किनुपर्ने बाध्यता छ ।’

मोरङ प्रशासनको निषेधाज्ञा र महानगरको लकडाउनले गर्दा बाहिरबाट बजारमा सामान आपूर्ति पहिलाको जस्तो सहज नरहेको तथा थोकमा सामान खरिद गर्दा कम्पनीबाटै बढी मूल्य लिने गरेकाले केही सामानहरूमा थोरै बढाएर बेच्ने गरेको एक व्यवसायीले स्वीकार गरेका छन् । करिब तीन हप्तादेखि विराटनगर बजारसहित मोरङका ग्रामीण बजारमा तेल, चिनी, दाललगायतका सामानहरूमा साबिक मूल्यमा थोरै वृद्धि भएको उनले स्वीकारे । यो समयमा सामान मगाउँदा भाडा खर्च नै बढी पर्ने गरेको तथा मागअनुसारको सामान समेत नआउँदा सामान अभाव भएकाले आपूर्ति सहज भएपछि सबै सहज हुँदै जाने व्यवसायीहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x